छ वटा उद्योग बन्द भएपछि कटहरीमा खुल्यो पशुपतिनाथ जुट मिल

छ वटा उद्योग बन्द भएपछि कटहरीमा खुल्यो पशुपतिनाथ जुट मिल

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा आधा दर्जन जुट मिल बन्द भएपछि पुनः नयाँ जुट मिल सञ्चालनमा आएको छ । करिडोरमा डेढ दशकअघिसम्म ११ वटा जुट मिल सञ्चालनमा थिए । त्यसमध्ये ६ वटा बन्द भएर पााचवटा मात्रै सञ्चालनमा रहेका थिए । जुट मिलको औचित्य सकिएको चर्चा चलिरहेको बेला नयाँ उद्योग स्थापना गरेर यसको संभावनाको सन्देश दिइएको हो ।

करिडोरमा ११ जुट मिल सञ्चालन हुँदा ३० हजार भन्दा बढीले रोजगारी पाएका थिए । जुट मिल संरक्षण गर्ने सरकारी नीतिको अभाव तथा उद्योग व्यवस्थापन क्षमताको कमीका कारण धेरै उद्योग बन्द भए । मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल २०६६ सालमा बन्द भएको थियो । यो उद्योग बन्द हुँदा प्रत्यक्ष रूपमा सात हजार बढीले रोजगार बिमुख हुनु परेको छ ।

जुट मिल बन्द गर्ने लहर चलेको समयमा विराटनगरका अमित जैनले नयाँ जुट मिल खोलेका हुन् । केही वर्ष अघि बन्द भएको मोरङको कटहरीमा रहेको सीएम जुट मिलको संरचनामा श्री पशुपतिनाथ जुट मिल सञ्चालन गर्न लागिएको हो ।
भारतमा खाद्यान्न प्लास्टिकको बोरामा प्याक गर्न पाइँदैन । त्यसैले जुटका सामग्रीको मुख्य बजार भारत हो । नेपालमा उत्पादित करिब ९५ प्रतिशत जुटका वस्तु भारत निकासी हुन्छ । नेपाल सरकारले पनि वातावरणमैत्री नीति बनाएर खाद्यान्नका सामान प्लास्टिकमा प्याक गर्न नदिने हो र जुटका सामग्री प्रयोगलाई प्राथमिकता दिने नीति लिने हो भने जुट उद्योग फस्टाउने छ ।

मुलुकमा सञ्चालित ६ वटा उद्योगले ६५ हजार मेट्रिक टन कच्चा जुट खपत गर्दै आएका छन् । यी उद्योगलाई चाहिने ३० प्रतिशत कच्चा जुट स्वदेशमै उत्पादन हुन्छ भने बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात हुने गरेको छ । सरकारले जुट उद्योग र जुट खेतीलाई प्रोत्साहन गर्ने नीति लिने हो भने रोजगारी सिर्जना हुनुका साथै किसान र मजदुरको आम्दानी बढाउन सकिने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्