अमेरिकामा नेपाली छुर्पीको छुट्टै ‘ब्राण्ड’ बन्दै

अमेरिकामा नेपाली छुर्पीको छुट्टै ‘ब्राण्ड’ बन्दै

राजु शिवा, पशुपतिनगर, पुस १३ गते । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्राण्ड बनाउन थालेको छ ।
दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर्सेनि बढ्दो छ ।
कुकुरको आहाराका लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाउ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन । इलामका विभिन्न गाउँका गोठबाट छुर्पी सङ्कलन गर्दै आउनुभएका जमुनाका केवल राई यहाँको छुर्पी पोषिलो र स्वादिलो हुने गरेका कारण माग बर्सेनि बढिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘यसको माग बढ्न थालेपछि किसानले पहिलाभन्दा बढी मूल्य पनि पाइरहेका छन् । ’
अमेरिकामा अहिले वार्षिक चार लाख किलो नेपाली छुर्पीको माग भए पनि नेपालले दुई लाख किलो मात्रै निर्यात गर्न सकेको निर्यातकर्ताले जनाएका छन् । ‘अहिले वार्षिक चार लाख किलोभन्दा बढी नेपाली छुर्पीको माग छ’, अमेरिकामा छुर्पी निर्यात गर्दै आएको हिमालयन कर्पोरेसनका सुजन श्रेष्ठले भन्नुभयोे– ‘मागको तुलनामा आधा मात्र पु¥याउन सकेका छौँ । ’ ‘हिमालयन डग ट्यु’ को ब्राण्डमा नेपाली छुर्पी अमेरिकालगायतका देशमा निर्यात हुन थालेपछि उत्पादकले समेत राम्रो मूल्य पाइरहेका छन् । १० वर्षदेखि मुख्य गरी अमेरिका, क्यानडा, मेक्सीको, जापानलगायतका देशमा कुकुरको आहाराका लागि नेपाली छुर्पी निर्यात हुँदै आएको छ ।

‘अन्य देशममा समेत गरेर सात लाख किलो जति छुर्पीको माग छ’, निर्यातकर्ता श्रेष्ठ भन्नुभयो–‘अहिलेसम्म चार लाख किलो छुर्पी गइरहेको छ । ’ माग पूरा गर्न नसकेपछि हिमालयन कर्पोरेसनले युरोपियन देशहरूमा अहिले छुर्पी निर्यात गर्न नसकेको उहाँले जानकारी दिनुभयो । इलामको पूर्वी क्षेत्रबाट कुकुरको आहाराका रूपमा छुर्पी विदेश निर्यात भइरहेको छ । इलाम, तेह्रथुम र ताप्लेजुङका साना उद्योगमा उत्पादन भएको छुर्पी सङ्कलन गरेर ग्रेडिङ गरेपछि विदेश निर्यात हुने गरेको छ । निर्यातकर्ताले ग्रेडिङको आधारमा चार सय रुपियाँदेखि साढे सात सय रुपियाँ प्रतिकिलोका दरले किनेर छुर्पी निर्यात गर्ने गरेका छन् ।
‘गुणस्तर र एकै साइजको छुर्पी नबन्दा निर्यात पूरा गर्न नसकेका हौँ’–निर्यातकर्ता श्रेष्ठ भन्नुहुन्छ– ‘राम्रो बनाउन सक्ने हो भने नेपाली छुर्पीको ब्राण्ड स्थापित भइसकेको छ । ’ अमेरिकाको माग पूरा गर्नका लागि बाँकी छुर्पी त्यही (अमेरिकामा) नै उत्पादन सुरु भएको उहाँले जानकारी दिनुभयो । ‘अमेरिकामा नै कुकुरका लागि बर्सेनि दुई लाख किलो छुर्पी उत्पादन गर्दै आएका छौँ’– उहाँ भन्नुहुन्छ– ‘त्यहाँ उत्पादन गर्न सस्तो पर्छ तर, नेपालमा बनेको छुर्पीको माग नै बढी छ । ’
इलाममा मात्रै छुर्पी बनाउने एक सय एकवटा उद्योग छन् तर साना उद्योग मात्र भएकाले गुणस्तरको उत्पादन हुन सकेको छैन । प्रतिकिलो छुर्पी उत्पादनमा सरदर छ सय ५० रुपियाँ पर्ने एक अध्ययनले देखाएको छ । यहाँको कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको उन्नति कार्यक्रमले गरेको अध्ययन अनुसार प्रतिकिलो छुर्पीको उत्पादनमा छ सय ५० रुपियाँ लगानी लाग्ने उन्नतिका कृषि व्यवसायविज्ञ रुद्र बरालले जानकारी दिनुभएको छ । ‘एक किलो छुर्पी बनाउन सरदर २२ लिटर दूध लाग्छ’, उहाँले भन्नुभयोे– ‘तर एक किलो छुर्पी बनाउँदा एक किलो घ्यू पनि निस्किन्छ, त्यसबाट किसानलाई छुट्टै फाइदा हुन्छ । ’
बाहिरी बजारमा तीन सयदेखि चार सय रुपियाँको हाराहारीमा छुर्पी बिक्री हुने गरेको छ । क्रेताको मापदण्ड अनुसार उत्पादन गर्न सकिए छुर्पी विदेश निर्यात गरेर राम्रो कमाइ गर्न सकिने विज्ञ बराल बताउनुहुन्छ । ‘छुर्पीलाई अन्य उत्पादन जस्तै ठूलो परिमाणमा उत्पादन गरियो भने उत्पादन लागतसमेत घट्छ, बजार पनि विस्तार हुन्छ’– उहाँले भन्नुभयो–‘उत्पादन र निर्यात बढाउन त्यता ध्यान दिनुपर्छ । ’ इलाममा मात्रै सरदर दैनिक तीन लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादनको ५४ प्रतिशत मात्रै फ्रेस मिल्कमा बिक्री हुने गरेको उन्नतिले जनाएको छ । आधा जति दूध छुर्पी, चिज, ललिपप बनाइन्छ । इलाममा वार्षिक दुई सय सात मेट्रिक टन छुर्पी उत्पादन हुने गरेको छ ।
हिमालयन कर्पोरेसनले कुकुरका लागि चाहिने छुर्पी बनाउन अहिले उद्योग सञ्चालकलाई तालिम गराउँदै आएको छ । माग बढेपछि कुकुरको आहारामा छुर्पी निर्यातको काम अन्य व्यावसायिक कम्पनीले समेत थालेका छन् ।
नेपालमा उत्पादित छुर्पी अन्य देशको भन्दा स्वस्थ र गुणस्तरीय हुने गरेका कारण तेस्रो मुलुकका नागरिकको माग नेपाली उत्पादनतर्फ नै बढी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्