प्रकाश रिजाल
पंक्तिकार साहित्यकार होइन । पत्रकार पनि होइन । राजनीतिज्ञ त झनै हुँदै होइन । हो त केवल एक सजीव प्राणि, जोसँग चेतना छ । संसारलाई देख्ने दुई चर्म चक्षुहरु छन् र छ शरीरको २ प्रतिशत तौल बराबरको आम मानिसहरुमा जस्तो हुने एउटा मस्तिष्क । साह्रै धेरै भएमा आम मानिसको चेत छ । वस् यही हो । हरेक व्यक्तिको स्वभाव फरक–फरक हुनु स्वभाविक हो । प्रत्येक व्यक्तिहरु फरक–फरक स्वभावको हुनु प्राकृतिक नियम नै हो । योबाट पंक्तिकार पनि अपवाद छैन । भ्रमण ज्ञानको स्रोत हो । दृश्यावलोकनसहित प्राप्त ज्ञान सुनेको ज्ञानभन्दा बढी चिरस्थायी हुन्छ भन्ने मान्यता यो कलम दौडाउने प्राणीमा छ । आजसम्मको भोगाइमा यो सत्य नै अनुभूत भएको छ ।
देशमा मेची–महाकाली अभियान चलिरहेको थियो । विभिन्न स्थानमा झडपहरुका खवरहरु आइरहेका थिए । सप्तरीमा त ४ जनाको जीवनलिला नै समाप्त भइसकेको थियो । त्यति हुँदाहुँदै पनि एकअर्काप्रतिको दोषारोपण कायमै थियो । राज्य १० लाख रुपैयाँ मृतकसमक्ष पु¥याउने ‘शहीद घोषणा’को ढोका खोज्दैथियो । आन्दोलनरत दलहरु सरकार र अभियन्ताहरुमाथि कारक रहेको आरोप लगाउँदै थिए, मानौँ उनीहरुको आन्दोलन थप प्रभावकारी हुँदैछ । तर, छनक त्यस्तो थिएन । यसै र यस्तै पृष्ठभूमिमा पंक्तिकार आफन्त, इष्टमित्र भेटघाट गर्ने वाहानामा सुदूरपश्चिम निस्कियो, स्थानीयहरु ‘सुन्दरपश्चिम’ भन्न रुचाउँछन् । भोलिपल्ट भालेको डाँकसँगै पुगियो साविक मसुरिया गाविस, हालको गौरीगंगा नगरपालिका—कैलाली अत्तरिया (सुदुरपश्चिमको नारायणघाट) बाट ३४ किलोमिटर पूर्व । इष्टमित्र र आफन्तहरुसँगको भेटघाटखपछि रातको यात्राको थकान दुर गर्न केही समय आरामको खोजी गरिरहेको ज्यानलाई आराम दिने काम भयो ।
भोलिपल्ट, नेपाली समय र संस्कार अनुसारको खाना पश्चात् यात्रा तय भयो । उद्देश्य भ्रमणको नै भएकोले सोही अनुसार हुनु स्वभाविक नै भयो । गन्तव्यहरुको प्राथमिकीकरणमा नम्बर १ मा प¥यो, नेपालको राजनीतिक जीवनसँग दैनिकजसो जोडिने स्थान टनकपुर, त्यसैतर्फ लागियो । गड्डाचौकीबाट केही पक्की र केही कच्ची बाटो हुँदै टनकपुर बाँध पुगियो । संयोग, गोविन्द गौतमको भारतीय एसएसबीको गोलीेबाट निधनपछि नेपाल भारत सीमामा आवतजावत बन्द भएकोमा त्यही दिन आवतजावत खुल्ला गरिएको रहेछ । त्यो पनि सांस्कृतिक कारणले । कारण के रहेछ भने, सीमा सुरक्षा बलका जवान, जो ड्युटीमा थिए, को भनाईमा भारतमा पूर्णागिरी मन्दिर र नेपालमा सिद्धबाबा । पूर्णगिरीको मन्दिर दर्शन पश्चात् सिद्धबाबाको दर्शन अनिवार्य रहेछ । त्यसैकारण भारतीय स्थानीयहरुको आग्रहमा भारतीय पक्षले सीमा वारपार आवतजावत खुला गरेको रहेछ ।
