विराटनगर । विराटनगरका युवा व्यवसायी तथा समाजसेवी मनोज चौहानले आफ्नो जन्मदिनको अवसर पारेर विराटनगर ३ मा रहेको मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई भोजन गराउनुका साथै न्यानो कम्बल वितरण गरेका छन् ।

चौहानले शनिबार बिहान परिवारसहित आश्रममा पुगेर त्यहाँ रहेका ७० जना असहाय, ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई भोजन तथा जाडोबाट बच्न न्यानो कम्बल वितरण गरेका हुन् ।

पछिल्लो समय जन्मदिनमा महँगो होटल तथा बारहरूमा गएर फजुल खर्च गर्ने प्रचलन बढिरहेका बेला व्यवसायी चौहानले भने आश्रममा आश्रित असहायहरूसँग खुसी साट्दै उदाहरणीय तरिकाले जन्मदिन मनाएका छन् ।

कार्यक्रममा बोल्दै चौहानले असहाय, पीडित तथा दुःखी व्यक्तिहरूसँग जन्मदिन मनाउन पाउँदा आफूलाई निकै गर्व महसुस भएको बताए । आफू पहिलेदेखि नै सामाजिक कार्यमा जोडिन खोजिरहने व्यक्ति भएको उल्लेख गर्दै उनले देशका जुनसुकै कुनामा पनि आफूले देखे र बुझेसम्म सहयोग गर्ने इच्छा राखेको स्पष्ट पारे ।
पहिलेदेखि नै मानवसेवा आश्रमसँग जोडिँदै आएको स्मरण गर्दै उनले आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले जन्मदिनको अवसरमा समय मिलाइदिएर सानो खुसीमा सहकार्य गरेकोमा मानवसेवा आश्रमको सम्पूर्ण टिमप्रति धन्यवादसमेत व्यक्त गरे ।
