धुनिँया दाईहरू र मधेस आन्दोलन – सुरज सुवेदी

धुनिँया दाईहरू र मधेस आन्दोलन – सुरज सुवेदी

 

हिजो धुनिँया दाईहरु आउनुभएको थियो घरमा । हामीले एउटा डसना र सिरक बनाँयौ । हाम्रो घर चोकमा भएको हुनाले हामिसँगै नजिकका दुई घरहरूले पनि बनाउन लगाए । एक बजेतिर आएर पनि उहाँहरुले लगभग सातवटा सिरक/डसना बनाउनुभयो ।
हामी वरिपरि वसेर हेरिरहेका थिँयौ । म लगायत गाँउकै अरू केहि साथिहरू र केटाकेटिहरू । मलाई सिरक बनाएको हेर्न सानैदेखि नै मनपर्थ्यो ।
उहाँहरुको हात चलिरहेको हेरिरह्यौ । सुन्दर ढंगले गरिएको कामको बाँडफाँड । एउटा पल्ला सिँउदै, अर्को सियो व्यवस्थापन गर्दै र बाँकि दुईजना रुवा कुट्दै । रुवालाई पल्लाभित्र हालेर मुख सिलाएपछिको सामुहिक सिलाई त झनै आकर्षक । हरेकले आफ्नो वाटोलाई एक फन्को सिलाईसक्दा सिरक नै तयार हुने ।
उहाँहरुको मोबाईलमा भोजपूरी गाना बजिरहेको छ । त्यसैको तालमा चलिरहे झै लाग्छ हात पनि ।
“दाईसँग चार्जर छ? मोटोपिन, एन्ड्रोईड वाला?” उहाँहरू मध्येको ठुलो दाईले मलाई भन्नुभो । एक छिन अघि बुवासँग दररेट बार्गेनिगं गर्ने उहाँ नै हुनुहुन्थ्यो । त्यसैले ठुलो भनेको हुँ । तर उहाँले ‘दाई’ भनेर बोलाएको अचम्म लाग्यो । मलाई भाई नै भन्दा हुन्छ भनेँ ।
मोबाईल लगेर चार्जमा राखिदिँए । चार्जर जोड्नासाथ झिलिक्क बलेको स्क्रिनमा रातो लुगा लगाएकी एक महिलाको फोटो थियो । सायद उहाँकी श्रीमती हुनुहुन्थ्यो । घरमा परिवारलाई छोडेर उहाँहरु यहाँसम्म आउनुभएको थियो ।
“दाईहरुको घर कता हो?” फर्किएर गएपछि मैले सोधेँ ।

