-रिकेश निरौला
हरितालिका तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरु आफ्नो माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ।
नेपाली हिन्दु महिलाहरु द्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रुपले नेपाल अधिराज्यभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा समेत मनाइन्छ। यो चाडमा माइती (बुबा-आमा, दाजु-भाइ) छोरी चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मिठा-मिठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ। यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ।
यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकनी, मासु, सेलरोटी, फलफूल लगायतका खाना खाने गरिन्छ। आधुनिकतासँगसँगै यसमा खाइने परिकारमा समेत परिवर्तन आउँदै गरेको छ। हिन्दू धर्मको ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा सम्म पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी समेत नपिइकन निराहार व्रत बसिन्।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरुले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ। हाम्रो समाजमा तीज महिलाहरुद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो पौराणिक कालदेखि चलीआएको परम्परा हो। वर्षायामको लहरसँगै नागपञ्चमीदेखि हिन्दू नेपालीका मुख्य चाडपर्वको सुरुवाती पर्व हरितालिका तीजले ठूलो महत्व बोकेको छ। यसका विभिन्न धार्मिक, सांस्कृतिक र पारिवारिक महत्वका पाटाहरु लुकेका छन्। तर आधुनिकताको नाममा तीजमा देखिएको तडकभडक र तीजका गीतमा देखिएको विकृतीले यो पवित्र पर्वको गरिमामा धब्बा लगाइदिएको छ।
तीज आउनुभन्दा दुई तीन महिनाअघिदेखि बजारमा आउने उत्ताउला खाले तीज गीतलाई कुनै अर्थमा पनि तीजका गीत मान्न सकिँदैन। आजभोलि तीजको अवसरमा गाइएका गीतहरु रत्यौली हुन् कि झ्याउरे हुन् छुट्याउन कठिन भइसकेको छ। प्रशासन भन्छ भड्किलो भयो तीज, महिला अधिकारकर्मी भन्छन् स्वतन्त्रता हनन गर्न पाइँदैन। स्वतन्त्रता छ भन्दैमा आफ्नो मौलिक कला, भाका र संस्कृतिमा विकृति ल्याउने अधिकार पनि कसैलाई छैन। यस्ता ढोंगी अधिकारकर्मी र समाजसेवाको नाममा विकृति भित्र्याउनेहरुले गर्दा आज नारीहरुको पवित्र पर्व तीज र अहिले आएका आधुनिक तीजको गीतका शब्द सुन्दा र नाच्ने शैली देख्दा रत्यौली र तीज छुट्ट्याउन गाह्रो भइसक्यो। स्वतन्त्रताको नाममा आफ्नो पवित्र पर्व तीज महिलाहरु आफैले नङ्ग्याउँदै छन्।
"भगवानलाई चढाउन के के पाहुर चाहिन्छ रु रु बरिलै फुलपाति अक्षता"। गायिका हरिदेवी कोइरालाले गाएको यो गीत आमा हजुरआमाको मानसपटलमा भरिपूर्ण भएको र जिब्रोमै झुन्डिएको गीत हो। यस्ता मिठा शब्दले सजिएका पहिलेका हाम्रा मौलिकता झल्किने गीत अहिलेका युवा पुस्ताले सुन्दैनन्। हामी आफैले हाम्रो आफ्नो मौलिक कला, भाका, लय र संस्कृतिको जगेर्ना गर्नुपर्छ र अब आउँदै गरेको युवा पुस्तालाई संरक्षणको लागि हस्तान्तरण गर्नुपर्छ। अधिकारकर्मीको नाममा हाम्रो मौलिकता लोप गराउन खोज्ने मान्छेको पछि लाग्नु हुँदैन। अधिकारकर्मीको नाममा हाम्रो समाजमा विकृति र विसङ्गति फैलाउँछ त्यस्ता समूहले। आज भन्दा १५ र १६ वर्ष पहिला चेलीहरु आफ्नो समाजमा भएका घटना, अत्याचार, अन्याय र आफ्ना कष्टहरुलाई गीतमा फुकाउँथे, अहिले निकै उत्ताउलो र भड्किलो बन्दै गइरहेको छ तीज। नारीको चाड पर्व भनिए पनि गीतमा र नाच्ने शैलीमा रत्यौलीको झल्को देखिन्छ।