मलाई छोइहाल्यो । दुई देशबीचको खुला सीमामा आवतजावत कहिले दिने कहिले नदिने सम्पूर्ण निर्णय एक पक्षको तजबिजमा हुने रहेछ । अर्को पक्षको भूमिका शून्य प्रायः रहने । कस्तो बिडम्बना ! त्यहीँनेर मेरो सगरमाथा जस्तो शीर झुकेर केचना पुग्यो । मेरो राष्ट्रवादको पानीजहाज टनकपुरको बाँधमा डुब्यो र नहरबाट भारत पलायन हुन पुग्यो । एउटा विद्रोहको भाव मनमनै जाग्यो र पानीको फोका झैँ त्यहीँ बिलायो । त्यहाँ मेरो राष्ट्र भूगोलमा थियो । नीतिमा, सहअस्तित्वमा पाइएन, देखिएन ।
सीमा सुरक्षा बलको नियमानुसार भारत प्रवेश गर्ने सवारी साधन दर्ता गराएर जानुपर्ने भएकोले सोही अनुरुप काम गरियो । बाँध फर्किदा हेर्नेगरी सोझै भारतीय बजार टनकपुर गइयो । पारी जाँदा छुट्टै अनुभूति, छुट्टै संसार । सडकबत्ति, पीच सडक, व्यवस्थित बजार (कम्तीमा पक्की सडक, वारीको जस्तो कच्ची, कहीँकतै नियन्त्रण नगरिएका खोलैखोला, उजाड बगर थिएनन्) । त्यति मात्रै नभएर बजार मूल्य पनि सस्तो । जाँदा कुनै अवरोध भएन । सोचेँ यस्तो पो सिमाना । फर्कँदा सिठी बज्यो । भारतीय प्रहरीको । सवारी रोकेँ ।
‘कहाँ जाना हे ?’
मैले भनेँ ‘नेपाल’ ।
‘यहाँ से थोडी मिलेगा, जहाँ से आये, वहीँ से जाओ । कहाँ से आये ?’
‘मै टनकपुर से आयेथे ।’
‘तो वहीँ से जाओ कहाँ जाना हे ?’
‘वनवासा जाना हे’ ।
यहाँ से नही मिलेगा, मैने बोला ना जहाँ से आये वहीँ से जाओ ।’
मलाई अलि रिस उठिसकेको थियो । तर, सम्हालिँदै भनेँ ‘अभि यहीँ से आधा घण्टे पहेले एसएसवीके पास दर्ता करके गये थे ।’ ‘तो चलो’ । उसको अनुहारमा एसएसबी कोडर थियोे । वारी तरेपछि सवारी पार्किङ गरेर बाँध हिँडेरै हेर्ने उत्कण्ठा जाग्यो । बाँध हेरेँ । फेरि मेरो शीर निचो भयो । मेरो राष्ट्रवाद टनकपुरको बाँध जस्तै भरियो, बेलुनमा हावा भरिएजसरी भरियो तर फुट्यो र भारतीय नहरबाट फेरि त्यतै गयो । सुनेथेँ नदी साझा पानी आधा । तर, होइन रहेछ । न नदी साझा न पानी आधा–आधा । वास्तवमा टनकपुरमा गएर हेर्दा नेपाल नै छैन । नेपालतर्फ पानी ल्याउने नहर खन्ने ठाउँमा नहरको नामोनिसान छैन । बरु भारतीय एसएसबीको व्यारेक छ । अनि फाट्टफुट्ट नेपाली पसल । यहाँनेर प्रश्न के हो भने नेपाली शासकहरुले सन्धि–सम्झौता गर्दा कुन अवस्थामा गर्छन् होला ? कति तयारीका साथ गर्छन् होला ? पानी आधा–आधा गर्न नसक्ने भएपछि सन्धि के–का लागि ? सम्झौता के–का लागि ? आफ्नो तर्फको जमिन सिंचित गर्न नहर नबनाउने भएपछि एकपक्षीय रुपमा किन दिइयो नहर बनाउन भारतलाई ?
