- प्रयास दाहालकाे सहयाेगमा सराेज कार्कीद्वारा तयार
विराटनगरको न्युरो अस्पतालको भव्य भवन नजिकैको जहदा चौकबाट थोरै दक्षिण लागे पछि एउटा सानो छाप्रो देख्नु हुन्छ । केहि टेबल राखिएको उक्त छाप्रो बाहिर हरेक बिहान कयौं साइकल, मोटर साइकल रोकिएका हुन्छन् भने भित्र ठुलो जमात मुख मिठ्याइ रहेका हुन्छन् । अझ शनिवारको दिन त्यहाँ पुग्नु भएको छ भने कुनै मेलाको भन्दा फरक दृष्य देख्नु हुनेछैन तपाइहरुले । त्यहि भिडको एक छेउमा हाँस्दै आगोको रापमा जेरी र पुरी छानिरहेका हुन्छन् बैजनाथ साह, सबैको बैजु दाइ ।
हामी कुरा गरि रहेका छौ बैजुको जेरी पुरी पसलको । हुन त औपचारिक नाम साह मिष्ठान्न भण्डार भए पनि बैजुको जेरी भन्ने बित्तिकै अधिकाँश विराटनगरवासीको लागि नौलो पसल हुने छैन । करिब आधा शतक पुरानो इतिहास बोकेको यस पसलसँग धेरै विराटनगरवासीको स्मरणहरु रहेको छ । हामीले केहि समय अघि आवर विराटनगरको फेसबुकमा पोस्ट गरेको उनको फोटोमा आएको कमेन्ट र लाइकले पनि उनको लोकप्रियता अनि उनले पकाएको जेरीको स्वाद स्पष्ट पारेको थियो । सुबेल ढुंगेलले कमेन्टमा लेख्नु भएको थियोः “बैजु दाइको पुरी जेरी नहुँदो हो त मेरो बाल्यकाल त्यति मिठो हुने थिएन होला । मेरो बाल्यकाललाइ स्वादिलो बनाउन पुरी र तरकारीको स्वादले निक्कै सघाएको छ । म अझै पनि विराटनगर जाँदा पहिले बैज दाइको जेरी, पुरी र तरकारी खान पुग्ने गर्छु ।”
[caption id="attachment_15279" align="aligncenter" width="900"] बैजु र उनको श्रीमती बच्चु देवि ।[/caption]
सुरुवात
सानो उमेर देखि अस्पताल चौकको होटलमा काम गर्न थालेको थिएँ । होटलमा काम गर्दा गर्दै केहि काम सिकें पछि आफ्नो पसल खोल्नु पर्छ भन्ने लाग्यो र खोलें, सुरुमा ५० पैसा गोटा भन्दा सस्तोमा पुरी जेरी बेचेको थिए अहिले ३ रुपैया प्रतिगोटा छ जेरी । १० वर्ष जति अस्पताल चौकमा होटल गरे पछि जलजला चौकमा सरेर ७ वर्ष पसल गरें । अनि यो चौकमा आएर बसें । यहाँ पनि पहिले अलिकति उत्तरमा बस्थें पछि त्यो जग्गा धनीले बेच्ने भने पछि अहिले यता सरेको छु । यो वरिपरिको चौकमा मात्र ४० वर्ष भइसक्यो पसल गर्न थालेको । पसल जहाँ सरे पनि आँफ्नो ग्राहक आँफुलाइ खोज्दै आउने गरेका छन् । सायद मिठो र सस्तो भएकाले मेरोमा आउछन् । सबैसँग राम्रो बोल्ने गरेकाले पनि होला आउने गरेको ।
[caption id="attachment_15280" align="aligncenter" width="900"] बैजुको पसलका सहयोगी उमेश ।[/caption]
५० वर्ष अघिकाे विराटनगर
५० वर्ष अघि विराटनरको धेरै भाग जंगल थियो । बजार र बसोबास सिमित क्षेत्रमा मात्र थियो । अहिले त पैसा पनि धेरै देखिन थालेको छ । पहिले थोरै मान्छे बिच आम्दानी पनि थोरै थियो । सानो हुँदा सिघिंया खोलामा पौडि खेलेको अनि त्यसको छेउमा बयर टिपेर खाएको अझै सम्झन्छु । कुनै समय दिनभर हामी माछा मारेरै पनि बस्थ्यौ । त्यति बेलाको बजार सम्झन्छन् त्यो बेला अहिलेको मेनरोडको हनुमान मन्दिरको पछाडि हटिया लाग्ने गरेको थियो । पछि हाट खोलामा पनि हटिया लाग्न थाल्यो । हामी बजार गर्न हटिया नै जाने गथ्र्यौ ।
बम्बइमा एक महिना