“बिरगन्ज” जवाफ अर्कै दाईले दिनुभो ।
त्यति टाडाबाट हाम्रो घरसम्म आएर आउने जाडोका लागी सिरक डसनाहरु बनाँउदै हुनुहुन्थ्यो उहाँहरू । दिनेश अधिकारीले ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ’ भनेको यहि कुरा देखेर त होला नि है? उहाँहरूको आम्दानीको स्रोत त हो नै, त्यो भन्दा बढि सेवा पनि हो । उहाँहरू गाँऊमा नआउने हो भने टाडाबाट वोकेर ल्याउनुपर्थ्यो सिरक र डसना । पुरानालाई मर्मत गर्न पाईने थिएन ।
हिजो नै बिनोद काकासँग भेट भएको थियो । उहाँ उमेरले म भन्दा तीन बर्ष मात्र जेठो । पुनराबेदन अदालत जनकपुरमा सुब्वा हुनुहुन्छ । कुराकानी हुँदा भन्दै हुनुहुन्थ्यो, ‘तराईका धेरै मुद्धाहरू हेरिन्छ । सुरुसुरुमा भाषागत कठिनाई परेपनि अहिले सहज हुँदैगएको छ । नयाँ ठाँउमा गएर सेवा गर्न पाईएको छ ।’
कामको प्रकृति मात्र फरक हो । काका र धुनिँया दाईहरू दुवैले आफ्नो ठाँउ छोडेर अर्को ठाँउमा गएर सेवा दिईरहनुभएको छ ।
“उहाँहरु दशै मनाउनुहुन्न?” पल्लो घरको काकीले सोद्धुभयो । “हामी छठ मनाउँछौ ।” धुनिँया दाईले भन्नुभयो । मैले बिराटनगरमा हुँदा छठ हेर्न गएको संझिँए । दाईको एकजना साथी हुनुहुन्न रवी दाई । छठमा निम्ता गर्नुहुन्थ्यो उहाँलाई ।छठ हेर्न बिराटनगरका धेरै ठाँउहरू पुग्थ्यौ हामी । छठको बिशेष प्रसाद ठेकुवा सारै मनपर्थ्यो ।
उहाँहरू र हाम्रो चाड अलिक वरपर पर्छ र त यसरी एकको चाडमा अर्को सहयोगी र सहभागी हुन पाएका छौ ।
सानो हुँदाको कुरा संझन्छु; दालमोठ र भुजिया साट्न मधेशी दाईहरु आउनुहुन्थ्यो गाँउमा । हाम्रो घरतिर भएका पुराना पग्लने खाले चप्पलहरूसँग साटेर लानुहुन्थ्यो । उहाँहरु आउनुअघि नै तयार पारिराख्थ्यौ चप्पलहरु हामी । बदलामा मिठो भुजिया र दालमोठ पाईन्थ्यो । सानोमा खाएको भएर हुनसक्छ, त्यति मिठो दालमोठ र भुजियाको स्वाद अहिलेपनि पाएको छैन मैले ।
नेपालभरका गाँउ र शहरका घेरै स्कुल, स्वास्थ्य चौकी र अस्पताल तथा अन्य सरकारी र गैरसरकारी निकायहरूमा पहाडे र मधेसी समुदायका शिक्षक, स्वास्थ्य कर्मी ,डाक्टरहरु तथा कर्मचारीहरुले सेवा दिईरहनुभएको छ । कुनै मधेसी डाक्टरले पहाडी विरामी वा पहाडे डाक्टरले मधेशी विरामी भनेर उपचार नगरेको उदाहरण छैन । मधेशी थोक विक्रेताको सामान पहाडे खुद्रा व्यापारी मार्फत मधेशी ग्राहक सम्म पुगिरहेको छ । पहाडेको स्कुलमा मधेशी वा मधेशीको क्याम्पसमा पहाडी विद्यार्थीहरु पढिरहेका छन् ।
यसो सोच्दा त्यस्तो कुनै क्षेत्र नै छैन जुन पहाडे र मधेसीको सहकार्य विना पुरा भएको होस् ।
पछिल्लो समय चल्दै गरेको मधेश आन्दोलनले यहि कुरा भुलिरहेको हो कि जस्तो लाग्न थालेको छ । पहाडे र मधेसी समुदायलाई भिन्नताको आधारमा परिभाषित गर्न र एक अर्कालाई शत्रुको रुपमा व्याख्या गर्न खोजिनु शुभ संकेत हैन । विश्व ईतिहाँस साक्षि छ, घृणा र हिंसाले गरिएको आन्दोलनले कहिँ पनि शान्ति आएको छैन । दशै मनाउन घर फर्किरहेका यात्रुहरु बोकेर गुडिरहेको गाडीमा ढुंगा हानेर माग पुरा त होला तर त्यसले पार्ने दिर्घकालीन असरलाई आँकलन गर्ने हो भने त्यो ईतिहाँसकै महाभुल हुनेछ ।
मधेसको मागहरुप्रति मेरो बिरोध छैन । लोकतन्त्रमा अधिकार माग्न पाईन्छ । अझ संबिधान निर्माण भएको यो घडिमा अधिकार सुनिश्चित गर्न संघर्ष हुनु नौलो कुरा हैन । तर अधिकार खोज्न जुन तरिका अपनाईयो त्यो गलत कुरा हो । आफ्नो अधिकार माँग्दा अरुका अधिकार मिचिए होलान् भन्ने कुरा पनि ख्याल गरिनुपर्छ । आफ्नो घरको जग खन्न पाईन्छ तर त्यहि निँउमा अरुको घरको जग भत्काउन पाईन्न । समुदायको अधिकार माग्दा सामुदायिक भाईचारा भत्काउन पाईदैन ।आन्दोलन शसक्त पार्ने नाममा सामाजिक सद्भावलाई अशक्त पार्न पाँईदैन ।
अमेरिकामा काला र गोरा जातिविच भेदभाव हुनेगरी वनाईएको Jim Crow Law अनुसार बसमा वसिरहेको कुनै काला जातिको मान्छेले कुनै गोरो मान्छे चढे ठाँउ छोडिदिनुपर्थ्यो । तर १९५० मा Rosa Park ले पहिलोपटक त्यसको विरोध गर्दै सिट छोड्न मानिनन् ।

त्यस घटनावाट सुरु भएको आन्दोलनमा साथ दिँदै समग्र काला जातिका मानिसहरूले गाडिको यात्रा वहिष्कार गर्दै आठ वर्ष सम्म गाडी नै चढेनन् । उनिहरु नचढ्दा ठुलो आर्थिक घाटा वेहोर्नु परेपछि अन्तत सवै सँगै वस्न पाउने व्यवस्था लागु भयो ।

काला जातिलाई जनावरको जस्तो व्यवहार हुने त्यस समयको व्यवस्था विरूद्ध पनि अहिंसात्मक आन्दोलन गरेर सफल भएका थिए अमेरिकी काला जातिका नेताहरु । त्यसैले त माग पुरा भएपछि सहज बातावरण वन्यो । घृणाको राजनिती गरेर माग पुरा त होला हाम्रोमा त त्यो अवस्था पक्कै छैन । धेरै माग पुरा भएका र केहि हुन वाँकि छन् ।

के हामीले पनि सक्दैनौ यस्तो रचनात्मक आन्दोलन गर्न? के बदल्न सकिन्न जनतालाई दु:ख नदिईकन माग राख्ने स्वरूपहरू । के बेला भएन र बिगतमा भएका सोहि प्रकृतिका आन्दोलनहरूको समिक्षा गर्ने?
र अन्त्यमा,
कुराकानीकै क्रममा धुनिँया दाईले भन्नुभो, ‘नेपालभर जहाँ गएपनि यसरी नै काम गर्ने वातावरण मिलोस् । काम गरेर खान पाए बाँचिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्