विराटनगरमा दुई दशकदेखि अलपत्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला सपना

<span class='c1'>विराटनगरमा दुई दशकदेखि अलपत्र</span> <span class='c2'>अन्तराष्ट्रिय क्रिकेट रंगशाला सपना</span>

सोनु साह
विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा परेपछि विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले प्रक्रिया सुरू गरेको थियो । गतवर्ष एक करोड बजेट परेको रंगशालामा चालु आर्थिक वर्षका लागि १६ करोड रुपिँया बिनियोजन गरिएको थियो । त्यसले केहि काम गर्ने योजना बनेपछि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै अहिलेलाई काम रोकियो । जसले विराटनगरमा दुई दशकदेखि अलपत्र परेको अन्तराष्ट्रिय क्रिकेटको सपना झस्कियो ।

विराटनगर–१९ बैजनाथपुरमा निर्माणाधीन रंगशाला दुई दशकदेखि अधुरो नै रहँदै आएको छ । अहिले दयनीय अवस्था देखिन थालेको छ । प्रादेशिक संरचनामा गएपछि कोशी प्रदेशको राजधानीमा अत्याधुनिक र सुविधासम्पन्न रंगशाला बनाउने लक्ष्यसहित योजना अघि बढाइएको थियो । तर, बजेट अभाव, कमजोर समन्वय र राजनीतिक प्रतिवद्धताको कमीका कारण काम लथालिंग बन्दै आएको छ । यसलाई समेट्ने प्रयास सुरु हुँदा समेत फेरी उल्झन देखिएको हो ।


रंगशालाका लागि २०५५ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ८५ लाख रुपैयाँमा १५ बिघा १५ धुर जग्गा खरिद गरेको थियो। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला अस्थायी संरचना बनाएर क्रिकेट, सुटिङसहित केही खेल सञ्चालन पनि गरिएको थियो। त्यसयता प्रतियोगिता आयोजना गर्ने स्थिति त्यहाँ छैन । खुल्ला मैदान गौरचरण र गाजाँ–चुरोट सेवन गर्ने स्थलमा रुपान्तरण बनेको छ ।


यो रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर २ अर्ब ७९ करोड ७४ लाख लागतमा तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालासहित बहुउद्देश्यीय कभर्डहल, स्वीमिङ हल, चेन्जिङ ब्लक, पेभिलियन र प्याराफिट निर्माण गर्ने गुरुयोजना तयार पारिएको छ । राखेपले यो योजनाको डीपीआर तयार गर्न गतवर्ष झण्डै एक करोड खर्च गरेको थियो । गुरुयोजना अनुसार १४८ मिटर लम्बाइ र १४८ मिटर चौडाइ ठाउँमा १३८ मिटरको मैदानमा बन्ने उल्लेख छ । जसअनुसार बाउन्ड्रीको दुरी ६९ मिटर हुनेछ । मैदानमा कुल ५ वटा पिच बन्ने उल्लेख छ । क्रिकेट रंगशालामा ९ हजार ४९० वटा साधारण सिट, ३५० भीआईपी र ६० भीभीआईपी सिट हुने भनिएको थियो ।

यसैगरी १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल तथा रग्बी मैदान र ४०० मिटरको ८ लेन एथलेटिक ट्र्याक निर्माण हुने भनिएको थियो । यसैगरी २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको स्विमिङ पुल र २८५० वर्गमिटरमा १५०० सिट क्षमताको कभर्ड हल पनि निर्माण हुने योजनामा उल्लेख छ । रंगशालाले ८ देखि १० वर्षमा लगानीको प्रतिफल दिइसक्ने उल्लेख गरिएको छ । रंगशाला, बहुउद्देश्यिय कभर्ड हल, स्विमिङ पुल र चेन्जिङ ब्लक, पेभिलियन भवन र पारिफिट बनाउन २ अर्ब ७९ करोड ७४ लाख लागत अनुमान गरिएको छ ।


