-लक्ष्मी रायमाझी
हवा हुरी बनेर पनि
पहाडमा ठोकिँदा
असर गर्दैन।
उही हवाको स्पर्शले
पात हल्लिन्छ
आखिर
हवामा पहाडमा
र पातमा
आ-आफ्नो गाढापन छ।
यसरी नै लालीगुराँसमा रङ्ग छ
गुलाफमा, सुनाखरी
र चमेलीमा उत्तिकै आ-आफ्नो रङको
गाढापन छ।
बरु मान्छे मनसँगसँगै
रङ्ग बद्लिरहन्छ
सधैँ एकैनासको गाढा हुन सक्दैन
खै किन ?
उसको भाव
अरूको प्रभावमा बद्लिरहन्छ
अचम्म छ !
कहिले राममा गाढा हुन्छ
कहिले आममा गति छाडा हुन्छ
हुन त प्रकृति
र मान्छे दुवै प्राकृतिक हुन्
र पनि
प्रकृतिजस्तो
गाढा
मान्छेको स्वभाव देखिन्न
बस्तु चरेजस्तो
चुबुर चुबुर
असन्तोष जनाउँदै
ऊ कुदिरहेछ
मूर्खतापूर्ण धृष्टता बोकेर
आखिर असन्तुष्ट मान्छे
गाढापनको खोजिमा।