एक रात खुटीको बास – कृष्ण अधिकारी

एक रात खुटीको बास – कृष्ण अधिकारी

खुटी भनेको गोठ हो । भारतको आसाम राज्यमा नेपालीहरूको गोठ हुन्छ जङ्गलमा । त्यो गोठलाई गोठ नभनेर खुटी भनिन्छ । त्यस्तै जङ्गलको खुटीमा एक रात बास बस्ताको संस्मरण हो यो ।
ब्रह्मपुत्र नदी भारतको एक प्रसिद्ध नदी हो । कैलाश मानसरोवर उद्गमस्थल रहेको ब्रह्मपुत्र नदी दुई हिमाली रेन्जको बीचबाट तिब्बतको पठारै पठार दुई हज्जार किलोमिटर भन्दा बढी पूर्व बग्दो हो । त्यसपछि मात्र अरूणाचलको पूर्वी भागबाट भारत प्रवेश गरी केही पश्चिमको यात्रा गरेर मात्र बङ्गलादेश हुँदै बङ्गालको खाडीमा समाहित हुने नदी हो ब्रह्मपुत्र । धेरै नेपालीले ब्रह्मपुत्र नदी त्यसबेला मात्र थाहा पाए, जुनबेला प्रवासी लेखक लिलबहादुर क्षेत्रीले ‘ब्रह्मपुत्रका छेउछाउ’ नामको चर्चित उपन्यास लेखेर त्यहाँ नेपालीहरूले पाएको हण्डर र रोपेको श्रमका बारेमा जानकारी दिनुभयो ।
आसाम राज्यको पूर्वी छेउ तीनसुकियाबाट केही घण्टाको मोटर यात्रामा पुगिने एउटा गाऊँ छ धौला । धौलामा नेपालीहरूको प्रसस्त बसोबास रहेछ । ब्रह्मपुत्रको त्रासदिपूर्ण काखमा बसेको त्यो गाऊँ गोठ राख्ने र दूध उत्पादन गर्नेमा नामी रहेछ तर त्यो गाऊँमा हैन, ब्रह्मपुत्र नदीको पारी जङ्गलमा हो खुटी राख्ने र दूध उत्पादन गर्ने ठाऊँ । रविलाल निरौला गोठ राखेरै त्यहाँका नामी महाजन बनेका रहेछन् । कालान्तरमा उहाँ नेपाल आएर बित्नुभयो । रविलाल महाजनलाई मान्छेहरूले हाती मालिक भनेर बढी चिन्थे । हाती मालिक किन भन्थे भने उहाँ त्यहाँको महाजन हुनुहुन्थ्यो र शरीर सवासय केजीको थियो होला । हो उनै महाजनका छोरा देवु निरौलाको साथ लागेर म त्यहाँ पुगेको थिएँ, ती जङ्गलका गोठ हेर्ने ठूलै रहर बोकेर ।
सबै दिन त धौलामै बसियो, उत्कृष्ठ आतिथ्यताका साथ । एकदिन खुटी जाने कार्यक्रम बन्यो । जङ्गलमै गोठ परम्परा धानिरहेका माधव निरौला भाइले हामीलाई लाने योजना बनाए । त्यो जङ्गलमा हाम्रा लागि के के आवश्यक पर्छ ती सबै उनैले तयार गरे । त्यो माथि मैले आग्रह गरेँ ‘भाइ भगतको प्रबन्ध पनि गर्न सकिन्छ ?’ भाइ अलिकति मुस्कुराए र हुन्छ भने । हाम्रो यात्रा ब्रह्मपुत्र नदीतर्फ लम्कियो ।
हामीलाई तार्ने एउटा जेनेरेटरको इञ्जिन जोडेको मोटरबोट थियो । हामी त्यो मोटरबोट चढ्यौँ । बोटमा दूध हाल्ने क्यानहरू जर्किनहरू र दूध ओसार पसार गर्ने मान्छेहरू थिए । असोज महिना भएकोले ब्रह्मपुत्रमा पानी घटिसकेको थियो । पानी घटेको कारण बनेका टापूहरू तर्काउँदै जाँदा हामी चढेको बोटलाई ब्रह्मपुत्र पार गर्न साढे तीन घण्टा लागेको थियो । मोटरबोटले हामीलाई ब्रह्मपुत्र नदीको एउटा किनारामा उतारिदियो । ओर्लेर हेर्दा एकापट्टि समुद्र जस्तो लाग्ने ब्रह्मपुत्र र अर्कोपट्टि सुनसान जङ्गल थियो । जङ्गलभित्रका खाली चउरमा गाईवस्तु चरिरहेका थिए । हामी हिँड्दै जाँदा लामालामा गोठहरू देखिन थाले तर गोठ खाली थिए, गाई भैँसी देखिएनन् ।
