रिक्सामा सुनेको त्यो कथा – सुरज सुवेदी

रिक्सामा सुनेको त्यो कथा – सुरज सुवेदी

बिराटनगरको गर्मी महिनाको एक दिन । रिक्सा चढेको छु । दिनको लगभग १ बजेको छ । मान्छे कमै हिँडेका छन् । बाटो बाफिएको छ । मैले नगरपालिकासम्म जाने भनेर ट्राफिक चौकबाट चढेको रिक्सा गुडिरहेको छ । मलाई रिक्सा चढ्न रमाइलो र अफ्ट्यारो दुईटै लाग्छ । रमाइलो किन भने बाटोमा दौडिँदा यसले दिने भाईब्रेसनले बाटोको अवस्था थाहा हुन्छ । बाटो कस्तो छ थाहा पाउनको लागि सबैभन्दा उत्तम चक्का रिक्साकै हुन्छ । दुखद् कुरा बाटो बनाउनेहरूले रिक्साको चक्काको भाइब्रेसन थाहा पाँउदैनन् । सँगै थाहा हुन्छ रिक्सा पेल्नेको दुख ।
जति नयाँनँया प्रविधि आँउछ त्यो भाइब्रेसन थाहा नपाउने गरी गाडीमा स्प्रीङल हालिन्छ । मलाई स्प्रीङ भएका चिजहरू धेरै मन पर्दैनन् । उचाल्ने र पछार्ने काम डेन्जर हो । रिक्सा चढ्न किन पनि मन पनि पर्छ भने चालक सँगै आफूले पनि बाटो देखिन्छ । चालकले खाल्डोमा हाल्न लाग्यो भने सचेत भएर आफै उठिन्छ । गाडीहरूमा अगाडीको सिटमा बसे मात्र हो नत्र पाइन्न । अगाडी नदेखिने बाटोहरू त्यसै पनि खतरा हुन्छन् नै । त्यसमा पनि गति । रिक्सामा गति खुट्टामा सीमित हुन्छ । गति खुट्टाभन्दा बाहिर गयो भने जहिल्यै खतरा हुन्छ । दुर्घटनाहरूलाई हेर्नुहोस् न । म त्यसैले चढेको थिँए रिक्सामा । नत्र सिटी रिक्सा पनि आउन त आएको थियो ।

++++++

हामी जाँदै छौ ।
अकस्मात पछाडिबाट अर्को रिक्साले रिक्सामा सानो ठक्कर दियो । कसैले दुर्घटना गराए जस्तो लागेको थियो । अगिल्लो अनुच्छेदमा मात्र दुर्घटनाको कुरा गरेको थिँए । धन्न हैन रहेछ । ठक्कर दिनेतिर हेर्दै रिक्सा चालक दाइले ‘कि छे रे काका’ भनेपछि बुझे उनीहरू आपसमा चिनेका मानिस रहेछन् ।
चिनेको मान्छेले चलेको वा जिस्केको कुरा कति सजिलै थाहा हुन्छ । बाटोमा कहिलेकाँही कुकुरले खेल्ने फ्रेण्डली फाइट जस्तो । एक अर्कालाई टोकेर मार्छ जस्तो लाग्ने तर नमार्ने । मिल्ने साथीहरूसँग चल्नुको मजा अर्कै हुन्छ । उनीहरूको भेट भएपछि त्यस्तै रमाइलो देखियो । एकछिनसम्म छेडछाड गरेर उनीहरू चल्दै गए । कसैले ओभरटेक गर्ने त कसैले जानिजानि रिक्सामा ठोक्काइदिने । मलाई पनि रमाइलो लाग्यो । प्लस टु पढ्दा साइकल कुदाएर रमाइलो गर्दै साथीहरूसँग तालतलैया गएको याद भयो । विश्व आदर्श क्याम्पस संझिँए ।

