हामी साना बाल-बालिका हुँदै कक्षा २ हो कि ३ मा हो, हामीले एउटा बुढो सिंहको कथा पढेका थियौं ! त्यो कथाको सिंह बुढो भएपछी आफ्नो ओढारको मुखमा बसेर त्यतैतिर बाट गुज्रिने अन्य जनावर लाई फकाएर , फुल्याएर ,झुक्याएर आफ्नो शिकार गर्थ्यो ! बुढो भएको कारणले शिकार गर्न नसक्ने हुनाले त्यो बुढो सिंहले त्यो जुक्ति निकालेर आफ्नो पेट भर्थ्यो तर एकदिन एउटा सानो खरायोले उसलाई कुवामा धकेलेर मारेको थियो भन्ने कथा हाम्रो बाल्यकालमा खुबै प्रसिद्ध थियो ! आज धेरै बर्ष पछि त्यो कथाको सम्झना आयो !
हाम्रो देशमा अरु ठाऊँमा कत्तिको मात्रामा अस्पताल खुलेका छन् होला ? एउटा तथ्यांक निकालेर प्रस्तुत गर्न पाउने हो भने झन् राम्रो हुन्थ्यो होला तर हाम्रो बिराटनगर शहर भित्र चाहिं लगभग हरेक टोलमा एउटा-दुईटा अस्पताल खुलेका देख्न पाइन्छ , कुनै कुनै ठाऊँमा त दुई भन्दा बढी पनि पाइन्छन , मानौं ति अस्पताल नभएर चिया पशल हुन् ! सबै भन्दा अचम्मको कुरो त के लाग्छ भने एउटा मात्रै डाक्टरले खोलेको क्लिनिकमा पनि बडेमाको बोर्ड राखेको हुन्छ , अस्पताल भनेर ! त्यस्ता अस्पताल भित्र छिर्ने हो भने सजिल्यै थाहा पाउन सकिन्छ कि त्यो अस्पताल नभएर त्यहि बुढो सिंहको ओढार जस्तो पो लाग्छ ! यस लेखको लेखक आफैं पनि एक रोगि भएको र व्हील-चेयर प्रयोगकर्ता भएकोले बेला-बेलामा कुनै न कुनै अस्पताल जानुपर्ने बाध्यताले बाँधिएको छ ! आफ्ना लागि त जानुनै पर्यो तर कहिलीकाहीं आफन्त र साथीभाई लाई हेर्न पनि अस्पताल जानुपर्ने हुनाले , बिराटनगर शहर भित्रका केहि अस्पतालमा पुगिसकेको छ र त्यस्ता अस्पतालको भौतिक स्वरुप मात्र्रै सिंहको ओढार जस्तो नभएर , रोगीहरु प्रति गरिने त्याहाँको ब्यबहार पनि सिंहले शिकार गर्ने शैलीको नै देखिसकेको छ ! अझ रमाइलो कुरो त कस्तो पनि भोगेको छ भने , कहीं कतै डुल्न गएको बेलामा अचानक ट्वाइलेट जानुपर्दा , नजिकैको अस्पतालनै छिर्नेगरेको छ , कारण शहर भित्र नगरपालिकाले निर्माण गरिदिएको पांच मिनट गर्ने ठाऊँ कहीं कतै देखेको छैन , भेटेको छैन ! त्यस्तो बेलामा अपर्झटरुपले अस्पताल भित्र छिर्दा त झन् ठुलो सिंहको ओढार जस्तै पो पाएको छ ! भित्र हेर्नुपर्छ , हरेक व्यक्ति (कार्मचारी ) बुढो सिंह झैं लाग्छन , मानौं बल्ल शिकार आएको छ र उनीहरुले पनि अलि-अलि रगत् चाट्न पाउनेछन ! खै ! अरुलाई कस्तो महशुश हुन्छ होला , उनीहरुनै जानुन तर मलाइ चाहिं ति ओढार जस्ता अस्पताल भित्र छिर्दा मूल गेट बाट नै हरेक कर्मचारी , चाहे ति पाले हुन् वा अन्य कर्मचारी , नर्स र डाक्टर सबै ठ्याक्कै त्यहि कथाको सिंह जस्तो पो लाग्छ हौ ! अस्पताल भित्रका कोठा , तिनीहरुमा जडान गरिएका यन्त्र र त्याहाँ कार्यरत सबै डाक्टर, नर्श र कर्मचारी , त्यत्रो ठुलो लगानी छ तर बिरामी हेर्ने हो भने एउटा-दुईटा , त्यो पनि बडो मुस्किलले उपचार गर्न पुगेको छ , भाग्न खोजिहाल्ने हैसियत नपुगेको जस्तो !
अब त्यहाँ पुगेको रोगीलाई चांडै निको पारेर बिदा दिउँ भने , त्यत्रो अस्पतालको भाडा कसरि तिर्नु, कर्मचारी कसरि पाल्नु र आफुले के खानु ? ढिलो गरेर पैसा झारिरहूँभने कत्ति दिन सम्म त्यसो गर्नु ? ति बाध्यकारी ओढार , अस्पताल हुनै सकेका छैनन् , सेवा दिने स्थल बन्नै सकेका छैनन् ! त्यसैले ति अस्पताल नभएर ओढार नै हुन् , बुढो सिंहका जस्ता ओढार , जाहाँ पुगेपछि , सकुशल निस्किन साँच्चैनै धेरै गाह्रो हुन्छ ! यो लेख लेख्नुपर्यो भनेर मैले करीब दुई-बर्ष अघिनै सोचेको थिएँ तर विभिन्न कारणले लेख्न सकिरहेको थिइन ! ति विभिन्न कारण मध्य फुर्सद नमिलेर पनि हो र त्यो भन्दा पनि ठुलो कुरो एकजना निक्कै त्यागि डाक्टर , जसलेति चाहेका भए यो शहर यो देश नै छोडेर विदेश गएर आरामको जिन्दगि बिताउन सक्थे होलान तर गएनन् र यहीं बसेर देश सेवा गरिरहे जस्तो लागेर , उनको सेवा प्रति निर्मम प्रहार हुन्छ होला भन्ने सोचेर , त्यत्तिक्कै निच मारेर बसेको थिएँ !
आज फुर्सद पनि मिल्यो र ति डाक्टर प्रतिको भावना दुई बर्ष सम्म सकारात्मक नै राखेर सद्भावना देखाइसकेको लागेर अब चाहिं निर्दोष जनता प्रति जिम्मेवार भएर यो लेख लेख्ने प्रयास गरेको हुँ ! डाक्टरका पनि आफ्नै बाध्यता होलान तर च्याउसरि अस्पताल खोल्ने अनुमति दिएर वास्तविक बिरामी बिनाका ति ओढार जस्ता अस्पताल लाई , निर्दोष जनताको शिकार गर्न अनुमति दिने हाम्रो नेपाल सरकारको चाहिं के बाध्यता छ होला , जावाफ पाउनपाए राम्रो हुन्थ्यो होला ! जवाफ कसले पो देला र ? पूरु !