नेपालमा आजकल युवाहरुमा यस्तो ट्रेन्ड आएको छ, सके नेपालमा केही गर नसके नर्स बिहे गरेर बिदेश जाउ। न्याय नपाए गोर्खा जाउ भन्ने उखानलाई परिणत गरेर गरि खान नसके नर्ससंग डिपेनडेन्टमा अष्ट्रेलिया जाउ भन्ने अवस्था सृजना भइसक्यो। साच्चै हामी नर्स बिदेशीने माध्यम मात्र हौ त? हरेक बर्ष नेपालमा २५ लाख युवाहरू बिदेशीने गर्छन् जसमध्ये पाश्चात्य मुलुक जानेमा नर्सको सङ्ख्या अझ बढी छ। नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल जम्मा ५४ हजार सात सय भन्दा बढी रजिस्टर्ड नर्स छन् र ३३,२१३ अनमी छन् जसमध्ये २००२ देखी २०११ सम्म ३४६१ नर्स बिदेशीएका छन् भने बिदेशीने क्रम बढ्दै २०११ देखी २०१३ सम्ममा ४१५५ पुगेको छ। नेपाल छोड्नु नर्सको रहर हैन बाध्यता हो। १०-१५ लाख सम्म खर्च गरेर पढेका नर्सहरू काम गर्ने क्रममा महिनामा त्यसको १% पनि नपुग्ने तलब थाप्छन् त्यो पनि प्राइभेट अस्पतालमा सर्टिफिकेट बन्दकी राखेर। राम्रो भए डाक्टरलाई ताली हैन भने नर्सलाई गाली गर्ने त नेपालीहरूको चलन नै छ।
नेपालमै अझ अगाडी पढ्नु परे एक्सपेरिएन्स चाहिने र एक्सपेरियन्सकै लागि भए पनि हस्पिटलहरूलाई जिउ हजूर गर्नुपर्ने। मध्यम वर्गिय परिवारबाट नर्स पढ्दा पढाईकै खर्च उपर गर्न नसकिने र बिदेश जानका लागी थप खर्च, त्यहा रहदा बस्दाको समस्या हुने भएको हुदा अरूमा डिपेनडेन्ट हुन पुग्छन्। यो उनिहरूको बाध्यता हो। यस कारणले गर्दा नर्स बिदेशीनकै लागि पढिने विषय हो भन्ने छाप नेपाली समाजमा परेको छ। " नर्स हैन? किन नेपाल बसेकी?" "डिपेनडेन्टमा जान्छौ त मसंग?" नर्स हो भने जो कोही पनि यी प्रश्नहरूसंग परिचित छन्। नर्सिङ नाम जति सहज सुनिन्छ त्यति सहज छैन। सहनसिलता, कडा मिहेनत, कम पारिश्रमीकमा चित्त बुझाउने र जोखिमपूर्ण काम गर्न सक्ने हिम्मत चाहिन्छ नर्स हुन। अझ त हाम्रो जस्तो बिकासउन्मुख मुलुकमा। यसको अर्थ बिदेशका नर्सले जोखिम लिनु पर्दैन भन्ने चै हैन। बिदेशमा पनि उति नै परिश्रम गर्नपर्छ फरक यति हो डलरको भाउ रूपैया भन्दा महङ्गो। बिदेशी पैसा नेपाली बनाउदा धेरै हुन्छ। के बिदेश गएका चै सबै नर्स सुखी छन्? अझ परिवारबाट पनि नर्स पढेपछि विदेश नै जान दवाब आउछ । यो कस्तो सामाजिक परिवेश सिर्जना हुदैछ नेपालमा ? नेपालको प्रोटोकलमा परिवर्तन कहिले? नेपाली नर्सका लागि अष्ट्रेलिया भए झै अरू विदेशीका लागी नेपाल कहिले ? यी प्रश्न बारे भने हामी नेपाली बिरलै सोच्छौ। नेपालको जनसङ्ख्या अनुसार २० हजारमा एक जना नर्स छन्, नर्स पढ्ने क्रम बढ्दो छ तर देशमा भने सङ्ख्या घट्दो छ। यसको जिम्मेवार को ? राज्य कहिले सम्म कुम्भकर्ण बनेर टुलुटुलु हेरिरहने मात्रै ?