जवान हुँदा म सिनेमा खुब हेर्थे । हरेक सिनेमा हेरे पछि त्यसमा हिरोले लाएको लुगा जस्तै लुगा किन्थे, उस्तै कपाल बनाउँथे र फोटो खिच्थें । पछि हिरो हिरोइनलाइ चिठ्ठी पठाउँदा उनीहरुले मलाइ आफ्नो फोटो पठाइ दिन्थे । अझै पनि ति फोटो र चिठी राखेको छु । पछि सबैले सिनेमामा काम गर्न बम्बइ जानु पर्छ भने पछि म पनि बम्बइ पुगें । त्यहाँ पुगे पछि आफ्नो ठाँउ जस्तो रमाइलो लागेन । मान्छे धेरै थिए , खान देखि शौच गर्न सम्म लाइन बस्नु पथ्र्यो । यहाँ मज्जाले धेरै खान पाइरहेको मान्छे पेटभरी खान पनि नपाइने । पछि बम्बइको आरके स्टुडियोमा केहि काम पाँए तर धेरै समय टिकिन । पढेको मान्छे भएको भए अलि समय संघर्ष गर्थे होला तर सानोमा मास्टर र बाउ दुबैको पिटाइले गर्दा पढिएन अहिले पछुतो लागेको छ । मुम्बइमा मन नलागे पछि एक महिना मै आफ्नै देश फर्किएँर आँए । यहाँ आए पछि आफ्नै कामलाइ निरन्तरता दिएँ ।
[caption id="attachment_15281" align="aligncenter" width="900"] युवा अवस्थाका बैजु।[/caption]
वर्षा अरुण साहः “बैजु अंकलको रहर थियो, चर्चित हुने । जहिले गफ गफ हान्नु हुन्थियो । ”
लट्रीले डुबाएको जिन्दगी
पैसा नकमाएको हैन । पुरी जेरी बेचेरै राम्रो आम्दानी भएको छ तर मेरो एउटै नराम्रो बानीका कारण सबै परिश्रम र पैसा खेर जाने गरेको छ । म नखानु पर्ने कुरा केहि खान्न तर लट्री चिठ्ठा निक्कै धेरै खेल्छु । यसैमा मैले निक्कै धेरै पैसा सकेको छु । ३ करोडको चिठ्ठा पर्यो भने त लाइफ सेट भएन र मेरो ? भन्ने सोचेर सँधै चिठ्ठा किन्ने गर्थे । मैले खेल्ने गरेको चिठ्ठा भारतको सिक्किम सरकारले खेलाउने चिठ्ठा हो । समय समयमा एजेन्टहरु आउछन् अनि चिठ्ठाको टिकट बेचेर जान्छन् , पछि उनीहरुले नै ल्याएर परे नपरेको जानकारी दिन्छन् । अहिले भने चिठ्ठा खेल्न छाडेको छु । बेकार खेलेछु भन्ने पनि लाग्छ । चिठ्ठामा पैसा नलगाएको भए त्यसमा खर्च भएको पैसाले नै लाइफ सेट हुने रहेछ जस्तो पनि लाग्छ ।
उनको श्रीमति बच्चु देवि साह भन्छिन् : म सँधै गाली गर्थे चिठ्ठा नखेल्नु भनेर मान्नु हुदैन थियो । छोरीको बिहे हुने बेलामा एक लाख रुपैयाँ परेको थियो । अझ धेरै पर्ने आशामा थप लाखौं रुपैया उहाँले गुमाइसक्नु भयो । हरेक हप्ता हजारौं रुपैयाको चिठ्ठा किन्नु हुन्थ्यो । अहिले भने धेरै ऋण् लाग्न थाले पछि छाड्नु भएको छ ।
दिपेन्द्र तुलाधारः
बैजुदाइलाइ चिठ्ठा कहिल्यै लागेन अनि न त चिठ्ठा परे पछि हामीलाइ गितार किनिदिने सपना पनि कहिल्यै पुरा भएन ।
[caption id="attachment_15284" align="aligncenter" width="900"] बैजुले खेल्ने गरेको चिट्ठाका पुराना टिकटहरु ।[/caption]
पसलको महिमा
जब कोहि मान्छे आउछन् र मेरो पसलको बारेमा यस्तो सुनेको छु भन्छन् तब निक्कै खुसी लाग्छ ।
