विराटनगरमा कोरोना संक्रमितको दैनिकी :अस्पतालमै कुरान र जनेमाज, होटलबाट मगाइएको खाना

विराटनगरमा कोरोना संक्रमितको दैनिकी :अस्पतालमै कुरान र जनेमाज, होटलबाट मगाइएको खाना

नवराज कट्टेल

विराटनगर, बैशाख ९ गते । कोरोना भाइरस संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत १३ जनालाई आइसोलेशनमै नमाज पढ्ने सुविधादेखि कुरान (इस्लाम धर्मालम्बीको धर्मग्रन्थ) उपलब्ध गराइएको छ ।
इस्लाम धर्मालम्बी दुई नेपाली र ११ जना भारतीय नागरिक कोरोना संक्रमित भए पनि स्वास्थ्य अवस्था अति सामान्य रहेपछि आइसोलेशनमै कुरान मगाएर पढ्ने ईच्छा व्यक्त गरे पछि सो सुविधा उपलब्ध गराइएको हो ।
कोशीको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका सबै नागरिक मुस्लिम समुदायको मात्रै रहनु भएको छ । उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदबाट शनिबार ल्याएर उहाँहरुलाई अस्पतालमा भर्ना गरिएको हो ।
आइसोलेशनमा समान धर्म र संस्कार मान्ने समुदाय रहेका कारण बिहानदेखि बेलुकासम्म गरिने दैनिक संस्कार अंगाल्न समेत समस्या देखिएको छैन ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राका अनुसार आइतबार कुरान उपलब्ध गराईदिन आग्रह गरिएको थियो । मैले बाहिर अन्य साथीहरुसँग कुरा गरेर कुरान, जनेमाज (नमाज पढ्दा बस्ने) र कपी उपलब्ध गराई दिइएको छु, मेसु मिश्राले भन्नुभयो–उहाँहरुले कुनै समस्या र असुविधा महसुश गर्नु भएको छैन ।
अस्पतालले एक थान कुरान उपलब्ध गराई दिएपछि इमाम (कुरान पढ्ने मुख्यकर्ता) ले पढ्ने र अन्यले सुनेर लेख्ने गर्दै आउनु भएको हो । अस्पतालमा राखिएका सबै खुशी हुनुहुन्छ, मेसु मिश्राले भन्नुभयो–चिकित्सक र विरामीबीचको सम्बन्धले अझै मनोबल उच्च बनाउनु जरुरी छ । चिकित्सक सबैका लागि उतिकै हुने भएपनि विदेशी नागरिकहरु रहेका कारण कुनै असुविधा कमी हुन नदिनु सबैको कर्तव्य हुने डा.मिश्राको भनाई छ ।

भर्ना गरिएका बिरामीका लागि सामाजिक विकास मन्त्रालयले खानासहित अन्य आवश्यक सामाग्रीको प्रवन्ध मिलाउँदै आएको छ । अस्पतालको व्यवस्थापन तथा समन्वय प्रमुख सागर प्रसाँईले अहिले होटलबाट विरामीका लागि खाना तयार गरेर ल्याउने गरिएकोे बताउनुभयो । प्याकेजिङ गरेर ल्याईएको खाना खाईसकेपछि भाँडा वर्तन तत्काल बाहिर निकालरे नष्ट गरिदैं आएको छ ।

अस्पतालमा भर्ना भएका विरामीहरुलाई चिकित्सकले दिइएको सुझावका आधारमा खाना उपलब्ध गराईने गरिएको छ । यस्तो बखत कस्तो खानेकुरा खाने भन्ने कुरालाई मध्यनजर राखेर खानेकुराहरु उपलब्ध गराउँदै आएका छौं, प्रसाँईले भन्नुभयो–सन्तुलित आहारमा ध्यान दिएका छौं ।

अस्पतालको आइसोलेशनमा बस्ने विरामीहरुले दैनिक व्यक्तिगत रुपमा गर्ने सरसफाई पूरा गर्दै आएका छन् । संक्रमण भएको महसुश विरामीले नगर्दासम्म हामीले जतिसक्दो सहजीकरण गर्न जरुरी छ, मेसु मिश्राले भन्नुभयो–त्यस बाहेक अन्य स्वास्थ्य अवस्थाको विषयमा पनि ख्याल राखिरहेका छौं ।
अस्पतालमा भर्ना भएका १३ जनाकै सोमबार परीक्षणका लागि रगतको नमूना संकलन गरिएको छ । अन्य कुनै इन्फेक्सन छ वा छैन भनेर हामीले रगतको नमूना लिइएका हौं, मेसु मिश्राले भन्नुभयो–यसको थप जानकारी पछि आउँछ ।

-गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्