आफूलाई दैनिक कर्मथलो जाँदा एक घण्टा जति बसको यात्रा गर्नु पर्ने।फेरि पञ्चायतकाल पञ्च नेताहरूको बिगबिगी उस्तै थियो ।आफू पनि तिनकै आँखाको तारो बनिसकेको थिएँ।यता समय मै बस नचढ्दा उता नि ढिलो हुने।बस बिसौनीमा जसो तसो बस चढियो।बस खचाखच थियो।करीब पाँच किलो मीटर बस गुडे पछि केहि यात्रु ओर्लिए र केहि सीट खाली भए।तिनै खाली मध्ये एउटामा आसन गरियो।म भन्दा पछिल्लो सीटमा दुईटी नव बधु जस्ता देखिने युवती आई बसे।
बस गुडिरहेको छ।ती दुई गफमा जोत्तिन थाले है !
पहिलो छिमलमा भए बिहेका लुगोफाटोका : यस्तो सारी••••! उस्तो बलोज••••••! उस्तो पेटिकोट••••!आदि आदि ।आ-आफ्ना लुगाफाटोको बखान सिध्याए।दोश्रो छिमलमा आयो गरगहना।यो छिमलमा पनि आ-आफ्नै गहनाका बढाइँ हुन्छन्। तेश्रोमा सासू ससुरा ,नन्द आमाजू ,देवर जेठाजू आदिका पनि त्यसै गरी 'को भन्दा को कम ?' मै गफ भए।
म चैं अगाडिको सिटमा छु त्यसबेलाको एउटा साप्ताहिक पत्रिकामा पञ्चायत बिरोधी एक भूमिगत नेताको लेख पढ्दैछु।तिनका गफ गराईले पत्रिका भन्दा तिनका कुरा सुनाईमा करलागी भो।
अब आयो चौथो चरण। सूरू भो है दुलाहाहरू विषयको गफ !
आ-आफ्ना दुलाहाका जिउडाल, रूप -रङ र स्वभावको पनि बढाबढ कै गफ भयो।
अब आयो आ-आफ्ना पोईका पढाई लेखाईको पालो !
एउटीले भनी: आमुई ! मेरो बूढोले यति पढेको रछन् कि भन्छ्यौ उनले लेखेको त कस्•••••सैले नबुझ्ने बाई ! से•••म् डाक्डरले लेख्या ज•••स्तै !
अर्कीले बखानी है !:- "अँ•••• मोरी ! के भन्छ्यौ ! तिम्राले अलि कमै रैछ बाई ! मेरा ले त यत्ति पढेका छन् , यत्ति पढेकाछन् ,यत्ति पढेकाछन् कि कुरै नगर !"
पहिली की ले जिज्ञाँसा बढाई:- "कति ? भनन त मोरी !"
अर्की : "यत्ति पढेका छन् कि ! यत्ति पढेका छन् कि !
यत्ति पढेका छन् की ! उनले आफूले लेख्या आफैं बुझ्दैनन् !"
बस रोक्कियो । मेरो गन्तब्य आइपुग्यो। म हाँस्तै बस बाट ओर्लिएँ।म त्यस दिन भरि आफू पनि हाँसे सम्पूर्ण शिक्षक कर्मचारी र विद्यार्थीलाई पनि हसाएँ।
आज त्यो दिन पछि बत्तिस वसन्त बितेछन्। बेला बेला केहि आराम कुर्सी प्रवृत्तिका साहित्यकारले सर्बदाका पातमा प्वाँखले लेखेका साहित्य नबुझ्दा म अहिले पनि ती दुई नव बधुलाई सम्झदै पेट मिची मिची एक्लै हाँस्छु।हा••••हा••••••हा !!!