तीर्थ भटृराई/ मोरङ, चैत २० । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ! हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ ।
तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाएका मात्र होइन, उनले २०६८ देखि खाँदै आएको कन्दमूलसमेत हाल त्याग गरेका छन् ।
हाल ८२ वर्षमा हिँडिरहेका भट्टराई अन्न र नून बिना रहन र काम गर्न सक्छन् त ? भन्ने स्वाभाविक प्रश्नमा उनको उत्तर छ— काम गर्नमा युवाहरुले भेट्दैनन् ।
मानिसमा भगवान्को भक्ति भावना र अठोट भयो भने यो सम्भव छ भन्ने कुरा उनले प्रमाणित गरेका छन् ।
सात वर्षकै उमेरमा उनले नून र अन्न खान छोडेका रहेछन् । आलु, तरुल, सख्खरखण्डजस्ता कन्दमूल खाएर नै उनले ७५ वर्ष बिताइसकेका रहेछन् । यस्तो आहाराको भरमा पनि भट्टराई सामाजिक क्षेत्रमा सक्रिय रहे भने छरछिमेक मात्र होइन टाढाटाढाका आगन्तुकलाई पनि धामीका रुपमा उपचार गरी निको पार्दै आएका छन् ।
भोजपुरको भुल्केमा १९९३ असोज ११ मा जन्मिएका उनी त्यस बेला विद्यालय नभएकाले विद्यालय शिक्षा प्राप्त गर्न सकेनन् भने घरमै अक्षर चिनेर भागवत, रामायण, गीता आदि पढ्न सक्ने भए ।
युवावस्थामा एकपटक झापामा एकजना गुरुको भान्से बसेर काम गरेकोबाहेक अन्यत्र गई काम नगरेका उनी आफ्नै खेती किसानी तथा धार्मिक गतिविधिमा संलग्न भए । उनी यही क्रममा पहाड छोडेपछि सुनसरीको कालापानी (चक्रघटृी), रामधुनीको मानपुर, पकली, इटहरी बसाइँ सर्दै हाल गोठगाउँमा एउटा भगवतीको मन्दिर खडा गरी त्यहीँ श्रीमतीसहित बसेका छन् ।
चार भाइ छोरा र एक बहिनी छोरीका पिता उनका छोराछोरी सबै छुट्टिएका छन् । छोरीको विवाह भइसकेको छ । उनको धार्मिक लगाव र व्रत ध्यानका कामले सगोलमा बस्न सहज नभएको उनका साहिँला छोरा समाजसेवी शिव भट्टराई बताउँछन् ।
छोरा कृष्ण र हरि छुटिृएका छन् भने कान्छा श्यामवावुको केही बर्ष अगाडि निधन भएपछि भने वृद्ध जीवनाथ शोकमा परेका छन् ।
बयासी वर्षे वृद्ध जीवनाथ पूर्णरुपमा स्वस्थ छन् र अहिले पनि घरका सामान्य काम आफैँ गर्ने, खेतबारीमा खन्ने, एउटा गाई पालेर त्यसको स्याहार गर्ने, घाँस काट्ने आदि गर्छन् ।
उनको खान्की भने केवल दिनभरमा तीनवटा स्याउ रहेको छ । उनी त्यसलाई उसिनेर हलुवाजस्तो बनाएर अलिअलि खाने गर्छन् ।
उनी चिया खाँदैनन्, खाएमा घरकै तुलसीको धुलोको चिया मात्र, दूध खाएमा घरमै पालेको कैली गाईको दूध मात्र खाने गर्छन् । कामधेनु गाई भन्नु नै कैली गाई हो त्यसको दुधमा शक्ति हुन्छ भन्छन् जीवनाथ ।
एकपटक सामान्य चोटपटक लागेर विराटनगर अस्पताल लगिएकोमा डाक्टरले उनी पूर्ण स्वस्थ भएको, कुनै रोग नभएको, बरु अलिकति केही खाइदिए राम्रो हुने भन्ने सुझाव मात्र दिएको छोरा शिव बताउँछन् ।
उनी केही नखाइ पनि बाँच्ने अभ्यास गर्छन् । केही नखाइ कसरी यस्तो शक्ति प्राप्त हुन्छ र निरोगी भइन्छ त भन्ने जिज्ञासामा जीवनाथ भन्छन्, ‘आफ्ना बुबा भवानीप्रसाद भट्टराई पनि यस्तै ध्यानी भएकाले आफूले पनि आत्मज्ञानबाटै नून, अन्न छोडी भगवानको ध्यान र व्रत गरेकाले नै शक्ति प्राप्त भएको हो ।’
उनले घरमै भगवतीको मन्दिर स्थापना गरेका छन् भने ‘बूढीबज्यू’ भनिने भगवतीको आस्था र पूजा गर्छन् ।
उनी वैशाखे पूर्णिमा, ऋषि तर्पणी आदिमा २४ अै घण्टा नखाइ व्रत बस्छन् भने नौरथामा पनि पञ्चमीदेखि सप्तमीसम्म केही नखाइ व्रत बस्छन् । उनले चिनी पनि त्यागेका छन् ।
जीवनाथ आफ्नो ब्रत र ध्यानले नै स्वस्थ र सक्रीय रहन सफल भएको इटहरी—४ का मच्छिन्द्रवहादुर बस्नेत र भरत खतिवडा बताउँछन् ।
उनी गाईको मोही भने खान्छन् । बुहारी भावना नेपालका अनुसार आमा सावित्रादेवी पनि निरोगी छिन् र सामान्य खाना खान्छिन् । तर उनले पनि नून तेल छोडेकी छन् ।
जीवनाथले आफ्नो शक्तिबाट धेरैलाई रोगमुक्त पार्छन् भने उनीबाट आरोग्य प्राप्त गर्न झापा, सुनसरीलगायत विभिन्न जिल्ला का साथै काठमाडौं तथा भारतको आसाम, सिक्किमबाट समेत मानिसहरु आउँछन् र सन्तुष्ट भएर जान्छन् ।
उनले यही शक्ति र सक्रियताबाट नै विभिन्न संघसंस्थामा रही कार्य गरेका छन् भने कूल विकास प्रतिष्ठानका संस्थापक अध्यक्षका रुपमा समेत कार्य गरी गोठगाउँमा देवली गराउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।
यसरी भगवानको भक्ति र व्रतको शक्तिबाट वृद्धावस्थामा पनि निरोगी र सक्रिय रही समाजमा योगदान गर्न सकिन्छ भन्ने कुरा वृद्ध ध्यानी जीवनाथले प्रमाणित गरेका छन् । (रासस)