एउटै नामका स्थानीय निकाय 

एउटै नामका स्थानीय निकाय 

खेमचन्द्र अधिकारी 
राज्यको पुनर्संरचनाअन्तर्गत भएको स्थानीय तहको पुनर्संरचनामा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी जम्मा ७ सय ४४ वटा स्थानीय निकाय भए पनि र धेरै निकायको नयाँ नाम राखिए पनि एउटै नाम भएका निकाय पनि धेरै रहेका छन् । अझ आपसमा सिमाना जोडिएका २ जिल्लामा नै त्यसरी एउटै नाम हुँदा त्यसले अप्ठ्यारो स्थिति उत्पन्न गर्ने पनि देखिन्छ । यहाँ त्यस्ता केही नामहरू उल्लेख गरिएको छ । 

मोरङको पूर्वी उत्तर र पाँचथरको पश्चिम दक्षिणमा सिमाना जोडिएका स्थानीय निकायको एउटै नाम मिक्लाजुङ रहेको छ । दुवै जिल्लाको सिमानामा पर्ने मिक्लाजुङ डाँडाको नामबाट सो नाम जुराइएको बताइन्छ । 

त्यस्तै, सिमाना जोडिएका मेची अञ्चलका २ पहाडी जिल्लामा पनि एउटै नामका स्थानीय निकाय छन् । यी दुवै जिल्लामा याङवरक नामको गाउँपालिका रहेको छ । उता, सप्तरी र सिरहा जिल्लामा विष्णुपुर नामको स्थानीय निकायको नाम रहेको छ । 

सुनकोशी नाम गरेको स्थानीय निकाय वखलढुंगा, उदयपुर, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा रहेको छ । वाग्मती नाम गरेको स्थानीय निकाय ललितपुर, मकवानपुर र सर्लाही जिल्लामा रहेका छन् । महालक्ष्मी नामका स्थानीय निकाय धनकुटा र ललितपुर जिल्लामा छन् भने चितवन, कालिकोट र रसुवामा कालिका नाम गरेका तथा गुल्मी र म्याग्दीमा मालिका नाम गरेका स्थानीय निकाय छन् । मालिकासँग मिल्ने नाम कुमाखमालिका (सल्यान), बडिमालिका (बाजुरा), मालिकार्र्जुन (दार्चुला) हुन् ।  

सिमाना जोडिएका जिल्ला रुपन्देही र कपिलवस्तुमा शुद्धोदन र मायादेवी नाम गरेका स्थानीय निकाय छन् । रामेछाप, नुवाकोट र वखलढुंगामा लिखु तथा सोलुखुम्बुमा लिखु पिके नाम गरेको स्थानीय निकाय रहेका छन् । त्रिवेणी नामका स्थानीय निकाय रोल्पा, सल्यान, बाजुरा र रुकुममा रहेका छन् । कालिकोटको सान्नी त्रिवेणी, ताप्लेजुङको आठराई त्रिवेणी, नवलपरासीको त्रिवेणी सुस्ता र जाजरकोटको त्रिवेणी नलगाड नाममा पनि त्रिवेणी जोडिएको छ । 

दाङ र चितवनमा राप्ती तथा बाँकेमा राप्तीसोनारी नाम गरेका स्थानीय निकाय छन् भने महाकाली नाम गरेका स्थानीय निकाय दार्चुला र कञ्चनपुरमा रहेका छन् ।  

पूर्वी तराईका सिरहा, धनुषा र महोत्तरीमा औरही नाम गरेका तथा सिन्धुपाल्चोक, धादिङ र डोल्पामा त्रिपुरासुन्दरी नाम गरेका स्थानीय निकाय रहेका छन् भने जुम्लामा कनकासुन्दरी नाम गरेको स्थानीय निकाय रहेको छ । 

