कोरोना नियन्त्रणमा सुरक्षाका चारवटै संयन्त्र परिचालन

कोरोना नियन्त्रणमा सुरक्षाका चारवटै संयन्त्र परिचालन

विराटनगर । प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानलाई समन्वयात्मक रुपमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका क्रममा परिचालन गरेको छ ।
प्रदेश १ सरकारबाट कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी अहिलेसम्म गरेका कार्यको सार्वजानिक प्रतिवेदनमा चारवटै सुरक्षा सयन्त्रलाई परिचालन गरिएको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सार्वजानिक गरेको प्रतिवेदनमा नेपाली सेनाले मापदण्ड पूरा भएको क्वारेन्टीन तथा होल्डिङ एरिया र आईसोलेशन अस्पतालको सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ । यसैगरी औषधी तथा सामाग्री ढुवानी तथा भण्डारण सुरक्षा, विदेशबाट आउनेलाई यात्रा सहजीकरण, कन्ट्याक्ट ट्रेसिङ तथा नमूना संकलनमा सहयोग, शव व्यवस्थापन र सुरक्षा नेपाली सेनाले गर्दै आएको हो ।

नेपाल प्रहरीलाई प्रचारप्रसार, बन्दाबन्दी कार्यन्वयन, कालो बजारी नियन्त्रण, प्रदेशमा आउने नागरिकका लागि प्रवेश सहजीकरण, सीमा नाकाबाट हुने अवैध प्रवेश रोक, राहत वितरणमा समन्वय, अत्वाश्यक वस्तुको आपूर्ति सहजीकरण, होम क्वारेन्टीनमा बसेकाहरुको अनुगमन र निरिक्षण, नमूनालाई एक ठाउँबाट अर्को स्थानमा लैजानका लागि सहयोगको कार्यमा खटाइएको छ ।

सशस्त्र प्रहरी बलले अन्तराष्ट्रिय सीमानाकामा २६ वटा बिओपी र नोमेन्स लेण्डमा २८८ स्थानमा अस्थायी तैनाथी राखेको छ । सीमा अनुगमन तथा अनधिकृत प्रवेशमा रोक, राजमार्ग सुरक्षा तथा स्कटिङ र आन्तरिक सुरक्षामा स्थानीय प्रशासनलाई सहयोगको जिम्मेवारीमा परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धानलाई बन्दाबन्दीको अवस्था र परिस्थितिको सूचना संकलन तथा क्वारेन्टीन, आईशोलेशन र होल्डिङ एरियाको सूचना संकलनको जिम्मेवारीमा खटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्