कृषि फाइनान्स, कृषि कर र कृषि बीमाबारे संवाद सम्पन्न

कृषि फाइनान्स, कृषि कर र कृषि बीमाबारे संवाद सम्पन्न

विराटनगर । कृषि क्षेत्रको व्यवसायीकरण गर्नका लागि कृषि फाइनान्स, कर र बीमामा सहजीकरण हुनुपर्ने सरोकारवाल पक्षले सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सँगको सहकार्यमा विभिन्न जिल्लाहरुका सरोकारवालाहरुबीच विराटनगरमा भएको संवाद कार्यक्रममा सरोकारवाल क्षेत्रका व्यक्तिहरुले यस्तो सुझाव दिएका हुन् ।

कृषि बजार विकासको लागि गरिएको निरन्तर संवाद कार्यक्रममा विशेष गरेर कृषि फाइनान्स कृषिकर र कृषि बीमाबारे सर्वाधिक विषय उठान हुँदै आएको महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलको भनाई छ । कोशी प्रदेशको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न महासङ्घ निरन्तर लागिरहेको बताउँदै पोखरेलले संवाद कार्यक्रममा उठान भएका विषयहरुलाई महासंघले नीतिगत तहमा पैरवी गर्ने लक्ष्य राखेको बताएका छन् ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले मुलुकको अर्थतन्त्रको विकास कृषि क्षेत्रबाटै हुने बताएका थिए । उनले भारत र चीन समेत कृषि क्षेत्रमा गरेको विकासकै आधारमा अर्थतन्त्रलाई अघि बढाएर अघि शक्तिशाली अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरेका हुन् ।

कोशी प्रदेशका जिल्लाहरुमा नवप्रवद्र्धनात्मक कृषि क्षेत्रलाई अघि बढाउँदै मुल्य विविधिकरण गर्दै जानुपर्ने उनको तर्क थियो । नेपालबाट भारत निकासी हुने कृषि उपज निकासीमा समस्या रहेको बताउँदै आन्तरिक स्रोतहरूलाई परिचालन गर्दै कृषिलाई व्यवसायीकरण गर्नुपने भनाई थियो ।
डेरी डेभलपमेन्टका एण्ड रिसर्च सेन्टरका डम्बर कार्कीले बैंक वित्तीय संस्थाहरू नाफामुखी मात्र नभएर किसानको समस्यालाई बुझ्न नसकेको बताएका थिए । जिल्ला कृषि सहकारी मोरङका अध्यक्ष रविन्द्र आचार्यले कृषि बीमामा बिमा दाबी बापतको रकम कृषिकले समयमै पाउन नसकेको कुरा बताएका थिए ।

उर्लाबारीका अचार उद्योग संचालक मनोहरी दाहालले किसानको उत्पादन अनिवार्य रुपमा स्थानीय स्तरमै किन्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने माग गरे । साना उद्यमीहरुले भ्याटमा जान नसक्ने भन्दै उनीहरुलाई संरक्षण गर्दै उत्पादनको बजार सुनिश्चितता गरिदिनुपर्ने उनको माग थियो ।
इलाम उद्योग बाणिज्य महासंघका उपाध्यक्ष श्रीबहादुर बिष्टले कृषि बीमा तराईका जिल्ला केन्द्रीत भएको आरोप लगाए । बीमाले पहाड नदेखेको गुनासो उनको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मनोज यादवले वास्तविक किसानको पहिचान गर्नुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकका प्रतिनिधि अच्यूत कुमार थापाले वास्तविक किसानलाई ऋण दिनका लागि बैंकहरु डराउने गरेको बताएका थिए ।
कोशी प्रदेशका कृषि क्षेत्रका उद्यमी व्यवसायी, कृषक, बैंक तथा वित्तिय संस्था, कृषि सहकारी तथा विभिन्न सरोकारवालाहरु लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा करिब ९० जनाको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्