बनेका संरचनामा लाग्यो खिया
रंगशालामा अहिलेसम्म निमार्ण भएका संरचनाहरु खिया लागेर विग्रेको छ। क्रिकेट खेल्नका लागि जालीले घेरेर बनाइएको कामचलाउ मैदानबाहेक अन्य संरचना निर्माण हुन सकेको छैन। गुरुयोजनाअनुसार अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम, ४ सय मिटर ट्रयाक, फुटबल मैदान, कबड्डी, हक्की, बास्केटबल, भलिबल, सुटिङ हल, सफ्ट टेनिस, स्वीमिङ पुल, कमेडागृह, कभर्ड हललगायत विभिन्न भवन बनाइने उल्लेख थियो। यहि पनि अहिले खिया लागेर जर्जर बन्न थालेको छ ।


मैदान परिसरमै धानखेती
जिल्ला खेलकुद विकास समितिले तलब दिन नसक्दा मैदानको रेखदेख गर्दै आएका सुक्रेतलाल र देवकी सरदारले पाँच बिघा क्षेत्रफलमा धान रोपेर खाँदै आएका छन् । मैदान रेखदेखमा बसेका उनीहरुलाई मासिक पारिश्रमिक नदिएपछि मौखिक सहमतिमै बैजनाथपुर मैदान भित्रकै जग्गामा धान रोपेर खाने गरेका हुन् । २०७४ सालबाट तलब नपाएपछि उनीहरुको खेतीबाट जीवन चलिरहेको छ ।

राजनीतिक आसा, काममा निराशा
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पहलमा किनिएको यो जग्गा हरेक निर्वाचनमा भोट माग्ने मुख्य मुद्दाका रूपमा उठाइन्छ। महेश आचार्यदेखि अमनलाल मोदी, मुख्यमन्त्री हिक्मत कार्कीसमेतले रंगशाला निर्माणका वाचा गरे तर चुनावपछि बिर्सने गरेका छन् । विराटनगर महानगरपालिकाको निर्वाचनमा समेत उमेदवारको एजेण्डा बन्ने गरेको छ । विराटनगर कोशी प्रदेशकै राजधानी भए पनि व्यवस्थित रंगशाला नहुनु र रहेको संरचना पनि क्रमशः मासिनु दुर्भाग्यपूर्ण रहेको स्थानीयको टिप्पणी छ।


निकायबीच चरम समन्वयहीनता
परियोजना रोकिनुमा सम्बन्धित निकायबीचको समन्वय अभाव प्रमुख कारण बनेको छ। प्रदेश खेलकुद विकास बोर्ड र जिल्ला खेलकुद समितिले ‘यो राखेपको अधिकारक्षेत्र’ भन्दै पन्छिने गरेका छन् । जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख राजनकुमार पोखरेलले निर्माणको काम राष्ट्रिय खेलकुद परिषद्ले गर्ने बताए । उनले अहिले जिल्ला खेलकुद विकास समितिको मातहतमा रंगशाला निर्माणको क्षेत्राधिकार नै नरहेको बताए ।


अरू प्रदेशमा धमाधम, विराटनगरमा लथालिङ्ग
नेपालका सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण तीव्रगतिमा अघि बढिरहेका छन्। काठमाडौंस्थित टीयू क्रिकेट मैदान यस वर्ष लाइटसहित पूर्ण रूपमा प्रयोगमा आएको छ। चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, पोखरा क्रिकेट मैदान, कैलालीको फाप्ला र जनकपुरको राम–जानकी बहुउद्देश्य रंगशालामा पनि काम अघि बढिरहेको छ। तर विराटनगरको बैजनाथपुर रंगशाला भने झनझन खस्किँदै गएको छ। स्थानीयदेखि केन्द्र सरकारले समेत विराटनगरको खेल क्षेत्रलाई उपेक्षा गरेको स्पष्ट देखिने स्थानीयको भनाइ छ। सही र पारदर्शी बजेट व्यवस्थापन तथा सरकारको ध्यानाकर्षण भए रंगशाला निर्माणले गति लिने र खेलाडीदेखि प्रदेशकै विकासमा ठूलो उपलब्धि हुने खेलकर्मीहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्