झापामा ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले १४ करोड लगानीमा ह्याचरी सञ्चालनमा

<span class='c1'>झापामा ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने</span> <span class='c2'>उद्देश्यले १४ करोड लगानीमा ह्याचरी सञ्चालनमा</span>

बनियानी, रासस । ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ ।

मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिए ।
झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो । बिर्तामोड–२ स्थित वीर अमरसिंह माविको चार बिगाह दुई कट्ठा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको छ । त्यहाँदेखि करीब ३०० मिटर टाढा कनकाई–८ मा ह्याचरीको आफ्नै स्वामित्वमा रहेको एक बिगाह ११ कट्ठा जग्गामा चल्ला उत्पादन गर्ने मेसिनसहितको भौतिक संरचना तयार गरिएको अर्का सञ्चालक तारा प्रसाईंले बताए ।
“विद्यालयको जग्गा रु ८० हजार वार्षिक भाडा बुझाउने गरी २१ वर्षका लागि लिजमा लिका छौँ,” उनले भने । तीन–तीन वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको छ । हाल यहाँबाट हप्तामा ११ हजार कुखुराका चल्ला उत्पादन हुँदै आएको छ ।

ह्याचरी पूर्णरुपमा सञ्चालमा आएपछि हप्तामा ६० हजार चल्ला उत्पादन गर्न सकिने अर्का सञ्चालक निर्जा सिवाकोटीले बताए । क्षमता विस्तारका लागि थप तीन बिगाह १७ कट्ठा जग्गा खरिद गरिएको छ । हाल अण्डा पार्ने ‘प्यारेन्स’ कुखुराको एक दिने चल्ला मलेसियाबाट आयात हुने गरेको छ । ‘कब ५००’ जातको उक्त कुखुराको चल्ला ह्याचरीसम्म ल्याउन करीब साढे छ डलर खर्च हुने सञ्चालक सिवाकोटी बताउँछन् ।
हाल ह्याचरीमा चार हजार अण्डा पार्ने प्यारेन्स कुखुरा रहेका छन् । कुखुराले नियमित रुपमा ७५ हप्तासम्म अण्डा पार्छ । ह्याचरीबाट प्रतिवटा चल्ला रु ५० मा बिक्री गरिँदै आएको छ । अरुतिर भने ‘कब ४००’ जातको कुखुराको चल्ला पाइन्छ ।

कुखुराका लागि चाहिने दाना सञ्चालक आफैँले उत्पादन गर्दै आएका छन् । दानाका लागि मकै प्रयोग गरिँदै आएको छ । ह्याचरी सञ्चालमा आएसँगै यहाँका ५० जनाले रोजगारीसमेत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्