विराटनगरमा मिटरब्याजी कारोबारलाई वडाको वैधानिकता

विराटनगरमा मिटरब्याजी कारोबारलाई वडाको वैधानिकता

विराटनगर । अफ्ठ्यारोमा परेको बेला मागेको सापटी ऋणलाई मिटरब्याजले हिसाब जोड्दा विराटनगर–८ की अन्जना कोइराला अहिले छट्पटाई रहेकी छिन् । छोराको उपचारका लागि दुईलाख रुपिँया ऋण लिएकी कोइरालाले एकलाख फिर्ता दिएपछि पनि अझै छ लाख बुझाउन बाँकी छ ।

सापटी लिएको ऋणलाई अवैध ढंगबाट वैधानिक बनाउन ऋणदाताले वडा कार्यालयको सहयोग लिएपछि कोइराला असजिलोमा परेकी हुन् । कोइराला जस्तै विराटनगर–८ की सरिताकुमारी महतोमा पनि पैसाको लालचीमा राख्ने ऋणदाताका कारण उस्तै अफ्ठ्यारोमा छिन् । उनले २०७७ साल फागुन २१ गते सात लाख लिएर जग्गा खरिद गरेकी थिइन् । पटक–पटक गरेर ४० लाख बुझाउँदा समेत अझै ३० लाख बुझाउन बाँकी रहेको बताउँछिन् ।

विराटनगरमा यी दुई पीडितले मंगलबार पत्रकार सम्मेलन गरेर विराटनगर– ८ निवासी रुशी एल खानले वडा प्रतिनिधिको आडमा यतिबिघ्न समस्यामा पारेको गुनासो गरे । लिएको ऋण बुझाउँदा बुझाउँदै आफ्नो व्यवहार डुबेका उनीहरुको पीडा सुनिनसक्नु छ । घरायसी व्यवहारमा लेनदेन गर्ने र वडा कार्यालयबाट हुँदै नभएको रकम उल्लेख गरेर सहिछाप गराउने कार्यले उनीहरु पीडित भएका हुन् ।

पत्रकार सम्मेलनमा उनीहरुले आफ्ना समस्या सुनाउँदै भने गाउँका धेरैलाई यो समस्या छ, तर उनीहरु बोल्न सक्दैनन् । मिटरब्याजको कारोबारले डुबेका उनीहरुलाई ऋण दिने रुशी एल खानले भने आफूले त्यसो नगरेको बताइन् । उनले आफूसँग लिएको ऋण बुझाउन आनाकानी गर्ने उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा माग गर्दै निवेदन दिएको सुनाइन् । त्यति मात्रै नभई अदालतमा लेनदेनको मुद्दा दायर गरिसकेको सुनाइन् ।

खानेपानी संस्थान विराटनगरको खरदार सरहको कर्मचारी खानले उनीहरुको व्यवहार नराम्रो रहेको दावी गरिन् । विराटनगरका मन्टु भन्ने एक व्यक्तिले गाउँका सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले घरायसी तमसुकसहित पक्राउ गरेर मुद्दा चलाएपछि खानले भने वडा कार्यालयमा लेनदेनको कागज गराएर सर्वसाधारणलाई परिबन्धमा पार्न खोजेको आरोप छ । यस्तो कामका लागि वडाका कर्मचारी र जनप्रतिनिधिको समेत मिलेमतो हुने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्