विराटनगरको ल्याण्डफिल्ड साइड पुगिन् उपप्रमुख कार्की, जोखिमयुक्त फोहोर देखिएपछि संकलक कम्पनीलाई महानगर बोलाईयो

<span class='c1'>विराटनगरको ल्याण्डफिल्ड साइड पुगिन् उपप्रमुख कार्की, जोखिमयुक्त</span> <span class='c2'>फोहोर देखिएपछि संकलक कम्पनीलाई महानगर बोलाईयो</span>

विराटनगर । विराटनगर–६ को ल्याण्डफिल्ड साइडको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार बिहान निरीक्षण गरेकी छिन् । विराटनगरका अस्पतालबाट उत्पादन हुने जोखिमयुक्त फोहोर जथाभावी फाल्ने गरेको खुलेपछि उपप्रमुख कार्कीले स्थलगत निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा अस्पतालमा प्रयोग भएका सिरिन्ज, ल्याबका अन्य सामाग्री, कपडा समेत त्यतिकै ल्याण्डफिल्ड साइडमा भेटिएपछि फोहोर संकलन गर्ने कम्पनीहरुलाई महानगरपालिका बोलाइएको छ । उपप्रमुख कार्कीले चरम लापर्वाही गरेको पाइएकोले तत्काल छलफलका लागि बोलाइएको जानकारी दिएकी छिन् ।

कार्कीसहित महानगरपालिका सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल, भित्रुवन विश्वविद्यालयका उपप्राध्यापक एवं पूर्वाञ्चल क्याम्पस धरानका मास्टर अफ स्यानिटेसन इन्जिनियरिङका संयोजक सागर काफ्लेसहितको टोलि त्यहाँ पुगेको थियो । त्यस क्रममा ल्याण्डफिल्ड साइडमा थुपारिएको फोहोरमा आगो लगाइएको र धुँवा हावामा फैलिएको पाइएको छ । विराटनगरमा उचित ल्याण्डफिल्ड साईडको अभाव हुँदा केसलिया नदीको किनारमा अति हानिकारक फोहोरको डंगुर लगाउने गरिएको छ ।

विराटनगरको सम्पुर्ण फोहोर विगत लामो समयदेखि वडा नं. ६ ब्रह्मपुरास्थित केशलिया नदीको किनारमा डम्पिङ गरिदैं आएको छ । फोहोरको व्यवस्थापन उचित तरिकाले हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव आसपासका स्थानीय बासिन्दाले व्यहोर्नुपरेको छ । फोहोरको दुर्गन्ध र फोहोरबाट उडेर आउने हरिया झिँगा, चराचुरुङ्गी, धुँवाले हैरान पारिरहेको स्थानीयहरुको गुनासो बढ्र्द गएको छ ।

महानगरले १३ बर्षअघि बुढीगंगा गाउँपालिकाको हात्तिमुडामा ल्याण्डफिल्ड साईडका लागि भन्दै साढे २६ बिगाहा जग्गा खरिद गरेको थियो । तर, जग्गाको सदुपयोग हुन सकेन । अहिले महानगरले त्यो जग्गा प्रदेश सरकारका मन्त्रिहरुको क्वाटर निर्माणका लागि दिने निर्णय गरेको छ ।
हात्तिमुडाको जग्गा प्रयोगविहिन छ । वडा नं. १६ मा अर्को १० बिगाहा जग्गा खरिद गरिएको छ । नयाँ खरिद गरिएको सो जग्गामा फोहोरको एकीकृत व्यवस्थापनका निम्त्ति ‘इन्टीग्रेटेड सोलिड वेस्ट म्यानेजमेन्ट सिस्टम’ निमार्ण गर्ने दावी छ । जग्गा खरिदमा समेत कमिसनको खेल भएको आशंका गरिएको छ ।

महानगरपालिकाले अहिले विराटनगरको सम्पुर्ण फोहोर व्यवस्थापनको जिम्मा ३ निजी साझेदार कम्पनीहरुलाई दिएको छ । महानगरको उत्तरी भेगमा नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी भेगमा आरएसडी सप्लायर्सले फोहोर व्यवस्थापनको कार्य गरिरहेका छन् । यीमध्ये कुन कम्पनीले अस्पतालजन्य फोहोर संकलन गरेर अन्य फोहोर जस्तै डम्पिङ गरेका हुन् भन्ने कुरा यकिन गरेर कारवाही गरिने दावी छ ।

खोला किनारको डम्पिङ साईट वातावरणका लागि निकै घातक भएको पूर्वाञ्चल क्याम्पस धरानका उपप्राध्यापक सागर काफ्लेको भनाई छ । यसले पानीमा, माटोमा र हावामा असर पु¥याएको काफ्लेको भनाई छ ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद–३ मा फोहोरको व्यवस्थापनका लागि केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकुल असर नपर्ने गरी तोक्नुपर्ने उल्लेख छ । यसरी तोकिएको स्थललाई दुर्गन्धरहित बनाउन आवश्यक व्यवस्था समेत मिलाउनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै, स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्रबाट संकलित फोहोरमैलाको व्यवस्थापन तथा स्थायी विसर्जन वातावरण सम्बन्धी प्रचलित कानुनको अधिनमा रही गर्नुपर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्