गीतका शब्द भाका र लय पनि उस्तै उत्ताउला, अपाच्य लाग्ने खालका दोहोरो अर्थ लाग्ने खालका, भिडियो झन् उस्तै परिवारका सबै सदस्य बसेर हेर्न नमिल्ने खालको हुन्छ। यस्तै अवस्था रहिरहने हो भने भोलिका पुस्ताले कसरी तीजको गरिमा र महत्वलाई सम्झला रु? हामीले आउँदै गरेको हाम्रा सन्ततीलाई के सिकाउने रु? पहिला तीजको व्रत बसेको दिन महिलाहरु दिनभर पानीसम्म पनि नखाई भोकै व्रत बस्थे, अधिकांश महिलाहरु नजिक रहेको शिवमन्दिर, देवालयमा गई भगवान शिवको आराधना गर्थे, स्तुति गाउँथे साथै नाचगान तथा रमाइलो गर्ने गर्थे। तर आजभोलिका नयाँ पुस्ताहरु महिनौं अगाडिदेखि होटल, रेस्टुरेन्ट, बार, पार्टी प्यालेस ओगटेर महिनौं अगाडिदेखि विदेशी ब्रान्डका मदिरा सेवन गर्दै र उत्ताउला खालको गीतमा नाचेर तीज मनाउँदै आएका छन्।
पुरुषहरुले तीजका गीत गाउनु हुँदैन भनिएको होइन, पहिलेपहिले पनि गाउँथे तर भाइ, दाइ, बुबा, काकाको माइतीको भूमिकामा रहेर सभ्य तरिकाले गाउँथे। अहिले माया प्रीतिका, डेटिङमा भेट्ने, सहवासमा जाने खालका गीतमा पुरुषहरु मस्किँदै नाचेको देखिन्छ। नेपाली लोक गीत संगीतमा आएको विकृति हटाउने भनेर खुलेका संस्थाका जिम्मेवार व्यक्तिले बजारमा ल्याएको तीज गीतको बारेमा छिरिक्क बोलेको पाइँदैन, बरु उल्टै उनीहरु पनि त्यही गीतमा नाचिरहेका हुन्छन्। यो विषय केही वर्ष पहिला निकै विवादित बन्यो। विगतको तीज गीत ढाडे बिरालो जस्तै यो गीत पुरै दुई अर्थ लाग्ने खालको छ।
आधुनिकता र पुँजीवादको नाममा विकृतिले ठाउँ पाउँदै गएको छ। आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरु आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताहरु सुयोग्य वरको आशा राखी व्रत बस्छन्।
तीजको गीतमा देखिएको विकृति मेटाउन सबैभन्दा पहिला जसले गीत गाउने हो उसले नै आफू कस्तो गाइरहेको छु भन्ने कुरा बुझ्न जरुरी छ। दसैंको गीत दसैंको जस्तो हुनुपर्छ, तिहारको गीत तिहारको जस्तो हुनुपर्छ भने तीजको गीत जस्तो गाए पनि हुन्छ ? दुर्गेश थापाको गीतमा मस्कि मस्कि नाच्ने महिला आमा दिदी बहिनी कतिको चेतनशील छौ र आफ्नो संस्कृति पहिचानलाई कतिको माया गर्छौ भनेर आफै मनन गर्नुहोस्। चलचित्रमा सेन्सर बोर्ड छ तर लोकसंगीतमा सेन्सर बोर्ड छैन त्यही भएर पनि छाडापनले ठाउँ पाएको हुन सक्छ। यदि त्यस्तो हो भने लोकसंगीतमा पनि सेन्सर बोर्ड राख्नुपर्छ। त्यही भएर पनि छाडापनले ठाउँ पाएको हुन सक्छ। हाम्रो सम्पत्ति भनेको हाम्रो संस्कार हो।
तीजको मौलिकता लोप भयो भने हाम्रो संस्कृतिको एउटा पाटो नै उजाडिन्छ। यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लङ्गडो हुन्छ, विज्ञानमा यदि धर्मलाई नजोड्ने हो भने विज्ञान अन्धो हुन्छ। पहिलो कुरा त धर्मकर्म स्वेच्छाले आफ्नै लागि गर्ने हो। दोस्रो कुरा आफूले आफ्नो रीतिरिवाज अनुसार गर्दा भावी पुस्ताले पनि अँगाल्छन्। त्यसैले आधुनिकताका नाममा संस्कृति छाड्ने काम भने कदापि सह्य हुँदैन। हो, अहिले कोरोनाको सङ्क्रमण बढी रहेको छ। त्यसैले भनेजसरी, सोचेजसरी गर्न नसकिएला तर पुर्खौंदेखि गर्दै आएको काम छाड्नु मनासिव हुन्न। यसो भयो भने त केही वर्षभित्र हाम्रा सबै पर्व, चाड समाप्त भएर जानेछन्। यसतर्फ निकै विचार पुर्याउन आवश्यक छ। हरेक जातजाति, धर्महरूले आफ्नो आफ्नो पर्व आफ्नो रीतिरिवाज अनुसार मनाउनुपर्छ। तीज नमनाउने त कुरै भएन तर अघिल्लो वर्ष र यसपटकको तीज भने अलि फरक तरिकाले मनाऔं। पहिले जुट्थ्यौँ भने अब केही समयका लागि फुटौं अलि टाढै बसौं।
