विराटनगरमा संक्रमितको मृत्यु भएपछि मात्रै उपचार तयारीमा प्रदेश सरकारको ध्यान

विराटनगरमा संक्रमितको मृत्यु भएपछि मात्रै उपचार तयारीमा प्रदेश सरकारको ध्यान

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पलतामा उपचारका लागि भर्ना गरिएका ९२ वर्षीय खड्गबहादुर सेढाँईमा कोरोना संक्रमण पुष्टि भएपछि चैत २५ गते कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । झापा दमक–९ का सेढाँईको सोमबार उपचारकै क्रममा मृत्यु भएको छ ।

नोबेलमा सेढाँईलाई कोशीमा रेफर गरिदिएपछि परिवारका सदस्य कन्ट्याक्ट ट्रेसिङ्गमा परेका थिए । बृद्धाको उपचारसँगै परिवारका सदस्यको परीक्षण गर्दा श्रीमती, छोरा–बुहारीसहित चारजनामा संक्रमण पुष्टि भयो ।
बृद्धमा कोरोना संक्रमणको लक्षण देखिएपनि परिवारका अन्य सदस्य लक्षणबिहीन संक्रमितको रुपमा कोभिड अस्पतालमा भर्ना भएका थिए । सोमबार बिहान लक्षणसहितका संक्रमितको मृत्युपछि अन्य लक्षणबिहीन परिवारका सदस्यलाई समेत अस्पतालले होम आईसोलेशनमा बस्ने सुझाव दिदैं घर पठाएको छ ।

कोशि कोभिड अस्पताल विराटनगरका निमित्त संयोजक एपोलोकुमार भगतका अनुसार लक्षणबिहीन संक्रमितलाई अस्पतालमा भर्ना गरिने छैन । संक्रमितलाई अक्सिजन, आईसीयूको आवश्यकता परे मात्रै भर्ना गर्न निर्देशन भए बमोजिम अन्यलाई घर पठाइएको निमित्त प्रमुख भगतले जानकारी दिनुभयो । माघ यता संक्रमित भर्ना नगरिएको कोशिको कोभिडमा एक चिकित्सकसहित दुईजना उपचाररतः रहेका छन् ।
लामो समयपछि कोरोना संक्रमणको पुनरावृत्ति भएपछि प्रदेश सरकारले आवश्यक पर्ने अस्पताल लगायतका संरचना, जनशक्ति लगायतको विषयमा चासो देखाएको छ । संक्रमितको मृत्युपछि प्रदेश सरकार सामाजिक विकास मन्त्री उषाकला राईले उपचार पद्धतिका लागि आवश्यक पर्ने संरचना तथा व्यवस्थापनको विषयमा सोमबार कोशिको कोभिड अस्पताल निरीक्षण गर्नु भएको छ । कोशी कोभिड अस्पतालमा अहिले १८० शैया क्षमता रहेको छ । जसमा एक सय शैयालाई तत्काल र ८० शैया मर्मतपछि प्रयोगमा ल्याउन सकिने मन्त्रीलाई अस्पतालका निमित्त संयोजक भगतले जानकारी गराउनु भएको थियो ।

अस्पतालको निरीक्षणपछि मन्त्री राईले ‘सेकेण्ड भेरियन्ट’ को कोरोना भाईरस संक्रमण रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने दावी गर्नुभयो । उहाँले नागरिक–नागरिकबीच सहयोगी भावना विकास गने, सावधानी तथा सचेतनामा ध्यान दिनका लागि सबैसँग आग्रह गर्नुभएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुलाई सावधानीपूर्वक संक्रमितको उपचारमा लाग्नका लागि निर्देशन समेत दिनु भएको छ ।
मुख्यमन्त्री नेतृत्वमा रहेको प्रादेशिक कोभिड क्राईसिस मेनेजमेन्ट समितिले चाँडै नै एउटा निर्णय लिनेछ, मन्त्री राईले भन्नुभयो–बिरामीको यथेष्ट उपचारमा सरकार सधैं तत्पर रहनेछ ।

मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले अस्पतालमा अहिले चारजना चिकित्सक र चारजना नर्सलाई खटाइएको जानकारी दिनुभयो । थप आवश्यक पर्ने जनशक्ति व्यवस्थापन चाँडै गरिने सचिव कार्कीको भनाई थियो । सीमानाकाबाट आउजाउ भईरहेको विषयलाई अन्तर सरकारी समन्वयका क्रममा छलफल गरेर टुङ्रगायने उहाँले बताउनुभयो ।

तर, कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ, खुल्ला सीमाक्षेत्रबाट नेपाल प्रवेश गर्नेको परीक्षण, होल्डिङ क्षेत्र, क्वारेन्टाइन लगायतका विषयमा ध्यान नदिदाँ जोखिम भयाभव स्थितिमा पुग्न सक्ने देखिएको छ । मन्त्रालयका सचिव कार्कीका अनुसार पछिल्लो दश दिनमा कोरोना संक्रमितको ट्रेन बढ्दै गएको छ । एक प्रतिशतमा संक्रमण पुष्टि भईरहेको अवस्थाबाट अहिले परीक्षण गराएका ३०० जनामध्ये सात प्रतिशतमा संक्रमण देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्