एउटा लामो गोठलाई देखाउँदै माधवले भने ‘यही हो हाम्रो खुटी ।’ हामी त्यही खुटीभित्र पस्यौँ । पाडापाडी मात्रै थिए, भैँसी थिएनन् । भैँसी फुकाएर जङ्गल खेदिएको छ भन्ने जानकारी गराए माधवले । साँझमा भैँसी फिर्दा पो रमाइलो हुन्छ त पनि भने उनले । अब ‘भगत’ गर्ने त ? सोधे माधवले, मैले हुन्छ भनेँ । जिन्दगी मै पहिलो अनुभव हुनेवाला थियो भगतको ।
केराको कलिलो पात धौलाबाटै बोकेका रहेछन् माधवले । त्यसलाई मिहीसँग काटे उनले । त्यसलाई घिउमा मोले र सानो दिउरेमा हालेर आगोमा तताए । त्यसपछि गोजीबाट एउटा कालो पदार्थ झिकेर त्यसमा मिसाए निक्कै मेहनत गरेर । त्यो सबै सम्मिश्रणलाई एउटा चिलिममा भरे र आगो सल्काउँदै लु तान्नुहोस् भनेर मलाई दिए । उहिले गाँजा खाएको अभ्यास छँदैथियो । मैले पनि तानिदिएँ धूवाँ । हामी तीनै जनाले पाालैपालो तान्यौँ नसकिउन्जेल । माधवले गोजीबाट झिकेको त्यो कालो पदार्थको चीरपरिचित नाम ‘कानी’ हो । कानी खाने कामलाई त्यहाँ भगत गर्ने भन्दारहेछन् । हामीले पनि त्यो दिन ‘भगत’ ग¥यौँ । त्यो मेरो पहिलो अनुभव थियो र अब दोस्रो अवसर प्राप्त हुँदैन पनि होला ।
भगत सकेर हामीले एक एक गिलास दूध पियौँ । दूध पनि कस्तो भने दश फ्याटभन्दा माथिको होला । यतातिर हामीले दैनिक प्रयोग गर्ने राम्रो दूध भनेको पाँच फ्याटको हुन्छ । त्यहाँ जङ्गलमा भैँसी चरेर उत्पादित दश फ्याटको दूध भेटेर दङ्ग प¥यौँ हामी । ठिटो भैँसीको दूध बाह« फ्याटसम्म हुन्छ भन्छन् उनीहरू । बाह« फ्याटको एक लिटर दूध भनेको यहाँ हामीले खाने पोके दूध चार लिटर हो भनेर बुझे पनि हुन्छ । त्यसपछि हामी जङ्गल घुम्न निस्क्यौँ । जङ्गलमा गाई भैँसी त थिए नै वनघोडा पनि भेटिए । अरू धेरै गोठहरू भेटिए र ब्रह्मपुत्रको किनारमा उभिदा ब्रह्मपुत्रको सङ्लो पानीमा खेलिरहेका चराहरू देखिए ।
साँझ परेपछि जङ्गलतिरबाट भैँसी कराउन थाले, गोठमा बाँधिएका पाडाहरू पनि कराउन थाले । ‘दाजुहरू टाँडमाथि चढेर बस्नुहोस् है !’ भने माधवले । किन ? सोधेँ मैले । नयाँ मान्छे देखेर आक्रमण गर्न सक्छन् भैँसीहरूले, उनले भने । नभन्दै धूलो उडाउँदै भैँसीका वथान आए । रामकली (भैँसीको नाम) अगाडि अगाडि थिई । गोठालाले आ–आफ्नो किलामा बाँधेपछि दुहुने काम भयो । माधव भाइले जानकारी गराए ‘दुहुना मात्रै यसरी गोठ फिर्छन्, अरू त जङ्गलमै बस्छन्, खोजी खबरी गरेन भने जङ्गली नै हुन्छन् ।’
त्यो रातको खुटीको बासले मलाई के बुझ्न सहज गरायो भने ‘जीवन खोज्दै आसाम भासिएका नेपालीहरूले कुन हण्डर खेपेर गोठ पालेका रहेछन् ?’ आजको विकसित आसाममा त यो गति छ भने नागाहरू नाङ्गै नाच्ने अविकसित समयमा नेपालीहरूले केके खेपे होलान् भनेर आज केवल अनुमान मात्र गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्