‘बुढो मान्छे भएर के चलिराको होला?’ मेरो रिक्सा चलाउने दाइले पेले ।
‘खुदको देख’ उताबाट रिप्लाइ आयो ।
हुन त पछाडिबाट धकेल्ने दाइ अलिक बुढा देखिन्थे । तर उनले कन्फिडेन्सको साथ अर्कोलाई बुढो भनेर पेलेको सुनेर मज्जा लाग्यो । हाँसे ।

++++++

उनीहरूको घर नजिकै रहेछ । छिमेकी । दाइले भन्दै गए बुढा सारै कमेडी गर्छन् रे । घर पुगेपछि सबैलाई हँसाएको हँसाइ गर्छन् रे । अनुहार झट्ट हेर्दा हँसाउनेजस्ता नभएपनि उनी काफि रमाइला लागे मलाई पनि । दाइले सुनाउँदै गए । उनको बारेमा धेरै किस्सा रहेछन् ।

एकपल्ट उनी हाटखोलाको पुल बाट बिराटनगर आँउदै रहेछन् । त्यहाँ थोरै ओरालो छ अनि त्यसपछि कारागार र त्यसैमा सशस्त्रको क्याम्प छिर्ने गेट छ । उनले रिक्सामा सामान हालेका रहेछन् । मान्छे पनि अलिक मोटोनै बसेका रहेछन् ।
पुल तरेर ओरालो लाग्नेबेलामा एकथोक खुत्रुक्क झरेछ । उनले के भनेर हेर्दा थाहा पाएछन् ब्रेक भाँचिएर झरेको रहेछ । त्यसबेलासम्म रिक्सा ओरालो लाग्न थालिसकेको रहेछ । अनि त के चाहियो । सामान लोड गरेको र ब्रेक नलाग्ने भएको रिक्सा । ओरालोमा र त्यो पनि हाटखोलाको व्यस्त बजारतिर जाँदै गरेको । बुढा आत्तिएछन् । के गर्ने भन्ने निर्णय गर्न गाह्रो भएछ ।
‘अनि के गरे त? बुढाले लडाए ?’ मैले सोधेँ ।
‘सुन्नु न कुरो बाँकीनै छ ।’ दाइले भने र फेरी सुनाउन थाले ।
संयोगले क्याम्पको गेट खुल्लानै रहेछ । उनले त रिक्सालाई मोडेर सिधै क्याम्पभित्र हालेछन् । बिना कुनै सूचना सामान बोकेको रिक्सा भित्र छिरेको देखेर सशस्त्र पनि सावधान भएछन् । उनको रिक्सा त सिधै क्याम्पभित्र पुगेर पर गएर रोकिएछ । सशस्त्रले के गरेको यो भन्दै केरकार गरेछन् । उनले कारण भनेपछि सबै जना हाँसेछन् । ‘रमाइलो गर्ने मान्छेलाई दुर्घटना पनि रमाइलो नै हुने रहेछ।’ दाइ हाँसे । हामी जाँदै थियौ । हामीलाई जितेर गएका बुढा अलिक पर पुगिसकेका थिए ।
अतिथि सदन नजिकै पुगेपछि उनी रोकिए । हामी अगाडी बढ्यौ । मैले बुढालाई फर्किएर हेरेँ । उनी गम्छाले मुख पुछ्दै थिए । उनको अनुहार देख्नासाथ दाइले सुनाएको घटना याद आयो । म फेरी हाँसेँ ।

++++++

बाटोमा हिँड्दा बोलचाल गर्न त्यसैले पनि मलाई मन पर्छ । नत्र भने यति मिठो र रमाइलो घटना म कहाँ सुन्न पाँउथे । त्यही घटनालाई यसरी लेख्न कहाँ पाँउथेँ । तपाईँले पनि त पढ्न पाउनुहुन्नथ्यो नि । त्यसैले अब देखि कतै जाँदा सबैसँग बोल्नुहोस् है ।

Suraj Subedi
Twitter: @skyasesh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्