ईतिहास देखि वर्तमान समय सम्म पूर्वीय सभ्यताको बिकास क्रम हेर्दा प्राय सबै समुदायका महिला हरुले जन्मने बित्तिकै बंशजको आधारमा प्राप्त गरेको थर र जन्मदाताको पहिचान लाइ एक चिम्टी सिन्दुरको लागी मात्र परिवर्तन गरिरहे । बंसजले प्रदान गरेको पहिचान बिहे गरेर गए पछि श्रीमानको पहिचानमा बिलिन हुदा पनि त्यो नया नाम संग सिंगो आधा आकाश ढाकेको समुदाय हासी खुसी नै बाचेको देख्न पाइन्छ । तर उदेक लाग्दो कुरा के भने आफुले जन्म दिएको आधारमा आफुले हुर्काएको आधारमा र आफुले लालनपालन गरेको आधारमा अझ भनुन आफुले नौ महिना सम्म गर्भाधारण गरेको आधारमा मैले मेरी छोरीको नामको पछाडी मेरै थर राख्ने आशय ब्यक्त गर्दा आलोचनाको त्यत्ति बिधि बर्षा होला जस्तो लागेको थिएन ।
सामाजिक संजाल प्रयोगकर्ताको बिचारले सिंगो समाजको यथार्थता चित्रण गरिरहेको छ यदि भने अझै सम्म पनि हाम्रो समाज कस्तो पुरुष प्रधान सोच बाट ग्रसित छ भनेर एक पटक सोच्न बाध्य चाहि भईदोरहेछ । त्यस्ता खाले बिरोधाभाष देख्दा म अचम्मित त छैन किन भने हामी त्यै पृतृसत्तात्मक सोच भएको समाजमा हुर्किएका हौं, त्यै देखेका छौ, त्यही सिकेका छौ अनि त्यही चलनलाई सहि पनि ठानेका छौं। यदि पहिले कै प्रथा हो भनेर सहि मान्ने हो भने र सति प्रथा पनि सहि नै थियो होला, किन त्याग्यौँ त हामीले?
हर हमेसा एउटी महिला आफ्नो सन्तानको नामको पछाडी आफ्नो लोग्नेको थर जोडीडा खुशी हुन्छिन भने किन कुनै पुरुष आफ्ना सन्तानको नाममा आफ्नी श्रीमतीको थर जोडीडा खुशी हुन सक्दैन ? एकजना छुट्टै प्राणको अस्तित्व भएकी महिला जसलाई राज्यले बेग्लै नागरिकता प्रदान गरेर छुट्टै अस्तित्व प्रदान गरेको छ उसले आफ्नो सन्ततिलाई आफ्नो थर दिन चाहानु कुन अर्थमा गलत हुन जान्छ ? बाउ को थर योग्य र आमाको थर अयोग्य भनेर कुन धर्म शास्त्रमा लेखिएको छ र आखिर ?
पुरुषहरु यस्ता मामलालाई सजिलोसंग पचाउन सक्दैनन् किन कि उनीहरुको अभिमान र पुरुषार्थमा यसले चोट पुर्याउछ । पुरुष हुनुको दम्भ माथि प्राहार हुन जान्छ त्यसैले यो संसारको कुनै पुरुष होला सायद जो आफ्नो सन्तानको नामको पछाडी श्रीमतीको थर जोडिएको हेरेर खुशी हुन सकोस । अस्तित्व बराबरीको कुरा गर्छौं हामी तर कहिल्यै कुनै पुरुष ले घोषणा गरेको छ दुइ सन्तानमा एक सन्तानको थर बाबुको र एक सन्तानको थर आमाको राखौं भनेर ? अहँ त्यो हुन सक्दैन किनकि पुरुषबादी संकीर्ण सोचले त्यो हुन दिदैन र जति सुकै ठुलो महिला अधिकार वादी पुरुष पनि यो मोड मा आइपुगेपछि नराम्रो संग चिप्लिन पुग्छ ।