झापाको बुद्धशान्ति, काभ्रेको नमोबुद्ध, कपिलवस्तुको बुद्धभूमि र डोल्पाको डोल्पो बुद्ध पनि लगभग एकापसमा मिल्दाजुल्दा नाम हुन् । धनुषामा भने एउटै जिल्लामा मिथिला र मिथिलाविहारी उस्तै नाम भएका स्थानीय निकाय रहेका छन् भने सोलुखुम्बुका दूधकोशी र दूधकौशिका नाम पनि मिल्दोजुल्दो रहेको छ । कोशी नाम जोडिएका अन्य स्थानीय निकायमा कोशी (सुनसरी), सप्तकोशी (सप्तरी), तामाकोशी (दोलखा) र भोटेकोशी (सिन्धुपाल्चोक) रहेका छन् । तेह्रथुमको लालीगुराँस र दैलेखको गुराँस नाम पनि एकापसमा मिल्दोजुल्दो छ । मोरङमा ग्रामथान र धनपालथान तथा इलाममा माइ, देउमाइ र माई जोगमाइ नाम गरेका स्थानीय निकायको नाम स्वीकृत भएको छ । कालीगण्डकी नाम गरेका निकाय स्याङ्जा र गुल्मीमा छन् भने जानकी नाम गरेका निकाय बाँके र कैलालीमा रहेका छन् । 

यसैगरी नाममा सुन जोडिएका स्थानीय निकाय सुनवर्षी (मोरङ), सुनापति (रामेछाप), सुवर्ण (बारा) र सुवर्णपुर (पर्सा) रहेका छन् भने गंगा जोडिएका स्थानीय निकाय बुढीगंगा (मोरङ), गोकुलगंगा (रामेछाप), गंगाजमुना (धादिङ), पुथा उत्तरगंगा (रुकुम) र वाणगंगा (कपिलवस्तु) रहेका छन् । 

देवी जोडिएका धर्मदेवी (संखुवासभा), चम्पादेवी (वखलढुंगा), खाँडादेवी (रामेछाप), मायादेवी (कपिलवस्तु र रुपन्देही) तथा रैनादेवी (पाल्पा) हुन् भने पोखरी जोडिएकामा कानेपोखरी (मोरङ), सभापोखरी (संखुवासभा), वराहपोखरी (खोटाङ), दूधपोखरी (लमजुङ) हुन् ।   

चोक जोडिएकोमा आमचोक (भोजपुर), चौतारा साँगाचोकगढी (सिन्धुपाल्चोक) र सिरानचोक (गोरखा) हुन् भने नाममा माई जोडिएका माइ, देउमाइ र माई जोगमाइ गरी ३ वटा इलाममा मात्रै रहेका छन् । त्यस्तै, रतुवामाइ (मोरङ), रौतामाइ (उदयपुर), धनगढीमाई (सिरहा), कमलामाई (सिन्धुली), बौधीमाई र गढीमाई (रौतहट), छिपहरमाई र बहुदरमाई, (पर्सा), कोटहीमाई र सम्मरी माई (रुपन्देही) र भगवतीमाई (दैलेख) हुन् । 

नाममा खोला जोडिएका स्थानीय निकाय पनि धेरै छन् । जसमा मिक्वा खोला र मैवा खोला (ताप्लेजुङ), भोटखोला (संखुवासभा), खानीखोला (काभ्रे), आँधीखोला र फेदीखोला (स्याङ्जा), काठेखोला, तमानखोला, ताराखोला, निशिखोला र बडीगाड (बाग्लुङ) रहेका छन् । (पश्चिममा खोलालाई गाड भनिने हुनाले गाड जोडिएका नाम पनि समावेश) त्यस्तै, पूर्वखोला (पाल्पा), दुईखोली (रोल्पा), बनगाड कुपिण्डे (सल्यान), चिंगाड (सुर्खेत), सर्केगाड (हुम्ला), नौगाड (दार्चुला) रहेका छन् । 

स्थानीय निकायको नाममा कुण्ड जोडिएकामा दूधकुण्ड (सोलु), उमाकुण्ड (रामेछाप), गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड (रसुवा) रहेका छन् ।   

हरिनगरा (सुनसरी), हरिपुर, हरिपुर्वा र हरिवन (सर्लाही) र हरिहरपुरगढी (सिन्धुली) हरि नाम जोडिएका स्थानीय निकाय हुन् भने धुनी जोडिएकामा रामधुनी (सुनसरी) र धुनीबेंसी (धादिङ) हुन् ।  

