मृगौला सुरक्षा, सम्भव छ सावधानी अपनाए

मृगौला सुरक्षा, सम्भव छ सावधानी अपनाए

हरि अधिकारी
विराटनगर÷ मृगौलाको उपचार महँगो भए पनि पूर्वतयारी अपनाउन सके मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । स्वास्थ्य संस्थाहरूमा थोरै रकममा पनि मृगौलाको अवस्था कस्तो छ भनेर परीक्षण गर्न मिल्छ । तर मृगौला परीक्षण गर्न ध्यान नदिँदा मृगौलापीडितहरू बढ्दै गएका छन् ।
मृगौला स्वास्थ्य राख्न ध्यान नदिँदा अधिकांश मानिसको मृगौला फेल भैरहेको चिकित्सकहरू बताउँछन् । बजारमा मृगौला परीक्षण गर्न कम्तीमा ६० रूपैयाँदेखि माथि लाग्छ । सामान्य पिसाब परीक्षा गर्दा मृगौलाको अवस्था कस्तो हुन्छ भन्ने जान्न सकिन्छ । तर समय–समयमा मृगौला परीक्षण गर्नुपर्छ भन्ने चेतना नहँुदा आधिकांश मृगौलापीडित रोग लागिसकेपछि घरबारविहीन हुने गरेका छन् ।
समय–समयमा मृगौला परीक्षण गरे स्वास्च्छ राख्न सकिने मृगौला रोग विशेषज्ञ डा. रमेश चौरासिया बताउँछन् । तर अधिकांश मानिस स्वास्थ्य समस्या देखा परेपछि मात्र मृगौला जाच गराउन आउँछन् । मृगौला परीक्षण गराउनुपर्छ भन्ने चेतना अधिकांश मानिसमा नभएको उनको अनुभव छ ।
उनी भन्छन्,, “एकै पटक मृगौला कहिले पनि फेल हुँदैन । दुई–तीन स्टेपपछिमात्र फेल हुन्छ । एक वर्षमा एकपटक परीक्षण गराउने हो भने मृगौला फेल हुनबाट रोक्न सकिन्छ । यदि एउटा फेल भैहाले पनि अर्काेलाई स्वस्थ्य राख्न सकिन्छ । तर यहाँ त दुवै मृगौला फेल भएपछि मात्र विरामीहरू बढी आउँछन् ।”
मृगौला फेल भएपछि यसको उपचार महँगो भएकाले सामान्य मान्छेले उपचार गर्न मुस्किल पर्ने उनी बताउँछन् । उनी भन्छन्, “सामान्य मृगौला जाँच गर्दा फेल हुनबाट बचाउन सकिन्छ । तर वास्ता नगर्ने हो भने उपचार गर्न खर्च धान्नै मुस्किल पर्छ ।”
उर्लाबारी मोरङका महेशप्रसाद सिंहले विराटनगरस्थित गोल्डेन अस्पतालमा मृगौलाको डाइलसिस गराउँछन् । मधुमेहका बिरामी उनले स्वास्थ्यमा समस्या देखा परेपछि नेपालमा नाम चलेका र भारतको मेदान्त अस्पतालसम्म स्वास्थ्य परीक्षण गर्न पुगे । मधुमेहका बिरामी उनले केही महिनाअघि मात्र थाहा पाए आफ्ना दुवै मृगौला फेल भएछ भनेर । उनी छ महिनायता विराटनगरस्थित गोल्डेन अस्पतालमा डाइलसिस गराइरहेका छन् ।
विराटनगर–१० का बुद्ध मोक्तान दुई वर्षदेखि कोशी अञ्चल अस्पतालमा मृगौलाको डाइलसिस गराइरहेका छन् । उनको हप्तामा दुईपटक डाइलसिस गर्नुपर्छ ।
मृगौलापीडितलाई सरकारले दुई सय ८ पटकसम्म मात्र डाइलसिस निःशुल्क गराउछ । आफ्नो डाइलसिस गर्न पाउने समय सकिनै लागेका उनले भावुक हँुदै भने “दुईसय ८ पटक मात्र सरकारले निःशुल्क गर्छ भन्ने सुनेको छु । मैले सुनेको सही हो भने हामी गरिबले के गर्नु मर्नु ?”
