-भरत बर्बरिक
निक्कै ठूलो भ्रममा छन् बटुवाहरु,
सुरुङलाई बाटो ठानेर
बत्तीमा पुतली झोस्सिएझैँ
छिरिरहेका छन् अँध्यारोमा
एकएक गर्दै लगातार ।
अहो ! कत्ति खतरनाक हुँदोरहेछ सुरुङमार्ग
बडेबडे मंत्री ढले
मंत्रीका पी. ए. ढले
राजनीतिज्ञ ढले
व्यापारी ढले
समाजसेवी ढले
हेड मास्टर ढले
शिक्षक ढले
आर्मी र पुलिस पुक्लुक पुक्लुक ढले
कवि कलाकार नढल्ने कुरै भएन
ढलेर सहिद भएकाहरुको नामको सूची निकै लामो छ ।
यो आदिम बाटो हो,
यसमा खुट्टा राख्नेहरु
आजसम्म सग्लो फर्किएको
एक थान पनि कथा छैन,
प्रस्थान बिन्दुमा सुन्दर देखिने
यो बाटोको कुरुपता
बिस्तारी-बिस्तारी प्रकट हुँदै जान्छ,
कहीँ दलदल छ
कहीँ बालुवा छ
कहीँ चट्टान छ
अन्तिममा बधशाला छ ।
कहिले म नै नदी हुँ भन्दै
बेसुरा गीत गाउँछ यो बाटो,
शीतल बतास म नै हुँ भन्दै
उष्ण हावाले यात्रीको शरीर पोल्छ यो बाटो,
मान्छेहरुलाई लास बनाएर
खुशीले अट्टहास छोड्छ यो बाटो ।
अग्नि दन्किएको
लाक्षागृहजस्तै छ
जहाँबाट सकुशल निस्किने
कुनै अर्जुन आजसम्म जन्मिएको छैन,
मानौँ यो ब्लाकहोल हो
अथवा हो घातक बरमुडा त्रिकोण,
जहाँ पुन: जीवनको कुनै सम्भावना छैन ।
यो निश्चित हो,
भ्रम बोकेर हिँडिरहेकाहरु
कोही बिरुप हुन्छन्
कोही अपाङ्ग हुन्छन्
कोही बेहोस हुन्छन्
कोही असामयिक हुन्छन्
यो बाटोमा ।
हिजोआज सुन्दैछु,
बाटो मास्तिरको भीरबाट पहिरो झर्दैछ रे !