गरिखानेको कथा : मोरङको लेटाङका शेरबहादुर कपाल काटेरै मनग्गे आम्दानी गर्दै

गरिखानेको कथा : मोरङको लेटाङका शेरबहादुर कपाल काटेरै मनग्गे आम्दानी गर्दै

भूमिका पाख्रिन

लेटाङ मेहनत र लगनशील भएर काम गर्न हो भने विदेशिनु पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् शेरबहादुर माकिम मगर । वि.सं. २०३४ सालमा पिता बलबहादुर माकिम र माता माया माकिमको कोखबाट मोरङको लेटाङमा जन्मिएका शेर बहादुर माकिम मगर हाल आफ्नै पेशा व्यवसायबाट आफ्नै ठाँउमा उदाहरणका पात्र बनेका छन् । केही समय अघिसम्म कुनै जात विशेषमा सिमित रहेको सैलुन व्यवसायमा हाल हरेक वर्ग समुदाय वा जातजातीको संलग्नता रहेको पाइन्छ । लाफा सैलुनका सञ्चालक उनै शेरबहादुर माकिम मगर दैनिक सयौका कपाल छोट्याउछन् त कतिको कपाल रङ्याउने काम गर्दछन् । एक श्रीमती एक छोरी लगायत उनी संयुक्त परिवारमा बस्छन् ।

कक्षा ४ सम्म मात्रै अध्ययन गरेका मगर पारिवारिक अवस्था खासै राम्रो नभएपछि उनी वि.सं. २०५८ सालमा खाडी मुलुक कतार हानिए । कन्स्ट्रक्सनको काम कम्ता गाह्रो हैन, – “उनी आफ्नो अनुभव सुनाउदै थिए । ” ज्यालापनि निक्कै कम – उनले थपे । करीब ३ वर्ष कतार बसेर उनी स्वदेश फर्किए र म्यानपावरमा एजेन्टका रुपमा काम गरे । केही समय काम गरेपश्चात उनलाई त्यो पेशा ठिक लागेन र घरमै कृषि पेशामा संलग्न भए । परम्परागत रुपमा खेतीपातीका कामले खान लाउन कठिन हुँदै गयो । त्यतिकैमा उनले लेटाङ बजारमा सैलुन सञ्चालन गरिरहेका राम ठाकुरसँग मिलेर प्रतिशतका आधारमा व्यवसाय सूरु गरे । त्यसो त त्यस समयअघि मगरले गाँउमा छरछिमेकमा साथीभाईका केश नकाटेका भने हैनन् । डेढदशक भन्दाबढी समय संगै काम गरिसकेपछि मगर पर्फेक्ट मात्र भएनन् ग्राहकपनि थुप्रै कमाए । आम्दानी समेत राम्रै हुने भएकाले उनले एकल रुपमा व्यवसाय सूरु गर्ने निधो गरे ।

लगत्तै उनले रु. एक लाखबाट सैलुनपनि सञ्चालनमा ल्याए । वि.सं. २०७० सालमा उनले एकल व्यवसाय सञ्चालन गर्दा पहिलो पटक उनलाई देख्नेहरु उनले कपाल काटेको अनौठो रुपमा हेरी बस्थे – उनी विगत सम्झन्छन् । त्यसभन्दा अघि लेटाङमा सैलुन नै सञ्चालन गरी जाती विशेषले मात्र केश काट्ने गर्दथे । त्यसो त एक व्यक्तिले मात्र व्यवसायलाई अगाडि बढाएको देखिएतापनि मगरलाई हरपल साथदिन उनको परिवारको भूमिका पनि कम्ता छैन । पारिवारिक सर्पोटका कारणले नै यो सफलता पाएकोमा उनी दंग छन् । सैलुनका लागी कोठा भाडामा लिएका छन्, एक जनालाई रोजगारी समेत दिएका छन् । “सबै खर्च कटाएर केश काटेरै मासिक साठी देखि सत्तरी हजार आम्दानी गर्छु” – उनी गर्वसाथ सुनाउछन् । मेहेनत गर्ने हो भने सैलुनमात्र हैन जुनसुकै सीप सिकेर स्वदेशमै व्यवसाय सञ्चालन गर्नसके आम्दानी यहि छ भन्ने उनको धारणा छ ।

“परिवारसँग बस्न पाएको छु, छोरीलाई निजी स्कुलमा पढाएको छु, यहि पेशाको कमाईले अढाई तले घर बनाएकोछु” – उनी आफ्ना मेहेनत, परिश्रमले यी कुरा सम्भव भएको कुरा बताउन पछि पर्दैनन् । अर्को शाखापनि सञ्चालनमा ल्याउने तयारी गर्दैछु – उनले थपे । त्यसो त उनको खटाईपनि कम छैन । मंगलबारबाहेक विहान ६.३० बाट बेलुका ८ बजेसम्म सैलुनमै हुन्छ्न । केश काट्ने काम मात्र नभई रंग लगाउने, दारी काट्ने, फेसवास, क्लिन्जीङ लगायतको सेवापनि उनको सैलुनमा उपलब्ध छ । १ जना बराबार दारी काटेको ४०, केश काटेको ५० लिन्छु – उनी भन्दै थिए । लाफा सैलुन नामले परिचित उनको सैलुनमा बच्चा देखि वृद्ध सम्म आउने गरेको उनी बताउँछन् । त्यसो त उनलाई शेरबहादुर भनेर चिन्ने कमै छन् । “सबैले लाफा भन्नु हुन्छ” – उनी हाँस्दै थिए । मानौ उनको नामै लाफा हो । लाफा अर्थात मगर भाषामा साथी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner