विराटनगरमा अध्यक्ष ओलीलाई देवत्वकरण नगर्न माग गर्दै प्रदर्शन

विराटनगरमा अध्यक्ष ओलीलाई देवत्वकरण नगर्न माग गर्दै प्रदर्शन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने शैलीमा प्रदर्शन गर्नेमाथि कारवाहीको माग गरिएको छ ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले स्वतन्त्र नागरिकको भेषमा प्रदर्शन गरिरहेका छन् । अन्य नेताहरुलाई भारतीय दलाल भएको भन्दै विराटनगरमा समेत प्रदर्शन गरेका पूर्व युवा संघ तथा अखिलका विद्यार्थी नेताहरुसहित पार्टीकै जिम्मेवार प्रदेश सदस्यहरुको सहभागीता रहेपछि अर्को पक्षले कारवाहीको माग गरेको हो ।


त्यसरी पार्टी तथा आन्दोलनलाई भाँड्ने, कसैलाई देवत्वकरण गर्ने शैलीको प्रदर्शनलाई पूर्ण रुपमा रोक लगाउनु पर्ने र राजनीतिक हर्कतमा उत्रनेलाई कारबाहीको माग गर्दै शनिबार मोरङको नेकपा पार्टी कार्यालय पाञ्चालिमा धर्ना दिइएको हो ।
विराटनगरमा शुक्रबार गरिएको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाललगायतका नेतालाई गाली गलौज गरिएको थियो । त्यसपछि प्रचण्ड र माधवनेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब दिएका हुन् ।
पार्टी नेताहरुलाई दबाब दिँदै अनेरास्ववियूका नेता ओसिम आलम, युवा संघका नेता इश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारीलगायतको नेतृत्वमा ५० भन्दा बढी युवाहरु पार्टी कार्यालयमा भेला भएका हुन् ।
विद्यार्थी नेता ओसिम आलमले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरु पनि केपी ओलीको राजिनामा माग्दै सडकमा आउन बाध्य हुने चेतावनी दिइएका छन् । नाराबाजी, जुलुस गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै आलमले पार्टी फुटाउन नेताहरुलाई उत्तेजित पार्ने र व्यक्तिको पछि लागेर विधि र पद्धतीलाई मिच्ने काम सच्चा कम्यूनिष्ट पार्टीको सदस्यहरुले रुचाउँदैनन् ।


यस्तै युवा संघका नेता इश्वरी आचार्यले प्रचण्ड या माधव नेपाल लगायतका नेतालाई बद्नाम गर्नेगरी भइरहेको गतिविधि नरोकिए आफूहरु पनि व्यानर लिएर सडकमा निस्कने बताएका छन् । आन्दोलनले जन्माएका नेताको बद्नाम गरेर एकलौटी र एकमना ढंगले चल्ने योजना गलत रहेको आचार्यको भनाई थियो । उनले सडकमा उत्रनका लागि प्रतिस्पर्धा गर्नु परे आफूहरु समेत पछि नपर्ने बताएका थिए ।
युवा तथा विद्यार्थी नेताहरुको मन्तव्य पछि मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताएका छन् । स्वतन्त्रको नाममा सडकमा आन्दोलन गर्नेको पार्टी सदस्यता जरुरी नहरेको नेता पोखरेलको धारणा थियो ।

पोखरेलले पार्टी फुटको इतिहास देखिएको भन्दै फुटाउनेलाई कुनै पनि हालतमा फाइदा नहुने भएकोले विवादलाई हल गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाएका थिए । नेताहरुको प्रतिबद्धता पछि युवा तथा विद्यार्थीहरुले पार्टी कार्यालयमै केहीबेर धर्ना दिएका थिए । उनीहरुले आजलाई र भोलीलाई, व्यक्तिलाई होइन विधिलाई, नेपाल कम्युनिष्ट पार्टीको नीतिलाई, आइएम विथ नेकपाजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्