बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको चारदिने भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । कोभिड–१९ महामारी सुरु भएयता उहाँको यो पहिलो भारत भ्रमण हो ।
भ्रमाणका क्रममा उहाँले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नुहुने छ भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री एस जयशङ्करले पनि प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले राजस्थानको अजमेरस्थित सुफी सन्त मोइनुद्दिनको पनि भ्रमण गर्ने सम्भावना छ ।
सतह र सामुद्रिक सीमाङ्कन, रक्षा सहयोग बढाउने, सम्पर्क सञ्जाल विस्तार, विकास सहायता, सांस्कृतिक आदानप्रदान, ऊर्जा प्रवद्र्धन एवम् त्यसको व्यापार, बन्द व्यापार एवम् वाणिज्य दक्षिण एसियामा दिगो स्थायित्व कायम गर्नेलगायत पारस्परिक हित र चासको विषय वार्ताका शीर्ष विषयवस्तु हुनेछन् ।
सन् २०२१ मा दुई देशबीचको सम्बन्ध ५०औँ वर्षमा प्रवेश गरेपछिको उहाँको यो पहिलो भ्रमणलाई भारतले महत्व दिएको छ । सोही वर्ष प्रधानमन्त्री मोदीले बङ्गलादेशको भ्रमण गर्नुभएको थियो । सन् २०१५ यता दुवै देशका प्रधानमन्त्रीबीच १२ पटक भेट भइसकेको छ । गत वर्ष बङ्गलादेशको स्वतन्त्रताको ५०औँ वार्षिकोत्सव तथा त्यसका संस्थापक शेख मुजिबुर रहमानको १००औँ जन्मजयन्ती पनि मनाइएको थियो ।
केही वर्षयता भारत र बङ्गलादेशले सम्पर्क सञ्जाल विस्तार तथा क्षेत्रीय सहयोग प्रवद्र्धनका प्रयास गरिरहेका छन् । अखौरा–अगरतला रेलमार्ग चाँडै सञ्चालनमा आउने तथा केही साताभित्रै अगरतला र चटगाउँ हवाईसेवाबाट जोडिने अनुमान गरिएको छ । प्रधानमन्त्री हसिनाको भ्रमणका क्रममा दुवै देशले कुसियारा नदीको पानीको बाँडफाँटसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
भारतको ‘छिमेक पहिला’ नीतिअन्तर्गत बङ्गलादेश एक महत्वपूर्ण साझेदार हो । नयाँदिल्लीले सुरक्षा, व्यापार, वाणिज्य, ऊर्जा, यातायात र विज्ञान तथा प्रविधि, प्रतिरक्षा, नदी तथा समुद्री मामिलालगायत सबै क्षेत्रमा सहयोग विस्तार गर्दै आएको छ ।
दक्षिण एशियामा बङ्गलादेश भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो । पछिल्लो पाँच वर्षका द्विपक्षीय व्यापार नौ अर्ब अमेरिकी डलरबाट बढेर १८ अर्ब डलर पुगेको छ । भारतका निम्ति बङ्गलादेश चौथो ठूलो निर्यात गन्तव्य हो ।
बङ्गलादेश र भारत दुवै सांस्कृति, आर्थिक, भाषिक, राजनीतिक एवम् धार्मिक रूपमा धेरै समानता भएका देश हुन् । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा भारतको महत्वपूर्ण भूमिका भएता पनि नयाँदिल्ली र ढाकाबीचको सम्बन्ध अति सुमधुर वा विवादमुक्त भने भएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो ढाका भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको थियो । हालैका वर्षमा दुवै देशबीच कूटनीतिक र आर्थिक क्षेत्रमा धेरै सम्झौताहरू पनि भएका छन् ।
भारत र बङ्गलादेश बीचको द्विपक्षीय सम्बन्ध सहयोगको मानकका रूपमा बढ्दै गएको छ । वार्ता र रचनात्मक संवादको माध्यमबाट समस्या समाधानका प्रयास पनि भइरहेका छन् । यद्यपि नदी र जल बाँडफाँटका विषयमा भने मतैक्यता हुन सकेको छैन । नदीहरू दुई देशहरू बीचको सबैभन्दा उल्लेखनीय साझा स्रोत हुन् । दिल्ली र ढाकाको द्विपक्षीय सहयोग एजेन्डामा पानी व्यवस्थापन र पानी बाँडफाँटका मुद्दामा धेरै बहस हुने गरेको छ । पछिल्लो समय भने दुई देशले प्राथमिकताका आधारमा पानी बाँडफाँट सम्झौताको ढाँचा पनि विकास गरेका छन् ।
सम्झौताका निम्ति पहिचान गरिएका दुई देशका साझा प्रमुख नदी गङ्गा, टिष्टा, मनु, मुहुरी, खोवाई, गुम्ती, धरलाबारे हालै दुवै देशका अधिकारी सम्मिलित संयुक्त आयोगले समझदारीपत्रलाई अन्तिम रूप दिएको छ । बाह्र वर्षको अन्तरालपछि भएको उक्त आयोगको बैठक विवादका विषय निरूपण गर्न निकै हदसम्म सफल भएको थियो ।
बङ्गलादेश पनि आफ्नै गतिमा विकासको पथमा क्रमशः लम्किरहेको छ । उसले पछिल्लो समय आर्थिक विकासमा केही फड्को पनि मारेको छ । फलस्वरुप ढाका संयुक्त राष्ट्रसङ्घको अतिकम विकसित राष्ट्रको सूचीबाट बाहिर निस्कने चरणमा पुगेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदीसमक्ष बङ्गलादेश–भारत बृहत् आर्थिक साझेदारी सम्झौताको प्रस्ताव गर्ने बताइएको छ । रासस/एएनआई