विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरमा अभिभावक र बालबालिकाबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले ‘फादर्स एन्ड चिल्ड्रेन्स डे’ मनाइएको छ। विद्यालयको प्रिस्कुल जोनको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा बुबा, आमा तथा बालबालिकाको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाले आफ्ना अभिभावकसँग विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदै रमाइलो समय बिताएका थिए।
कार्यक्रमअघि नै बालबालिकाले आफ्ना बुबाका लागि हस्तनिर्मित कार्ड, फूलका बुके तथा कागज, फूल र पातलगायत प्राकृतिक सामग्रीको प्रयोग गरी विभिन्न हस्तकला तयार गरेका थिए। उनीहरूले आफ्ना सिर्जनात्मक सामग्री बुबालाई हस्तान्तरण गर्दा कार्यक्रमको वातावरण थप आत्मीय बनेको थियो। कार्यक्रममा अभिभावक र बालबालिकालाई केन्द्रमा राखेर विभिन्न अन्तरक्रियात्मक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गरिएको थियो। खेलमार्फत बालबालिकाले अभिभावकसँग सहकार्य, समन्वय र टोलीभावनाको अनुभव गरेका थिए।
विद्यालयले अभिभावकको सक्रिय सहभागिताले बालबालिकाका लागि कार्यक्रमलाई थप विशेष र स्मरणीय बनाएको जनाएको छ। विद्यालय र अभिभावकबीचको सहकार्य बालबालिकाको समग्र विकासका लागि महत्वपूर्ण हुने विद्यालयको भनाइ छ। कार्यक्रम सफल बनाउन विद्यालयका प्रधानाचार्य टी.एन. भण्डारीले मार्गदर्शन तथा सहयोग प्रदान गरेका थिए। प्रिस्कुल इन्चार्ज अर्चना दुगर बास्कोटाको संयोजनमा शिक्षक–शिक्षिका, सहयोगी कर्मचारी, फोटोग्राफी टोली तथा अन्य सदस्यहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ। कार्यक्रमको समापनमा बालबालिकालाई चकलेट वितरण गरिएको थियो। फादर्स एन्ड चिल्ड्रेन्स डे कार्यक्रमले अभिभावक र बालबालिकाबीचको माया, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।