पानी आधा–आधा त उही सन्धिमा मात्रै– ‘पण्डितले किताबका माछा खान हुन्न’ भनेझैँ । अनि राष्ट्रवादको खोल ओढेर जनतासमक्ष प्रस्तुत हुँदा कसरी राजनीतिक दललाई विश्वास गर्न सकिन्छ ? राष्ट्रवाद पनि कागजमा र भाषणमा मात्रै देखाएर हुन्छ ? यो त सामान्य एउटा उदाहरण मात्र भयो । ७४ स्थानमा सीमा मिचिएको छ । सयौँ जंगे पिलरहरु हराएका÷चोरिएका÷सारिएका छन् । तर राष्ट्रियताका ठेकेदार हौँ भन्नेहरु आफ्ना अभिव्यक्तिमा एक शब्द उच्चारण गर्दैनन्, चुँसम्म गर्दैनन् । कथनी र करणीमा यहाँभन्दा फरक के खोज्नुपर्छ ? लज्जाको उदाहरण योभन्दा अर्को कुन उपयुक्त हुन सक्ला ? रोचक संयोग के हो भने केही दिन पहिले एकजना पूर्व मन्त्री स–पत्नी त्यही स्थानमा गएको आफ्नो तस्विर फेसबुकमा सार्वजनिक गरिएको थियो ।
कुरा टनकपुरमा मात्रै सीमित रहेन । कौतुहलता जाग्यो । वनबासास्थित शारदा व्यारेज पनि जाने हुट्हुटी जाग्यो र त्यतै लागियो । त्यहाँ पुग्दा मेरो राष्ट्रियताको ‘बनियन’ र ‘अण्डरवयर’ पनि उत्रियो । राष्ट्रियतालाई र स्वभिमानलाई कपडा मान्ने हो भने म नाङ्गै छु । हरनाम चरनाम नाङ्गै । टनकपुर र वनवासाको दुरी जम्मा १०.४ किलोमिटर रहेछ । यति छोटो दुरीमा एउटै त्यो पनि साझा नदीमा दुईवटा बाँध । अझै सबै पानी भारतीय पक्षको नियन्त्रणमा । यस्तो असमान सन्धि गर्नेहरुलाई हामी नेपालीले कर तिरेर पालेका रहेछौँ । धिक्कार लाग्यो । अझै अनौठो त के भने महाकाली पारीका साविक चाँदनी, दोधारा गाविसहरु हालको चाँदनी दोधारा नगरपालिका जाँदा पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने । त्यो भूगोललाई जोड्ने एउटा पक्की पुलसमेत छैन नेपालको तर्फबाट । त्यस भूगोलले यी राष्ट्रवादीहरुलाई कति गिज्याउँदो हो । एक्लै फिस्स हाँसे । त्यतिमात्रै ? नेपाल भूमिको बाटोमै भारतीयहरुले खाडल पारी भारतीय एसएसबीको सुरक्षा चौकी हुँदै जान बाध्य पारिएको रहेछ । त्यहाँ फेरि देखियो राष्ट्रियताले सोमालियाको कुपोषण व्यहोरिरहेको अवस्था । तव, कसरी तङ्ग्रिन्छ राष्ट्र ?
फर्किएँ । बुटवल बास । भोलिपल्ट फेरि बोर्डर नै घुम्ने अवलोकन गर्ने इच्छा जाग्यो । लागियो, सुनौली र नौतनावा (भारतीय बजार) । हुन त यो बोर्डरको पूर्वाधारमा वारि पनि केही राम्रै थियो । निर्माणधिनलाई पनि राम्रै मान्न प¥यो । तर, यहाँको फरक परिदृश्य के भने बजारको मूल्य र द्विदेशीय व्यापार । नेपाल र भारतको मूल्यमा तुलनै हुन्न । पारी कति हो कति सस्तो बजार । एक घर वारी र एक घर पारीको बजार भाउको कति ठूलो फरक । यो वारीको नेपालीले देखेको छ । थोरै भएपनि चोरबाटो (सकेदेखि) बाट भएपनि उपभोग गरेको छ । अनि त्यो भू–भागमा बस्ने नेपालीले त्यो सुविधा नेपालसँग माग्छ कि माग्दैन ? आशा राख्नु गलत हुन्छ ? तर, ती विकास माग्नेलाई, थोरै बढि अधिकार माग्नेलाई कुन्नि के–के आरोप लगाइन्छ अनि आफ्नो सीमारक्षकलाई जर्वजस्ती कमजोर हुन बाध्य पारिन्छ ।
अर्को मननयोग्य कुरा के भने नेपालबाट जाने मालवाहक सवारी (नेपाली र भारतीय नम्बर प्लेटका) खाली जान्छन् उताबाट आउने सामान लोड भएर आउँछन् । यो लाइन २ देखि ३ किलोमिटर लामो देख्न सकिन्छ । खै हाम्रो निर्यात प्रवद्र्धन । यस्तो व्यापारिक सम्बन्ध भएपछि देश स्वाभिमान कहिलेसम्म टिक्छ ? अझै त्यसमाथि नेपाली उद्योगहरु धमाधम बन्द गराइएका छन् । तीनै शासकहरु हुन्, जो महाकालीको सन्धि गर्ने र यी उद्योगहरु धरासायी बनाउने । अनि तिनै हुन्, अहिले (चुनावको संघारमा) राष्ट्रिय स्वाभिमानको राग अलाप्दै घण्टौं भाषण फलाक्ने । म मेरा आँखालाई विश्वास गरौँ कि तिनीहरुको गगनभेदी राष्ट्रियताको नारालाई ?