कोहि कोहि ३०—४० वर्ष पुराना ग्राहकहरु नि आउछन् । पुराना कुरा सम्झाउन् । कोहि बिदेशबाट फर्किए पछि यहाँ आएको भन्छन् । जाने बेलामा मेरो फोटो खिचेरर लान्छन् । मेरो पसलको जेरी पुरी अनि समोसा गिरिजा बाबुको घरको खाजाका लागि समेत जाने गरेको थियो । प्रहरीका ठुला हाकिमहरु त धेरै आउछन्, कुरा गर्छन, खाजा खान्छन् । पसलमा आएको मान्छेसँग राम्रो सम्बन्ध भएको छ । मलाइ लाग्छ पसल गर्नु भनेको पनि राजनिति गर्नु जस्तै हो, सबै सँग राम्रो कुरा गर्नु पर्छ । झगडा गर्यो भने चौपट हुन्छ । बरु रिस उठ्दा चुप लागेर बस्छु । सबै भन्दा ठुलो कुरा सहन सक्नु पर्छ , सबै ग्राहक एकै खाले हुदैनन् । जेरी पुरी खाइसके पछि कतिसँग पुरा पैसा हुँदैन , भोली आएर दिन्छु भन्छन् । आउने नआउने उनीहरुको हातमा हो तर ति आए नआए पनि म खुसी छु । पसलमा जेरी बनाउने चास्नी हरेक दिन नयाँ बनाउछु , तरकारी हरेक दिन फेर्छु । पसलमा ४०—५० वर्षदेखिको स्वाद उहि छ , केहि फरक छैन । अरु कामको लागि मान्छे राखे पनि जेरी पुरी आँफै पकाउछु ।
नबिन पन्तः
समय संगै यो बैजु बुढो भए पनी उसको पसलमा पाकेको चिया पुरी जुलेबिको स्वाद उस्तै तरोताजा छ २०५० सालको सम्झना ।
एउटा महत्वपुर्ण सिकाइ
मेरो पसलमा अनेक जातजातीका ग्राहक आउछन् । उनीहरु अनेक धर्म मान्छन् । कोहि मन्त्री छन् कोहि कलाकार , अनेक काम गर्ने मान्छे आउछन् तर सबैको व्यवहार उस्तै राम्रो हुन्छ । सानो ठुलो जो आए पनि उनीहरुमा केहि फरक छैन । यहाँ बसेर खाइरहेको बेला कसैमा कुनै विभेद छैन । हामी सबै उस्तै हौं भन्ने लाग्छ । सबै बराबर ।
भविष्य बारेकाे साेचाइ
यहि पसलको कारण छोरा छोरी पढाँए , हुर्काए अहिले सबै आआफ्नै काम गर्दै छन् । छोरीहरुको विवाह भव्य रुपमा गरें । एउटा छोरा प्रहरीमा छ, एउटा बिदेशमा छ । एउटाले सरकारी जागिर गर्छ अनि अर्को भने पढ्न मन नगर्ने छोरो पेन्टर भएको छ । मेरो बुवाको पानको पसल थियो, मैले जेरी पुरी बेचें । मेरो छोरा छोरी आफ्नो आफ्नो काम गर्दैछन् । मैले सानै देखि काम गरें , म यतिका वर्ष आगोको छेउमा बस्दा बस्दा वाक्क भएको छु । यहि पसलबाट केहि घर जग्गा नी जोडेको छु । अब मेरो चाहना केहि छैन , राम राम जप्ने, बुढेशकाल काट्ने । म मरे पछि मेरा छोराछोरीले यो पसल अगाडि बढाउछन् भन्ने लाग्दैन । सायद यत्तिकै इतिहास हुन्छ होला ।
[caption id="attachment_15283" align="aligncenter" width="900"] पसलमा सहयोग गर्दै बैजुका नाती । विद्यालय बन्द भएको बेला उनी यसरी नै हजुरबुवालाइ सहयोग गर्ने गरेका छन् ।[/caption]
अावर विराटनगरका पाठकहरूकाे भनाइ
रष्मी चापागाँइ:
बैजु दाइ को पसलको विशेष जेरी । it's amazing , it feels like ' wow'.......... यस्तो मिठो जेरी त कहिं पाइदैन ।
आशिष शर्माः
राम्रो मिठो सफा सस्तो तर अलिक ढिलो ।
धिरज मास्केः
बाल्यकारको स्मरण ताजा भयो । गज्जबका समोशा र जुलेबी ।
प्रेरणा शिलाकारः
अत्ती नै धेरै राम्रो । हे प्रेक्षा , केहि सम्झियौ ?
प्रेक्षा शिलाकारः
हो , उहाँ मेरो बाल्यकालको ति समय स्मरण दिलाउनु हुन्छ जब प्रत्येक शनिबार हामी बैजु दाइको जेरी पुरी खान पुग्थ्यौं । उहाँको जस्तो जेरीपुरी कसैले बनाउन सक्दैन । उहाँ नम्बर एक हो ।
सबिन मुखियाः
साउदि अरबबाट बैजु मामालाइ बधाई छ । म निक्कै धेरै खाने गर्थे यहाँको जेरी पुरी । कहिले काँही लामो समय कुर्नु पर्दा चैं दिमाग खराब हुने गर्दथ्यो । उहाँले तयार पारेको जेरी पुरी खाँदाको मज्जा नै बेग्लै हुन्छ ।