राजनीतिक तरलताको तुलना – कृष्ण अधिकारी

राजनीतिक तरलताको तुलना – कृष्ण अधिकारी

कृष्ण अधिकारी
सन् १९७० को दशकतिर विविसीको हिन्दी सेवा अत्यन्तै चर्चित थियो । पाकिस्तानबाट पूर्वी पाकिस्तान छुट्टिन बल गर्दै थियो । पूर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउने ठूलो सहयोगी भारत थियो । अन्ततः पृथकतावादी नेता शेख मुजिवुर्रहमान सफल भए र बङ्गलादेशका राष्ट्रपिता बने भने पाकिस्तानका जुल्फीकर अलि भुट्टो असफल भए र आफ्नै देशको सैनिक तानाशाही सरकारद्वारा हत्या गरिए । यो समाचार हामी नेपालीहरू भारतबाटै सम्प्रेषित हुने विविसी (व्रिटिस ब्रोडकाष्ट कर्पोरेसन)बाट मात्र थाहा पाउँथ्यौँ । किनभने नेपालको प्रेस स्वतन्त्र थिएन ।
माथिको अनुच्छेदको अभिप्राय त्यसकालखण्डको अवस्था बताउनु हो । सन् १९४० को दशकमा अङ्ग्रेजबाट स्वतन्त्र भएको भारत धेरै वर्ष पछाडिसम्म अस्थिर थियो । ४० वर्ष पहिले अर्थात १९७७ को भारतको आमनिर्वाचनको समय र घटनाको निरपेक्ष साक्षी हुँ म पनि । जवारलाल नेहरूले दीक्षित गरेकी इन्दिरा गान्धी सत्तामा थिइन् त्यसबेला । समस्यालाई अझ ठूलो बनाएर विपक्षीहरूलाई ठेगान लगाउने र आफ्नो सत्ताकाल लम्ब्याउने रणनीति थियो उनको । पञ्जाबको खालिस्तानी वगावत, श्रीलङ्कामाथि उचालिएको तमिल पृथकतावादी द्वन्द्व र सुभाष घिसिङ्गको दार्जेलिङ विद्रोह सबै त्यही रणनीतिका उपज थिए ।
इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गरिन् । विपक्षीहरूलाई जेल हालिन् । नसबन्दीको घोषणा भयो । जोगी सन्यासीहरूलाई समेत समातेर नसबन्दी गरियो । स्कुल जाने छात्र र अभिभावकहरू त्राहिमाम हुन्थे, कतै समातेर नसा छेदन गरिदिने हुन् कि भनेर । इन्दिरा गान्धी मुस्लिम मतदाताहरूसँग बढी नजिक थिइन् । यसको विशिष्ट कारण भिन्नै छ । धर्म निरपेक्ष मुलुक हुनाले गोवध हुने भै गयो । कृपालानी नामका निष्ठावान् पुरुष गोवध विरुद्ध आमरण अनसन बसिरहन्थे । उनले अनसनको घोषणा गर्दा पूरै हिन्दूस्तानमा तरङ्ग पैदा हुन्थ्यो । लोकनायक जयप्रकाश नारायण जो नेपालको प्रजाातान्त्रिक आन्दोलनका शुभचिन्तक थिए, इन्दिरा गान्धीको ज्यादतीबाट क्रुद्ध थिए र अर्को राजनीतिक मोर्चा निर्माण गर्दै थिए ।
यसैबीच सन् १९७७ को आम निर्वाचनमा गान्धी आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव हारिन् । काँग्रेस हार्यो र जयप्रकाश नारायणले सङ्गठित गरेको जनता दल विजयी भएर सरकार बनायो तर इन्दिरा गान्धीको ताप धेरै खेप्न सकेन क्यारे एक डेढ वर्ष मै स्वमुत्रसेवी मोरारजी देसाईको सरकार गिर्यो, जनता दलमा विभाजन आयो । भारतीय इतिहासकै कफल्ला सरकार बन्यो चरणसिंको नेतृत्वमा । त्यो सरकार पनि काँग्रेसले समर्थन गरेर बन्यो र काँग्रेसले नै गिरायो । त्यही अवधिमा सञ्जय गान्धीको हवाइ दुर्घटनामा मृत्यु भयो । आफ्नै छोरा मराएको आरोपसमेत खेप्नुपर्यो इन्दिरा गान्धीले । हामी साक्षी छौँ, स्वतन्त्र भएको ६ दशकभन्दा बढी समयसम्म भारतको राजनीतिक स्थिर बन्न सकेन । अझ भनौँ भने गान्धी परिवार सत्तामा रहुन्जेल भारतको राजनीति स्थिर हुन सकेन । सत्ता जोड्ने र सत्ता फोड्ने त्यसबेलाको भारतीय राजनीति अत्यन्तै जटिल अवस्थामा थियो । बन्द र हड्तालले हिडडुल गर्न मुस्किल थियो । भ्रष्टाचार व्याप्त थियो, राजनैतिक वेइमानी चरम अवस्थामा थियो ।
त्यसबेला नेपालीहरू आफू स्वर्गमा भएको र भारत नर्क भएको अनुभूति गर्थे । सन् १९९० को दशकमा यहाँ पनि प्रजातन्त्र पुनस्थापना भयो । त्यसपछि राजनैतिक वेइमानीका दृश्यहरू देखिन थाले । खुलेआम भ्रष्टाचारका घटनाहरू बाहिर आउन थाले । प्रजातन्त्र बहालीको १६-१७ वर्षपछि प्रजातन्त्रले पुगेन नेपालीलाई । गणतन्त्र चाहियो, जातिपाति चाहियो । यतिखेर हाम्रो राजनीति अस्थिर छ, गतिहीन छ । राजनीतिमा वेइमानीको पराकाष्ठा छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ मुलुक । नेतृत्व पङ्ति अकर्मण्य दखिएको छ । जे देखिएको छ त्यतिलाई मात्र आधार मानेर भन्ने हो भने सबैको कारक यही लोकतन्त्र हो, यही गणतन्त्र हो तर गहिरिएर विश्लेषण गर्ने हो भने कुनै पनि व्यवस्था परिवर्तनको समयमा यस्तै हुन्छ, समाज रूपान्तरणको अवस्थामा यस्तै हुन्छ । हिजो भारतलाई नर्क ठान्ने हामी आज भारतीय राजनीति सङ्लो हुँदै गएको देख्तैछौँ र हाम्रो राजनीति धमिलो हुँदै गएको देख्तैछौँ तर कामना गरौँ, भारतले आफूलाई परिवर्तित राजनीतिमा सामान्य बनाउन ६ दशक लगायो, हाम्रो गणतन्त्र स्थापित हुन त्यति समय नलागोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्