धुनीबेंसी (धादिङ), बेंसीशहर (लमजुङ) र लेकबेंसी बेंसी जोडिएका नाम हुन् भने गञ्ज जोडिएकामा देवानगञ्ज (सुनसरी) र वीरगञ्ज (पर्सा) र नेपालगञ्ज (बाँके) हुन् ।    

मेचीनगर (झापा), विराटनगर (मोरङ), हनुमाननगर कंकालिनी (सप्तरी), चन्द्रनगर र रामनगर (सर्लाही), रत्ननगर (चितवन) मा नगर जोडिएको छ भने हल्दीबारी (झापा), बेलबारी, उर्लाबारी र केराबारी (मोरङ) तथा खाँदबारी (संखुवासभा) नाममा बारी जोडिएका स्थानीय निकाय हुन् ।   

फक्तालुङ (ताप्लेजुङ), फालेलुङ (पाँचथर), म्याङलुङ (तेह्रथुम), सैलुङ (दोलखा) लुङ जोडिएका तथा बुढानीलकण्ठ (काठमाडौं) र नीलकण्ठ (धादिङ) कण्ठ जोडिएका नाम हुन् ।   

गण्डकी (गोरखा), शुक्लागण्डकी (तनहुँ), कालीगण्डकी (स्याङ्जा र गुल्मी) तथा आरुघाट (गोरखा) र देवघाट (तनहुँ) पनि आपसमा मिल्दाजुल्दा नाम रहेका छन् ।  

गोलबजार (सिरहा), सुन्दरबजार (लमजुङ) र पुतलीबजार (स्याङ्जा) तथा छेडदह (बाजुरा) र गौरादह (झापा) बजार र दह आवृत्ति भएका नाम हुन् ।  

नाममा कोट जोडिएर बनेका स्थानीय निकाय धेरै रहेका छन् । सबैभन्दा धेरै गुल्मीमा यस्ता नाम ४ वटा रहेका छन् । ती हुन् ः मुसिकोट, चन्द्रकोट, छत्रकोट र धुर्काेट । त्यस्तै, रुपाकोट मझुवागढी (खोटाङ), सुलीकोट र अजिरकोट (गोरखा), चापाकोट र भीरकोट (स्याङ्जा), गल्कोट (बाग्लुङ), रिब्दीकोटा (पाल्पा), हुप्सेकोट र गैंडाकोट (नवलपरासी), मुसीकोट र बाँफीकोट (रुकुम), कपुरकोट (सल्यान), गुर्भाकोट (सुर्खेत), रास्कोट (कालिकोट), सिमकोट र ताँजाकोट (हुम्ला) तथा तलकोट (बझाङ) अन्य यस्ता नाम हुन् ।  

तिला (जुम्ला) र तिलागुफा (कालिकोट) तथा बढैयाताल (बर्दिया), वराहताल (सुर्खेत) र आलीताल (डडेलधुरा) तिला र तालको आवृत्ति भएका स्थानीय निकाय हुन् भने बागचौर र ढोरचौर (सल्यान), गुठीचौर (जुम्ला) र चौरपाटी (अछाम) चौरको आवृत्ति भएका स्थानीय निकाय हुन् । 

शम्भुनाथ (सप्तरी), क्षिरेश्वरनाथ र गणेशमान चारनाथ (धनुषा), छायानाथ रारा (मुगु), नरहरिनाथ (कालिकोट), चन्दननाथ (जुम्ला) र खार्पुनाथ (हुम्ला) मा नाथ तथा देवदह (रुपन्देही) र देवघाट (तनहुँ) मा नाथ र देवको आवृत्ति भएको छ ।  