रह्यो मेरो प्रसङ्ग बच्चाको सम्पुर्ण जिम्मेवारी आफुले लिएर श्रीमान् संग नचाहादा नचाहिदै अलग्गिएकी एक सानी बच्चिकि आमाको आफ्नो बच्चालाई आफ्नै नाम दिने सोचलाई गलत सोच्ने मानसिकतालाई मेरो प्रश्न एउटा प्रश्न के छ भने –के बिर्यदान गर्नु या कसैलाई गर्भिणी तुल्याउनु मात्र बाबु बन्नु हो ? एक पूर्ण बाबु जसले आफ्नो सन्तानको पछाडी आफ्नो थर जोड्न चाहान्छ यदि भने उसको बच्चा जन्मेपछिका हरेक जिम्मेवारी पनि बराबर निर्वाह गर्नु पर्दैन ? पर्दैन र जे गरेपनि जसो गरेपनि जति बेपरवाह भएपनि या जति गैह्र जिम्मेवार भएपनि सम्पूर्ण रुपमा बाबु हुने एकछत्र अधिकार भगवानले प्रदान गरेका हुन् र त्यो फेर्न नमिल्ने अकाट्य हो भने मेरो भन्नु केहि छैन तर यदि त्यसो होइन भने बच्चा जन्माउन हुर्काउन र खुट्टा टेकाउन जसले रगत पसिना बगाउछ थर उसैको लेखिनु पर्दछ ।
अब म एउटा कुराको जवाफ खोजिरहेछु, अहिलेको यो अवस्थामा मैले आफ्नो बच्चालाई आफ्नो नाम दिन खोज्नु गलत हो र ? मलाइ असाध्य दु:ख त झन् केही महिला मित्रको कमेन्ट पढ्दा लाग्यो। सोचिरहेछु महिला हरु किन आफ्नो प्राणको बेग्लै अस्तित्व छ र आफुले छुट्टै स्वास फेरिरहेछु भन्ने बुझ्दैनन् र जति सुकै अन्याय परेपनि सहेर बस्नु पर्ने सल्लाह दिन्छन ? आफ्नै आस्तित्वलाई आफै स्विकार्न नसकेको जस्तो आभाष हुनेगरी सामाजिक संजालमा प्रस्तुत हुनुहुने महिला मित्र हरुको यस्तै सोचले आज सम्म पनि घरमा एउटि छोरी जन्मिएर अर्कि सन्तान पनि छोरी जन्मदा नाक खुम्चिन्छ हाम्रो समाजमा ! कति आमा हरुले गर्भमा छोरी भएकै कारण भ्रुण हत्या गरेर छोरा जन्माउन प्रयाश गर्नुहुन्छ र आफ्नै स्वास्थ्य माथि खेलवाड गर्नुहुन्छ ।
तेस्रो या चौथो सन्तान त छोरा होलाकी भन्ने आशाले छोरी पेटमा रहेका हुदा गर्भमै कैंची चलाउन राजि हुने दिदीबहिनी हरुले पुरुषले गरेको अन्याय पनि परमेश्वर ले गरेको कृपा सरह मान्नुहुन्छ । मैले छिमेक मै देखेकी छु कति महिला हरु दिनहु लात्तिको गोदाई पनि खानुहुन्छ र त्यहि लात्ती धोएर जल पनि खानुहुन्छ । देश जतिसुकै भौतिक बिकाशको उचाईमा पुगोस या बराबरी अधिकार लाइ व्याख्या गर्ने जतिसुकै कानुन बनुन र महिला हरुलाई जतिसुकै महत्वपुर्ण अवसरहरु दिएता पनि महिला हरुको बिबेक परिवर्तन नभए सम्म, बराबरीको चेतानाको बिकाश आत्मी देखि नभए सम्म र महिला हरुले वंश धान्न छोरो जन्माउने अभिलाषा पालिरहे सम्म यो समाजमा नारी-पुरुष बराबरी भएको देख्न पाइने छैन ।
बंश बढाउने र पिन्ड चढाउने खेलले गर्दा हामी सधैं हारेका छौ ! म मेरो छोरिलाई मेरो नाम उसको बाबु संग छुट्नु परेको कारणले मात्र दिन लागेकी होइन, म मेरो आमाको बुवाको बंशजको नाता मेरी छोरीमा सार्न चाहान्छु ..त्यो अधिकार छ कि छैन ??
कोख मेरो, काख मेरो, खुन मेरो, दूध मेरो, दुख मेरो सुख पनि मेरो र अबका दिनबाट सम्पुर्ण जिम्मेवारी मेरो... ओत लाग्ने छत मेरो, घर मेरो तर... जन्मदर्ता गर्ने बेलामा थर किन अर्कैको ?