-राजनप्रसाद न्यौपाने
युगौ देखि अहिलेसम्म
कडा घामको तापमा
छहारी बनेर
नयाँ आशालाई
भरोसामा बदल्नुपर्छ भन्दै
सायद,
हाँसो ,खुशी ,रोदनलाई
मिसाएर , कल्पनामा रमाउनुपर्छ
समृद्दि संझेर
कतिन्जेल मेरो देशमा ।
पीर व्यथालाई
फूलको क्षणीक सुगन्धसँग साटेर
मान्छे भनाउँदाहरुको मुटुमा
लागेका घाउका पाप्राहरु
खाटा बसेपछि
दाग नदेखिने गरी
भूगोलको नक्सा कोरेर
समृद्द नेपालको सपना देख्दै
कति अनिदो बसेर
सपना देख्न , रात कटाउनु पर्ने हो
मेरो देशमा।
नयाँ फूलको आशामा
भएको बगैंचा मासेर
सुवास खोज्न
आफैँ भौतारिएको कस्तुरी झैँ
चमकदार सपनालाई
आँशुमा धोएर
कलेटी परेका ओठहरु
किच्च किच्च देखाउदैं
कतिन्जेल मुस्कुराउनु पर्ने हो
मेरो देशमा ।
त्यसैले,
भन्न मन लागेको छ आज
ए नयाँ फूलहरु हो!
रुने काम बन्द गर अब
समृद्दिका सपना देख्न बन्द गर
बन्द गर अस्तित्वका सपनाहरु
रंग आएन भनेर
सुवास हरायो भनेर।
धर्तीलाई धिक्कार्दै
पाईला त्यही अडाएर
कतिन्जेल जीवन खोजिरहन्छौ
ए जनता हो ,
मेरो देशमा ।।