विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर भएको छ ।
उनको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै मंगलबार रिट दायर भएको हो । धरानका सुमन श्रेष्ठले दायर गरेको उक्त रिटको पेसी माघ १९ गतेका लागि तोकिएको अदालतले जनाएको छ ।
प्रतिष्ठानबाट अवकास पाइसकेपछि कार्कीलाई कायम मुकायम उपकुलपति नियुक्त गरिएको भन्दै प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले पनि नियुक्ति खारेजीको माग गर्दै आएका छन् ।
रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश ममता खनालको इजलासले अन्तरिम आदेशको सम्बन्धमा छलफलका लागि दुबै पक्षलाई माघ १९ गते बोलाएको रिट निवेदक श्रेष्ठले बताए ।
प्रतिष्ठानका कुलपति, सहकुलपति तथा कायम मुकायम उपकुलपति प्रा. डा. कार्कीसमेतलाई विपक्षी बनाई दायर गरिएको रिटमा ‘कायम मुकायम उपकुलपतिको २०८० असार १७ को नियुक्ति र त्यसै नियुक्तिलाई निरन्तरता दिने २०८० मंसिर ४ को नियुक्तिलाई उत्प्रेषणलगायत आज्ञा आदेश जारी गरी बदर गरीपाउँ’ भनी माग गरिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०४९ को दफा ११ (ख) ले उपकुलपतिको नियुक्तिको व्उवस्था भएपनि कामुको व्यवस्था नभएको रिटमा दावी गरिएको छ ।
प्रतिष्ठानको ऐन र नियमावली अनुसार उपकुलपतिको नियुक्ति सम्बन्धि सम्पूर्ण अधिकार कुलपतिमा निहित रहेकोमा सहकुलपति रहेका स्वास्थयमन्त्रीले गरेको नियुक्ति अवैध रहेको दावी रिटमा छ ।
प्रा.डा. कार्कीले २०८० मंसिर ५ मा उमेर हदअनुसार अनिवार्य अवकाश पाइसकेका छन् ।