नाममा गढी जोडिएका स्थानीय निकाय पनि प्रशस्तै रहेका छन् । साँगुरी गढी (धनकुटा), हतुवागढी (भोजपुर), चिसंखु गढी (वखलढुंगा),रुपाकोट मझुवागढी र केपिलास गढी (खोटाङ), उदयपुर गढी र चौदण्डी गढी (उदयपुर), धनगढीमाई (सिरहा), हरिहरपुरगढी (सिन्धुली), चौतारा साँगाचोकगढी (सिन्धुपाल्चोक), बेलकोटगढी र सूर्यगढी (नुवाकोट), मकवानपुर गढी (मकवानपुर), गढीमाई (रौतहट), पर्सागढी (पर्सा), माथागढी (पाल्पा), रुन्टिगढी (रोल्पा) र अमरगढी (डडेलधुरा) यस्ता नाम हुन् । 

त्यसैगरी, नाममा अंक जोडिएका स्थानीय निकाय पनि धेरै रहेका छन् । आठराई त्रिवेणी (ताप्लेजुङ), छथर जोरपाटी र चौबिसे (धनकुटा), छथर र आठराई (तेह्रथुम), बाह्रदशी (झापा), पाँचखपन (संखुवासभा), तीनपाटन (सिन्धुली), बाह्रबिसे र पाँचपोखरी थङपाल (सिन्धुपाल्चोक), पाँचखाल (काभ्रे), पञ्चकन्या (नुवाकोट), बाह्रगाउँ मुक्तिक्षेत्र (मुस्ताङ), आठबीसकोट (रुकुम), दुईखोली (रोल्पा), पञ्चपुरी र चौकुने (सुर्खेत), बारबर्दिया (बर्दिया), आठबीस (दैलेख), छबिसपाथीभेरा (बझाङ), पञ्चदेवल विनायक (अछाम) र नौगाड (दार्चुला) यस्ता नाम हुन् ।    

सिरहामा पुर जोडिएका नाम धेरै छन् । कल्याणपुर, भगवानपुर, विष्णुपुर, सुखीपुर, लक्ष्मीपुर पतारी र नवराजपुर गरी ६ वटा निकायको नाममा पुर जोडिएको छ । सन्दकपुर (इलाम), भद्रपुर (झापा), चैनपुर (संखुवासाभा), भोजपुर (भोजपुर), विष्णुपुर (सप्तरी), जनकपुर र हंसपुर (धनुषा), रामगोपालपुर (महोत्तरी), ईश्वरपुर र हरिपुर (सर्लाही), हरिहरपुरगढी (सिन्धुली), मण्डनदेउपुर (काभ्रे), ललितपुर (ललितपुर) भक्तपुर र मध्यपुर थिमी (भक्तपुर), कीर्तिपुर र शंकरापुर (काठमाडौं), मकवानपुर र मकवानपुर गढी (मकवानपुर), चन्द्रपुर, मौलापुर, फतुवा विजयपुर र राजपुर (रौतहट), जीतपुर सिमरा र परवानीपुर (बारा), जगरनाथपुर (पर्सा), भरतपुर (चितवन), बन्दीपुर (तनहुँ), रामपुर (पाल्पा), प्रतापपुर (नवलपरासी), तुलसीपुर र राजपुर (दाङ), कोहलपुर र नरैनापुर (बाँके), जोशीपुर (कैलाली) र कृष्णपुर (कञ्चनपुर) पुर जोडिएका अन्य नाम हुन् । 

चर्चित व्यक्तिको नामबाट स्थानीय निकायको नाम रहेकामा रामप्रसाद राई (भोजपुर), के आइ सिंह (डोटी), पासाङ ल्हामु (सोलु) सिद्धिचरण (वखलढुंगा) रहेका छन् ।  

भगवान गौतम बुद्धको जन्मभूमि कपिलवस्तुमा ३ वटा स्थानीय निकायको नाम उनकी आमा मायादेवी, बाबु शुद्धोदन र पत्नी यशोधराको नाममा छ भने एउटा निकायको नाम बुद्धभूमि रहेको छ । स्थानीय निकायमध्ये सबैभन्दा लामो नाम धनकुटामा खाल्सा छिन्ताङ शहीदभूमि रहेको छ । शहीद शब्दसँग जोडिएर बनेका अन्य नाम शहीदनगर (धनुषा) र शहीद लखन (गोरखा) हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्