गरिखानेको कथा : झापाको गौरादहमा बेमौसमी अर्गानिक तरकारी खेतीमा जम्दै किसान

गरिखानेको कथा : झापाको गौरादहमा बेमौसमी अर्गानिक तरकारी खेतीमा जम्दै किसान

टीकाराम उप्रेती

गौरादह, चैत १९ गते । तराईमा बन्दाकोपी फल्ने मौसम गइसकेको छ । यहाँका अधिकांशका खेतमा अहिले चैते धान तथा मकै बालीले ढाकेको छ तर झापाको गौरादह ४ धरधरे निवासी गायत्रा घिमिरेको खेतमा भने अहिले बन्दाकोपीले भरिएको छ । बन्दाकोपी मात्र होइन उहाँको खेतमा अहिले बेमौसमी तरकारी लोभलाग्दो गरी फलेका छन् । कुनै तरकारी समयअघि नै फलाउनुभएको छ भने कुनै मौसम गएपछिका छन् ।

खेतमा बेमौसमी बन्दाकोपी, टमाटर, फर्सी, लौका, बोडीलगायतका तरकारी बाली लगाइएको छ । यसरी लगाएको बेमौसमी तरकारी खेती पूर्ण रूपमा अर्गानिकसमेत रहेको दाबी छ । यस्तै तरकारी खेतीबाट एकपटकमा नै झन्डै डेढ लाख रुपयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।bemausam
चार वर्षदेखि आफ्नो खेतबारीमा रासायनिक विषादीको प्रयोग बन्द गरिएको जानकारी दिँदै घिमिरेले भन्नुभयो, यस्ता तरकारीको भाउ पनि राम्रो हुन्छ । मानिसको स्वास्थ्यमा समेत लाभदायक छ । खेतीका लागि घरमा नै विभिन्न जैविक वस्तु मिसाएर जैविक विषादी मात्र प्रयोग गर्दै आएको उहाँको दाबी छ । खेतमा तरकारी जसरी फलेजस्तै गायत्राको जाँगरसमेत सबै किसानलाई उत्साहित बनाउने खालको छ । चैतको टन्टलापुर घाममा पनि बारीमा बन्दाकोपी गोडिरहनुभएकी घिमिरे भन्नुहुन्छ, केही अघिसम्म बन्दाकोपी नबिकेर धेरै किसानले गाईबस्तुलाई खोले पकाएर दिएकी थिएँ । बिक्री भएका तरकारीको समेत उचित मूल्य पाइएको थिएन तर अहिले अर्गानिक बेमौसमी तरकारी खेती गर्न थालेपछि यस्तो कुनै समस्या आएको छैन ।

उहाँ मात्र होइन सोही स्थानका तिलक घिमिरेले समेत बेमौसमी अर्गानिक खेती गर्नुभएको छ । उहाँले सात कट्ठा जग्गामा तरकारी खेती लगाउनुभएको छ । उहाँहरू जस्तै धेरै जना किसान मिलेर सोही स्थानमा एक बिघा क्षेत्रमा सामूहिक बेमौसमी अर्गानिक तरकारी खेती सुरु गरिएको घिमिरेको भनाइ छ । हामीले बिक्री गर्न बजारमा समेत लानु पर्दैन ।
खेतमा नै आएर राम्रो मूल्यमा बिक्री गर्न पाइरहेका छौँ, अर्का स्थानीय किसान पुण्य घिमिरेले भन्नुभयो । केही अघिसम्म बजारमा १० रुपयाँ प्रतिकेजीमा समेत बन्दाकोपी बिक्री भएको थिएन तर हामीले २५ देखि ३० रुपियाँ प्रतिकेजीका दरले खेतबाट नै बिक्री गरिरहेका छन् । अन्य तरकारीको दामसमेत अन्य सिजनको भन्दा झन्डै दुई गुणा बढी मूल्य किसानले नै पाइरहेका छन् । खेतीमा कीराको प्रकोप नियन्त्रण गर्न विभिन्न उपायसमेत अपनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्