तराइमा बस्ने नेपालीले पारी (भारतमा) देखेको सुविधा नेपालमा पनि भइदिए भन्ने पनि ठान्दा होलान् । बारम्बार समाचारमा आउने भारतीय सुरक्षाकर्मीको आतङ्क पनि भोगेकै होलान् तर पनि हाम्रो राज्य, सरकार, नीति निर्माता चुपचाप बस्दैछन् । तर, सडकमा जहाँ कुनै परिणाम आउँदैन, उधुम मच्चाइरहेका छन् । अझ बढी नै झोँक चल्यो भने संविधानमा नसमेटेको १८ वर्ष पुगेकालाई सैन्य तालिमको व्यवस्थालाई सडकमा माग्छन् । अनि गुथिन्छ राष्ट्रवादको पगरी । तराइको एउटा विद्यालयमा देखेको परीक्षाले मेरो मथिङ्गल हुँडेलेको छ । त्यो आधारभूत विद्यालय पूर्व–पश्चिम महेन्द्र राजमार्गको मापदण्ड पूरा गरी अवस्थित छ । विद्यार्थीहरुको अन्तिम परीक्षा चलिराखेको छ । विचरा ती कलिला कर्णधारहरु तराइको चैतमासका टन्टलापुरे घाममा बाहिर चौरमा बसेर १९९० सालको एसएलसी परीक्षाको तरिकाले परीक्षा दिइरहेका देखिन्छन् । बिचरा ती बालबालिकाको भविष्य कस्तो बन्ने होला ? वर्षभरीको शैक्षिक उपलब्धि मापन परीक्षामा सम्मिलित परीक्षार्थीको सिकाइ कलमले धेरै वाके होला कि घामले धेरै चुसे होला ! तर, हाम्रा आदर्श मानिएका व्यक्तिहरु शिक्षाको गुणस्तरमा प्रश्न उठाउन लाज मान्दैनन् । अहँ पटक्कै । बरु उल्टै अरुलाई दोष थोपर्दछन् ।
जसरी सुनौलीमा उत्पादन आयात मात्रै भयो, त्यसको ठीक उल्टो कमजोर शैक्षिक व्यवस्थापनले अदक्ष र अर्धदक्ष जनशक्ति विदेश निर्यात गरिरहेको छ । तर, हामी विप्रेषणमा गर्व गरिरहेका छौं । फेरि एकपटक मेरो राष्ट्रवादको टायरको हावा खुस्कियो । विदेशिएका ती नागरिकहरुलाई रोजगारीको व्यवस्था गर्नेतर्फ भन्दा तिनीहरुलाई संगठित गर्ने नाममा तिनीहरुले नै काम गर्ने देश घुम्ने र तिनै श्रमिकको ज्यालालाई लेभी वा यस्तै अन्य वहानामा पोको पारी आफ्नो पार्टी चलाउने योजना बुन्न तल्लिन छन्, हाम्रा ‘राष्ट्रनिर्माता’हरु । अझै उनीहरुकै ज्यालाबाट संकलित रकमबाट विजनेस क्लासको वोइङ चढ्नुपर्दछ । लाज मान्नुपर्ने अलिकति । तर, अहँ ! बरु उल्टै उनीहरुकै शीर उँचो भएको, हँसिलो अनुहार, तालु टल्कने तस्विरहरु देख्न पाइन्छ ट्वीटर फेसबुकमा र पढ्न पाइन्छ तिनका ‘गणेश’ हरुको स्तुती गान ।
राष्ट्रवाद र राष्ट्रियता शब्दमा, भाषणका रुपमा चुनावको संघारमा होइन, मनमा, व्यवहारमा, आफ्नो राष्ट्रिय ‘पोलिसी’ मा देखिनुपर्ने विषय हो । तर, एउटा चुनाव जित्ने औजारको रुपमा प्रयोग गर्नु दुःखद हो । यो प्रवृत्तिले हजारौं टनकपुर, सुस्ता, कालापानी निर्माण गर्ने दिशातर्फ उन्मुख हुनेछ । चेतना भया !