विराटनगर । कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास र अवसर प्रदान गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने भएको छ। विराटनगर किङ्सको ग्रासरुट्स डेभलपमेन्ट प्रोग्रामअन्तर्गत आयोजना हुन लागेको प्रतियोगिताको दोस्रो संस्करण आगामी असोज १ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १७ देखि २१, २०२६) सञ्चालन हुनेछ।
प्रतियोगितामा कोशी प्रदेश क्रिकेट संघअन्तर्गत रहेका पाँच जिल्लाका युवा क्रिकेट खेलाडीहरू सहभागी हुनेछन्। खेल टी–२० फर्म्याटमा सञ्चालन गरिने आयोजकले जनाएको छ। विभिन्न जिल्लामा छरिएर रहेका युवा क्रिकेट प्रतिभालाई एउटै प्लेटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको विराटनगर किङ्सले जनाएको छ।
‘ड्रिम टु प्ले २०२६’ केवल प्रतियोगितामा सीमित नभई युवा खेलाडीको प्रतिभा पहिचान, क्षमता विकास र भविष्य निर्माण गर्ने अभियानका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ। दोस्रो संस्करणले कोशी प्रदेशको आधार तहको क्रिकेटलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको अर्को महत्वपूर्ण पक्षका रूपमा विराटनगर किङ्सको आइकोनिक प्लेयर छनोटलाई लिइएको छ। प्रतियोगिताका क्रममा खेलाडीको प्रदर्शन, क्रिकेटिङ स्किल, क्षमता, अनुशासन र सम्भावनालाई मूल्याङ्कन गरी उत्कृष्ट प्रतिभामध्येबाट विराटनगर किङ्सको आइकोनिक प्लेयर छनोट गरिनेछ।
यसबाट युवा खेलाडीलाई व्यावसायिक क्रिकेटतर्फ अघि बढ्न थप प्रेरणा र अवसर मिल्ने आयोजकको विश्वास छ। विराटनगर किङ्सले हरेक प्रतिभासँग एउटा सपना हुने र उक्त सपनालाई वास्तविकतामा बदल्न सही अवसर आवश्यक पर्ने जनाएको छ। ‘ड्रिम टु प्ले २०२६’ त्यही अवसर सिर्जना गर्ने अभियान भएको किङ्सको भनाइ छ।
कोशी प्रदेशका पाँच जिल्लाबाट सहभागी हुने युवा खेलाडीको प्रतिभा, प्रतिस्पर्धात्मक भावना र क्रिकेटप्रतिको समर्पणले प्रतियोगितालाई थप विशेष बनाउने अपेक्षा गरिएको छ।