उनी पैसा हुने ठूलाबडाले बाहिर गएर मृगौला फेरे पनि गरिबले पैसा नहुँदा बाँच्न नपाउने अवस्था आएको उनको गुनासो छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रसंग उठाउँदै उनले थपे, “ठूला मान्छेको सरकारले निःशुल्क मृगौला फेरिदिन्छ । बेला–बेला विदेशमा गएर उपचार खर्च पनि व्यहोरिदिन्छ । तर हामीलाई सीमित समय डाइलसिस गराएर मर्न बाध्य बनाउँछ । के हामी यो देशका जनता होइनौ । नेताको उपचार खर्च सरकारले बेहोर्छ हाम्रो उपचारमा लाग्ने खर्च सरकारले व्याहोर्न सक्दैन ।”
मृगौला फेल भएपछि बाँच्ने उपाय भनेकै डाइलसिस वा मृगौला परिवर्तन हो । तर यी दुवै प्रविधि महँगो भएकाले सामान्य मानिसको पहुँचभन्दा धेरै टाढा छ ।
एउटा मृगौलाले पनि शरीरमा मज्जाले काम गर्न सक्ने चिकित्सकहरू बताउँछन् । मृगौला परिवर्तन गर्न सरकारले आफन्त हुनुपर्ने नियम बनाएको छ । पीडितलाई मृगौला दिन नातेदार तयार भए पनि आर्थिक स्रोत जुटाउन नसक्नेहरू पीडामा छन् । यस्तै समस्या छ विराटनगरका पुष्पराज देउजाको परिवारमा । मृगौलापीडित देउजालाई उनकी श्रीमतीले मृगौला दिन तयार भए पनि आर्थिक स्रोत जुटाउन सकेका छैनन् ।
मृगौला डाइलसिस गर्दा मात्र एकपटकको अस्पतालअनुसार तीन हजारदेखि ६ हजार ७ सय रूपैयाँसम्म खर्च हुन्छ । सामान्य अवस्थाका बिरामी भए हप्तामा एकपटक र जटिल भए दुई पटक मृगौलाको डाइलसिस गराउनुपर्छ ।
यसरी हेर्ने हो भने मृगौला डाइलसिस गर्न मात्र मासिक ३० देखि ५० हजारसम्म खर्च हुन्छ । जुन सामान्य मानिसले जुटाउन मुस्किल छ । अझ मृगौला परिवर्तन गर्दा ६ देखि ७ लाखसम्म खर्च हुन्छ ।
मृगौला परिवर्तनपछि पनि लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ ।
“वार्षिक रूपमा परीक्षण गरे मृगौलाको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ,” डा. चौरासिया भन्छन्, “पहिलो स्टेजमै हो भने उपचार सम्भव छ । तर अधिकांश मानिस परीक्षण गराउँदैनन् ।”
सरकारले मृगौलापीडितहरूलाई सहयोगस्वरूप २ सय ८ पटकसम्म निःशुल्क डाइलसिस गर्ने व्यवस्था मिलाएको छ । यसरी हेर्दा हप्तामा दुईपटक डाइलसिस गर्नेले दुई वर्षसम्म निःशुल्क पाउँछन् ।” एक व्यक्तिलाई पाँच लाख मूल्यबराबरको सरकारले डाइलसिस निःशुल्क गराउँछ । तर कोटा थोरै भएकाले अधिकांशले डाइलसिस गराउन महँगो मूल्य तिरिरहेका छन् ।
पूर्वाञ्चलमा कोशी अञ्चल अस्पताल, गोल्डेन हस्पिटल र वीपी प्रतिष्ठानमा निःशुल्क डाइलसिस गर्ने सेवा सुचारु छ ।
मधुमेह र उच्च रक्तचाप नै मृगौला बिग्रनुको मुख्य कारण हो । दुवै समस्या नभए पनि मृगौला फेल हुनसक्छ । खानपानमा विशेष ध्यान दिने हो भने मृगौला फेल हुनबाट रोक्न सकिने चिकित्सकहरू बताउँछन् ।
के हो डाइलसिस
मृगौलाको मुख्य काम शरीरमा रहेका ‘मेटाबोलिजम’बाट उत्पादन हुने विकारहरू शरीरमा जम्मा हुन नदिई बाहिर फ्याँक्ने हो । त्यसबाहेक मृगौलाले शरीरमा पानी र लवणको मात्रा मिलाउन, क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरू बलिया बनाउने काम गर्छ ।
त्यस्तै मांसपेसी र नसाहरू चल्नका लागि शरीरमा सोडियम, पोटासियमको मात्रा मिलाउन, रगत बनाउने हार्मोन, रक्तचाप नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाले काम गर्छ । तर मृगौला बिग्रिएपछि सबै काम गर्न छाड्छ ।
मृगौला बिग्रिएछि पिसाबमार्फत निस्कनुपर्ने पानी र फोहोर पदार्थ शरीरमै जम्मा हुने डा. विनोद चौधरी बताउँछन् । मृगौलाले काम गर्न नसक्ने भएपछि बाहिरबाट मृगौलाको काम गर्ने विधिलाई डाइलसिस भनिन्छ । डाइलसिस गर्दा पिसाबबाट जान नसकेका विकारका वस्तु बाहिर निकालिन्छ । डाइलसिस गर्न कम्तीमा ३ देखि ४ घण्टा समय लाग्छ ।
बच्ने उपाय
मृगौला रोगको रोकथाम भनेको यो रोग लाग्नै नदिनु भएको डा. चौरासिया बताउँछन् । यसका लागि मृगौलाको नियमित जाँच गराउनुपर्दछ । यदि मृगौला बिग्रन थालेको बेलैमा थाहा पाए बिग्रनबाट रोक्न सकिन्छ । “स्वस्थ व्यक्तिको पनि मृगौला खराब हुनसक्छ,” डा. चौरासिया भन्छन्, “हरेक व्यक्तिले वर्षमा एकपटक मृगौलाको जाँच गराउनु उपयुक्त हुन्छ ।”
शरीरको महत्वपूर्ण अंग मृगौलाले काम गर्न छोडेपछि उपचार जति महँगो र झन्झटिलो छ त्यो भन्दा धेरै सजिलो छ यसको पहिचान गरी समयमै उपचार गर्न ।
सामान्य परीक्षणले मृगौलाको अवस्था थाहा हुने र समयमै उपचार सजिलो भए पनि मृगौला रोगीको संख्या भने दिनानुदिन बढ्दै गएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्