विराटनगर । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगर महागरपालिका भने महिला सशक्तिकरणका लागि अघिल्ला वर्षहरुमा गरेका कामबाट प्राप्त प्रतिफलको समिक्षामा व्यस्त छ । हिंसामा परेका महिलाहरुलाई आर्थिक उपार्जनका लागि उपलब्ध गराएको बीउपूँजीबाट उनीहरुको जीवनमा आएको परिवर्तन र प्रभाव बुझ्ने काम भइरहेको हो । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष बनाएर हिंसामा परेका महिलाहरुलाई राहत दिदै आएको छ । लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधी २०० जारी गरेर काम थालिएको थियो । त्यसका आधारमा आर्थिक वर्ष २०८०÷०८१ मा १० लाख, २०८१÷०८२ मा १० लाख र चालु आर्थिक वर्षका लागि कोषमा १५ लाख रुपिँया बजेट व्यवस्थापन गरिएको छ ।



विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार हिंसामा परेका महिलाको आयआर्जन बृद्धि गर्न बीउपूँजी, महिलालाई कानुनी उपचार खोज्न बहस पैरबी खर्च, उपचार खर्च तथा सुत्केरी पोषण खर्च जस्ता शिर्षकमा कोषको रकम वितरण हुँदै आएको छ । त्यति मात्रै नभई आफ्ना सन्तान बिरामी परेर उपचार खर्च अभाव हुँदा आमाले बेहोर्नुपर्ने अभावको दुःख हटाउन पनि यदाकदा उपचार वापत कोषको रकम उपलब्ध गराउने गरिएको हो ।
आर्थिक वर्ष २०८०÷०८१ मा ३३ जनाले बीउपूँजी प्राप्त गरेका थिए ।
गत आर्थिक वर्ष २०८१÷०८२ मा ३४ जना र चालु आर्थिक वर्षमा १० जनालाई उपलब्ध गराइसकिएको छ । यसरी कोषबाट बीउपूँजी लिएर आत्मानिर्भर भएका महिलाहरुसँग महिला हिंसा विरुद्धको १६ दिने अभियानमा अन्तरक्रिया तथा समिक्षा आयोजना गरिएको हो ।





कार्यक्रममा विराटनगर–१८ स्थित खिखरी देवी साहले बीउँपूँजी कार्यक्रमले नयाँ जीवन सुरु गर्ने अवसर दिएको बताउनुभयो । मिटरब्याजीले जमिन हडेपेपछि उहाँका श्रीमान्को निधन भएको थियो । त्यसपछि हिंसामा पर्नु भएकी साहले स्थानीय सरकार न्यायिक समितिमार्फत जमिन फिर्ता लिने लडाँईसँगै आजआर्जनका लागि बीउँपूजी प्राप्त गरेको सुनाउनुभयो । उपप्रमुख तथा न्यायिक समिति संयोजक निरौलाले लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहले अगाडी सारेको कदम, उपलब्ध गराइने सेवा, सहयोग, मनोपरामर्श तथा पुनःस्थापनाबाट महिलाहरु आत्मानिर्भर हुन सहयोग पुगिरहेको बताउनुभयो । उहाँले लक्षित समूहको रुपमा हिंसामा परेका महिलाहरुलाई नै प्राथमिकतामा राखेर कानुनी उपचारसँगै आत्मानिर्भरताका लागि कार्यक्रम आयोजना गर्दाको प्रभाव मूल्यांकन समेत गर्दै आएको बताउनुभयो ।
हालसम्म बीउँपूँजी लिने महिलाहरुले कसैले किराना पसल, कसैले चिया–नास्ता, कसैले बंगुरपालन त कसैले चटपटे पसल समेत सञ्चालन गरेर जीवन गुजारीरहेका छन् ।