भूकम्पको ग्लामर – अश्विनी कोइराला

भूकम्पको ग्लामर – अश्विनी कोइराला

 

हामी बीर छौं । यो कुरा भूपी शेरचनलाई मात्र होइन, सबै नेपाली जनतालाई थाहा छ । तर हामी बाठा छौं भन्ने कुरा भूपी शेरचनलाई थाहा थिएन । नेपालीहरुको बाठोपन देख्न नपाईं प्रशिद्ध कवि भूपि शेरचनले देहत्याग गरे । उनले नेपालीहरुको बाठोपन देखेका भए अर्को कविता अवश्य लेख्ने थिए । नेपालमा भूपी शेरचनलाई आदर्श मान्ने धेरै कवि छन्, आशा छ, यो बाठोपनका विषयमा केही कविता अवश्य लेखिनेछन् ।
जस्तो :
००००
नेपालमा दश वर्षे सशस्त्र युद्ध भयो । १७ औं हजार मानिस मरे । बेपत्ता, घाइते, बसाईसराईं र ती बीचमा भएका अमानवीय कृत्यहरुको कुरै नगरौं । त्यसैको आधारमा धेरै मानिस रातारात स्टार भए । केही चर्चित व्यापारी र केही धनाढ्य राजनीतिज्ञ भए । यी कुरा आजभोली सामान्य झैं लाग्न थालेको छ । जनयुद्धको नाममा भएको एउटा विषय भने थोरैलाई मात्र जानकारी छ । त्यो के भने ‘जनयुद्ध’ पीडितका नाममा धेरै नेपालीले युरोप, अस्ट्रेलिया, अमेरिका र क्यानडाको स्थायी बासिन्दा हुने मौका पाए । प्रहरीले मार्न खोजेको, सेनाले ‘सर्च’ गरेको वा माओवादीले कारवाही गर्ने लिस्टमा राखेको समाचार छापाएर धेरै नेपालीहरुले विकशित देशका ग्रीनकार्ड पाएका थिए । यत्रो वर्षपछि पनि नेपालमा बस्ने नेपाली अवस्था १०–१५ वर्ष अघि भन्दा गए जुग्रेको देखेपछि उनीहरुले भन्ने गरेका छन्, ‘धन्न बेलैमा बुद्धि पुर्‍याइएछ । फर्किएर हेर्दा त जनयुद्धकै कारण हाम्रो जीवन सफल भएको रहेछ ।’

००००
माओवादीको सशस्त्र संघर्ष जस्तै बैशाख १२ र २९ मा गएको भूकम्प पनि ‘बाठा नेपाली’हरुका लागि विदेश जाने माध्यम हुन थालेको छ । सामान्य भूकम्प पीडितहरुले अझै पनि बस्ने घर पाएका छैनन् । काठमाडौंमा बस्ने टाठा–बाठा कलाकार, व्यवशायी एवं विदेश जान चाहनेहरुका लागि भने ‘भूकम्प पीडित’ हुनु खुसीको कुरा हुन थालेको छ । विभिन्न जिल्लामा भूकम्प पीडितको कार्ड बनाउने लस्कर नै लागेको छ । पीडित भन्दा बढि कार्ड बितरण हुन थालेको छ र भित्रभित्रै उनीहरु विदेश पनि जान थालेका छन् । केही समयअघि भूकम्प पीडित भएको खवर छापिएका एकजना कलाकार अहिले क्यानडा पुगेका छन् । फेसबुकमा आफू क्यानडा पुगेको खवर सुनाए लगत्तै ती कलाकारले साप्ताहिकसँग मुख खोलीहाले, ‘यत्रो वर्ष विदेश बस्न संघर्ष गरियो, भूकम्पले त्यो जुराईदियो ।’

००००
भूपि शेरचनले हामी बीर मात्रै होइन, बुद्धु पनि छौं भनेर कविता लेखेका थिए । नेपालीहरुको यो बाठो पन देखेका भए, पक्कै हामी पीडाका घटनालाई पनि कसरी सदुपयोग गर्छौ भनेर पक्कै अर्को कविता लेख्नेथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्