सन्तोष सुवेदी
सिरहा, चैत १९ गते । सरकारी जागिर भनेपछि मान्छे हुरुक्क हुन्छन् तर निजामती सेवाको खरिदारमा कार्यरत लहान नगरपालिका–१४ का शिवकुमार कामतीलाई दूधको व्यापारमै सन्तुष्टि मिलेको छ ।
जिल्ला प्राविधिक कार्यालय सिरहामा खरिदार पदमा कार्यरत ४४ वर्षीय शिवकुमार कामतीले कार्यालयभन्दा बाहिरको समयमा दूध खरिद बिक्री गरेरै मासिक ३५ हजार रुपियाँभन्दा बढी आम्दानी गर्नुहुन्छ । दूधको व्यापार गरेको दुई वर्षमै उहाँले बस्तीपुरमा जग्गा खरिद गरेर तीन कोठे पक्की घर निर्माण गरिसक्नुभएको छ ।
२०७२ भदौदेखि पाँच लिटर दूधबाट व्यवसाय सुरु गर्नुभएको उहाँले अहिले १५० लिटरसम्म दूध बिक्री गर्नुहुन्छ ।
कामतीले सिमलटोकी, रनहा, कुस्माहा, गोविन्दपुर र बस्तीपुरका किसानबाट दूधप्रति लिटर ५० रुपियाँका दरले सङ्कलन गरी ६० रुपियाँ प्रतिलिटरको दरले लहानका चिया पसल, विद्यालय र सरकारी कार्यालयहरूमा बिक्री गर्नुहुन्छ ।
साइकलबाटै सुरु गरेर कारोबार बढाएँ तर अब त मोटरसाइकलमा दूध ल्याउने र पु¥याउने गरेको छु, गाउँटोलमा परिश्रमी व्यक्ति भनेर ख्याति पाउनुभएका शिवकुमार कामतीले भन्नुभयो, दूधको कारोबार बिहान ८ः३० सम्म सकेर बिहान १०ः०० बजेसम्म सदरमुकामस्थित जिल्ला प्राविधिक कार्यालयमा आफ्नो ड्युटीमा पुगिसक्छु ।
दूधको कारोबार गर्नु अगाडि जागिरको तलबले छोराछोरीको पढाइ शुल्क, उपचार, चाडपर्व र अन्य खर्चमा नपुगेर अरूसँग रुपियाँ सापट लिनुपथ्र्यो, उहाँले दुःखको दिन सुनाउनुभयो, तलबले नपुग्दा जहिले पनि ओभर टाइम र फिल्ड निरीक्षणका लागि हाकिमसँग झगडा गर्नुपर्दथ्यो, अहिले त जतिबेला पनि हातमै रकम हुन्छ ।
सरकारी जागिरको कमाइले छोराछोरीको पढाइ र पक्की घर बनाउने सोच टाढा झैं लाग्थ्यो तर मिहिनेत गरे जनतालाई दुःख दिएर घुस खान पर्दैन, उहाँले भन्नुभयो, अहिले मेरो सबै सपना पूरा हुँदै गएको छ, केटाकेटीहरू राम्रा विद्यालयमा पढिरहेका छन् भने बस्नलाई तीनकोठे पक्की भवन पाएको छु । साविक औरही घर भएका कामती छोराछोरीलाई पढाउनका लागि लहानमा ०६५ सालदेखि ०७२ सालसम्म डेरा लिएर बस्ने गर्नुहुन्थ्यो ।
जागिरको क्रममा पहाडी जिल्लामा काम धेरै हुन्थ्यो र कामतीको साइटमै महिनौँ बित्थ्यो, सेवा सुविधा पनि काम अनुसार नै भेटिन्थ्यो, कामतीको विगतको फेहरिस्त यस्तो छ, तराईको जिल्लामा आउँदा काम कम हुँदै गयो, रौतहटदेखि काम कम हुँदै गएपछि सिरहा सरुवा भयो । एसएनआरटीपी परियोजनाअन्तर्गत सिरहामा चिकना गाउँदेखि गाढासम्मको सडक सर्वेको काममा कार्यालयले खटायो, एक महिना लगाएर काम गर्नुप¥यो तर त्यसबापतको थप सेवा सुविधा बराबर २० हजार रुपियाँ कार्यालयले दिएन ।
कार्यालयमा दैनिक भ्रमण र खाजा भत्ताको कागजात बुझाए पनि तलबबाहेक सुविधा नदिएपछि परियोजनामा काम गर्न उहाँले त्यही दिनदेखि छोड्नुभयो । अब केबल उहाँको कार्यालयको दैनिकी प्रशासनिक काममै बित्छ । कार्यालयको समय सकिएपछि उहाँको सुरु हुन्छ दूधको व्यवसाय ।