ज्यान रहे तीज त अर्को पटक फेरि आइहाल्छ नि। मुख्य कुरा आफ्नो ज्यानको ख्याल राखौं। जुटेर भन्दा पनि फुटेर तीज मनाऔं। कोरोना भाइरसलाई परास्त गरौं। तीज महान पर्व हो भन्नेमा कुनै शङ्का दुविधा छैन। त्यसैले गर्दा यस्ता परम्पराले हाम्रो जीवनमा निकै ऊर्जा थपेको छ। सोझै भन्ने हो भने हाम्रा पर्वहरुले हामीसँग मितेरी नै लगाएका छन्। जसबाट हामी अलग हुनै सक्दैनौं। अझ तीज त झन् त्यस्तो पर्व हो जो विशेष महिलाकै लागि आउने गर्छ। मिठो खाने, राम्रो लगाउने, भेटघाट गराउने माहोल समेत सिर्जना गर्ने भएकाले पनि तीजको महत्व निकै छ। तीजको गीत अर्को आकर्षण हो। यतिबेला एल्बमहरु निकाल्नेको भीड नै लाग्छ बजारमा भने स्टेज शोहरु पनि उत्तिकै आयोजना हुन्छन्। विकृति र विसंगतिलाई घोचपेच गरिएका गीतले निकै स्थान पाउने गरेको छ। तर अब यो पनि थियो भन्नुपर्ने अवस्था सिर्जना भएको छ किनकि यसपटक हामी यसरी तीज मनाउने अवस्थामा छैनौं।
गायिका हरिदेवी कोइरालाको भनाइमा तीजका गीत भनेको पर्व, भाका, शैली र संस्कृतिसँग जोडिएको हुनुपर्छ र स्रष्टाहरुले पनि यसलाई निकै ख्याल गर्न आवश्यक छ। तीजलाई तीज जस्तो सभ्य बनाउनुपर्यो। तीजमा चेलीले माइतीको बाटो हेरिरहेकी हुन्छिन्। आफ्नो जन्मदिने बुबा-आमा, दाजु-भाइको बाटो हेरिरहेकी हुन्छे। बुबा-आमा, दाजु-भाइ छैनन् भने काका काकी या अन्य कुनै दाजु-भाइ लिन आउँछ कि भनेर बाटो हेरिरहेकी हुन्छे। यसको मतलब उनीहरु भेटभएपछि चेली र माइतीबीचको सम्बन्ध र सुखदुःख साटासाट नि हुन्छ नि। अरु कुरा त हुँदैनन्। यति ठूलो पारिवारिक आयाम जोडिएको छ। माया प्रेम नै सबथोक हो भन्ने सोचबाट हामी सबै अलग हुनुपर्छ। पहिला म के गर्दैछु र यसको विशेषता के हो भन्ने बुझ्नुपर्छ। पछिल्लो पुस्तालाई निराशामूलक गीत भन्दा पनि कही आशा जगाउने खालका गीतहरु दिनुपर्छ।
अहिले नेपालमा बस्नेहरुले भन्दा पनि विदेशमा बस्ने नेपालीहरुमा तीजको मोह निकै बढी देखिन थालेको छ। महिनौं अगाडिदेखि कलाकार बोलाएर तीज मनाउन थालेका छन्। कलाकारहरुलाई पनि राम्रै फाइदा पुगे पनि संस्कृति र मौलिकता जोगियो कि जोगिएन भन्ने कुरा मुख्य हो। स्वदेशभित्रै पनि विभिन्न संघसंस्था र कार्यालयहरुले समेत आफ्ना कर्मचारीलाई दर खुवाउने गर्छन्, गाउँदेखि शहरसम्मका चेलीहरु जम्मा भएर रमाइलो गर्नु निकै सकारात्मक पक्ष हो तर यसले चाडपर्वको गरिमालाई लत्याउनु भएन।
सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुको पवित्र तथा महान पर्व तीज विकृतिमा परिणत भयो। घरमा परिवार आमा दिदी बहिनीहरुको सामु बसिरहेका बेला टिभीमा कुनै तीज गीत बज्यो भने आफू बसिरहेको ठाउँ छोडेर हिँड्नुपर्ने अवस्था समेत कतिपटक भोग्नु परेको छ। यस्तो अवस्था आउनुमा नारीहरुकै ठूलो हात छ र यस्ता विकृति विसङ्गति हामी सबै मिलेर अन्त्य गर्नुपर्छ। भोलिका दिनमा यस्तो अवस्था नदोहोरियोस्। आउँदै गरेको नारीहरुको महान पवित्र पर्व २०८१ को हरितालिका तीजको सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।