महिला हिंसा अन्त्यका लागि पुरुषको भूमिका

महिला हिंसा अन्त्यका लागि पुरुषको भूमिका

- मोनिका अर्जेल रिजाल
भनिन्न छ एक जाना पुरुष सफल हुन महिलाको ठूलो हात हुन्छ । त्यसरी नै कुनै पनि महिला सफल र सक्षम हुन पनि पुरुषको ठूलो रोल हुन्छ । त्यसैले त महिला र पुरुष एक रथका दुई पाङ्ग्रा अनि एक सिक्काका दुई पाटा जस्तै हुन् । हाम्रो समाजमा महिलाहरुलाई कम महत्व दिने गलत प्रवृत्तिले गर्दा उनीहरुले आफ्नो जीवनभरी नै हिंसा र भेदभावको समना गर्दछन् । हाम्रो जस्तो पुरुषप्रधान नेपाली समाजमा महिलाहरु महिला भएकै कारणले विभिन्न वाहानामा विभेदले ग्रस्त बनेका छन् । त्यसो त महिलाहरु महिलाबाटै पनि पीडित र हेला होचो भएको अवस्था विद्यमान छन् । त्यसका लागि महिला हिंसा अन्त्य गर्न पुरुषको ठूलो महत्व रहन्छ ।
महिलाहरुलाई बाल्य अवस्था देखि नै तिरस्कार गर्नु । सम्पत्ति र ज्यालामा असमानता हुनु । दाइजो प्रथाले समाजमा अझै पनि जरो गाडेर रहनु । महिला भू्रण हत्या दिन प्रतिदिन बढ्नु । हरेक क्षेत्रमा महिला सहभागिता कम हुनु । चेलिबेटि बेचबिखन बढ्नु जस्ता कारणहरुले दक्षिण एशियाका महिलाहरु दिनानु दिन हराईरहेका छन् । एक तथ्यांक अनुसार दक्षिण एशियाको जनसंख्याबाट ५ करोड भन्दा बढि महिलाहरु हराई रहेको अवस्था देखाईएको छ । आखिर के कारणले यस्तो भयो त ? यो आजको वैज्ञानीक र आधुनिक समाजको लागि ठूलो चुनौतीको विषय बन्नु पर्दछ । यहि स्थीति रहेमा भोलिका दिनमा महिला बिनाको समाज र समाज लोपहुने स्थीति आउदैन भन्न सकिन्न ।
मानवअधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ ले मानवहरु जन्मजात स्वतन्त्रता, समानता तथा सम्मानको वकालत गरेको भएता पनि विश्व स्तरमा नै महिला र पुरुष बीचमा व्यापक असमानता र विभेदको अवस्था विद्यमान छ । महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतीक अवस्था पहुँचको आधारमा पुरुषको तुलनामा भन्दा धेरै दयनिय रहेको छ । त्यसैले महिला हिंसा अन्त्यका लागि एक पुरुषको भूमिकाका विषयमा केहि चर्चा गरौं :
१) सोचमा परिवर्तन : मानिस सम्पन्न होस् या विपन्न होस्, मानविय व्यवहार परिर्वतनका लागि उसको सोच र दृष्टिकोण फराकिलो हुन जरुरी छ । सामाजमा रहेको विद्यमान महिला प्रतिको पृत्तिसतात्मक सोच छ त्यसमा सर्वप्रथम पुरुषहरुले परिवर्तन गर्नु आवश्यक छ । अझै पनि हाम्रो समाजनमा साँझ पख छोरी चेली चौक बजार निस्कदा सानो भए पनि छोरो मान्छेलाई साथी पठाइन्छ । किन त भन्दा हाम्रो समाजमा महिलाहरु पुरुष बिना असुरक्षित छन् भन्ने सोचले गर्दा हो ।
२) व्यवहारमा परिवर्तन : यदि कसैले महिलालाई कमजोर ठानी हेप्ने, जताभावि जिस्काउने, मानसिक रुपमा चोट पुग्ने गरी काम गर्ने व्यवहार गरीएको छ भने त्यसमा पुरुषले परिवर्तन गर्नु पर्दछ । सामाजमा महिलाहरु प्रति सम्मानताको व्यवहार गर्नु प¥र्यो ।
३) हौसाला प्रदान : पुरुषले महिलाको काममा साथ र सहयोग गर्दै अझै राम्रो काम गर्न हौसला दिनु प¥र्याे । जसले गर्दा महिलाहरुमा अझै निर्धकसँग अघि बढ्ने प्रेरणा प्राप्त भई सफल र सक्षम हुनेछिन् । उनीहरुमा भएको आत्माविश्वास पुरुषको हौसालको कारण दोब्बर भएर जानेछ ।
४) सहभागिता : अभिभावको रुपमा पुरुषले छोराछोरीलाई समानरुपमा शिक्षा, स्वास्थ्य जस्तो कुरामा विभेद गर्नु भएन । श्रीमानले श्रीमतीलाई समाजमा हुने सामाजिक काममा अग्रसर गराउनु पर्दछ । साथै चेतनामूलक, जानकारीमूलक सभा सम्मेलनमा सहभागि गराई नेतृत्वदायी भूमिकाको क्षेत्रमा अग्रसर बनाउन पुरुषले आधार स्तम्भको भूमिका निर्वाह गर्नु पर्दछ ।
५) सीपमूलक तालिम : सीप सिकेर आत्मानिर्भर तथा दक्ष बन्नका लागि सीपमूलक तालिमहरु जस्तै सिलाई बुनाई, कम्प्युटर, बुटिक लगायत अन्य सीपमूलक तालिममा सहभागिता गराउन पुरुषले सक्दो सहयोग गर्नु पर्दछ ।
६) अठौट : अब पुरुषहरुले महिलाहरुलाई चुलो चौकाबाट भुक्त गर्ने अठौट लिनु प¥र्याे । घरधन्दा र चार दिबार भित्र मात्र सीमित भएका कारणले गर्दा नै अझै धेरै महिलाहरुले अहिलेको बद्लिदो समाजमा सकारात्मक परिवर्तनमा योगदान दिन सक्षम नभएको अवस्था छ । त्यसैले यस्ता संस्कारबाट मुक्तिका लागि आजको पुरुषले महिला हिंसा अन्त्यका लागि अठौट लिने हिम्मत गर्नु जरुरी छ ।
अन्त्यमा महिला हिंसा अन्त्यका लागि ऐन, नियम, कानुन, घोषण पत्र मात्र बन्दै केहि हुने वाला छैन त्यसको कार्यान्वयन नहुने हो भने त्यो एक कालो अक्षरबाट निर्मित संग्रह मात्र हुन्छ । कानुन कार्यान्वयन गर्न तापाई हामी सबैको मनविय सोच, व्यवहार र दृष्टिकोण परिवर्तन हुनु पर्दछ ।
(लेखिका : नेपाल ग्रामीण विकास समाज केन्द्र, विराटनगरमा कार्यक्रम अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्