विराटनगर । विराटनगर महानगरपालिका भित्रका अस्पतालबाट उत्पादन फोहोर विराटनगर–६ ब्रम्हपुरामा बिसर्जन हुने गरेको छ । केसलिया नदी नजिक अस्पतालजन्य फोहोरको डंगुर लाग्ने गरेपनि त्यसको नियमन गर्नुपर्ने महानगरपालिका भने चुपचाप छ ।
अस्पतालजन्य फोहोर कसरी त्यहाँ पुगिरहेको छ ? भन्ने जानकारी महानगरपालिकालाई पनि छ । तर, महानगरपालिकाले त्यसको नियमन र नियन्त्रणमा चासो कम राखेको पाइएको हो । अति हानिकारक फोहोर फालेर दैनिक आगो लगाउँने गरिएको छ । महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न तीनवटा कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिकाले कम्पनीसँग सम्झौता गरेपछि कम्पनीहरुले अस्पतालसँग सम्झौता गरेर फोहोर संकलन गरी त्यहाँ फाल्ने गरेको दावी छ । ‘अति हानिकारक फोहोर फाल्न पाइदैन, महानगरका सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहालले भने–अस्पतालहरुले ल्याण्डफिल्ड साइडमा फोहोर फ्याँक्ने ठाउँ किनेका छन्, उनीहरु आफैंले फाल्छन् । उनले थपे–तर फाल्न पाइदैन, नेपाल हो ठ्याक्कै कार्यन्वयन भएको छैन । शाखा प्रमुख दाहालले अस्पतालहरुसँग सुटुक्क पैसा लिएर कम्पनीहरुले फाल्ने गरेको हुनसक्ने आशंका समेत गरेका छन् । उनले कम्पनीहरुले कुनै अस्पतालसँगको मिलेमतोमा यस्तो काम गरेको पाइए कारवाही गरिने बताए ।
पूर्वाञ्चल क्याम्पस धरानका मास्टर अफ स्यानिटेसन इन्जिनियरिङ कार्यक्रमका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सागर काफ्लेका अनुसार विराटनगरको डम्पिङ साइडमा मेडिकल वेस्टेजहरु प्रशस्त भेटिएको छ । पछिल्लो एक हप्तामा धरान, इटहरी र विराटनगरको ल्याण्डफिल्ड साइडको स्थलगत अध्ययनका क्रममा नदी तटीय क्षेत्रमा अति हानिकारक अस्पतालजन्य फोहोर पाइएको हो । अति हानिकारक फोहोर डंगुर लगाएर जलाउने गरिएको पाईयो, उपप्राध्यापक काफ्ले भने–काठमाण्डौंबाट आएको रिसर्चरहरुको टोलिले समेत यसको निरीक्षण गरेर फर्केको छ ।
काफ्लेका अनुसार विराटनगरको वायु प्रदुषण बढाउन समेत यसले मद्दत गरिरहेको छ । घरायसी फोहोर घरमै बाल्ने वा शहरबाट संकलन गरिएको फोहोर डम्पिङ साइडमा जलाउँदा त्यसको प्रभाव वायुमा परेको छ । डम्पिङ साइडको अवस्था अति जोखिमपूर्ण रहेकोले यसलाई रोक्न जरुरी रहेको काफ्लेको भनाई छ ।
अस्पतालजन्य फोहोर उत्पादन हुने स्थानमै बर्गिकरण र जोखिमपूर्ण फोहोरको डिस्इन्फेक्सन गर्नुपर्ने हुन्छ । तर, ब्रम्हपुरामा ल्याब परीक्षण गरिसकेपछि रगतका सिसी, सिरिन्ज, रगत पोतिएका कपडा, ल्याबका अन्य सामाग्री, औषधी समेत लथालिङ्ग रुपमा जतागतै फालिएको पाइएको छ ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले यस विषयमा चाँडो अनुगमन गरेर अवस्था अध्ययन गर्ने बताईन् । उपप्रमुख कार्कीले कसैले बेइमानी गरेको भेटिए तत्काल कारवाही गरिने दावी गरिन् ।
महानगरपालिकाले मासिक भुक्तानी गर्नुपर्ने दायित्व ४ लाख ३५ हजार एक रुपिँयामा कायम गरि तीन कम्पनीलाई फोहोर संकलन गर्ने जिम्मा दिएको छ । महानगरको उत्तरी क्षेत्र अन्तर्गत वडा नं १,२,३,४,५ र १९ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी नेपाल फुलबारी वेष्ट थ्रीआर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि.लाई मासिक ९० हजार भुक्तानी गर्ने गरिएको छ । त्यस्तै विराटनगरको मध्यभाग अन्तर्गत वडा नम्बर ६,७,८,९, १० र ११ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपाल नामक सस्थाले जिम्मा लिइएको छ । यसले महानगरपालिकासँग मासिक एक रुपिँया मात्रै लिने गरि सम्झौता गरिएको छ । पाँचवर्षको ठेक्काका लागि यो संस्थाले ६० रुपिँया मात्रै बोलकबोल गरेको हो ।
त्यसैगरी विराटनगरको दक्षिणी क्षेत्र वडा न १२, १३,१४ १५ १६ १७ र १८ आर एसडी सप्लायर्स सर्भिसेज प्रा.लि.ले फोहोर संकलनर व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ । जसलाई महानगरपालिकाले मासिक तीनलाख रुपिँया भुक्तानी गर्छ ।
यसरी सम्झौता भएका कम्पनीहरुले फोहोर संकलन गर्दा बर्गिकरण गर्ने गरेको छैन । जसका कारण कुहिने वा नकुहिनेदेखि अति हानिकारक फोहोर समेत एकै स्थानमा पुग्ने गरेको देखिएको छ ।